ओलीसँग बिच्किएका प्रचण्डको माधव नेपालसँग गोप्य वार्ता

काठमाडौं, १ जेठ । पछिल्लो समय प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग केहि टाढा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व प्रधानमन्त्री तथा एमालेका पूर्व अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् ।

पार्टी एकीकरणको कुरा आशंकाको घेरामा परिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ । उनीहरुको भेटवार्तालाई राजनीति वृत्तमा निकै चासोका साथ हेरिएको छ । पछिल्लो समय एमाले–माओवादी एकीकरणमा मध्यस्थताको भूमिका निर्वाह गरिरहेका नेपालसँगको यो भेटले ओली–प्रचण्डबीच बढेको दूरीलाई घटाउने अपेक्षा गरिएको छ ।

ललितपुरस्थित एमाले वैदेशिक मामिला विभागको कार्यालय, तुल्सीलाल स्मृति भवनमा मंगलबार बिहान प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई पार्टीबीचको पार्टी एकीकरणका विषयमा छलफल भएको स्रोतले जनाएको छ । यी दुई नेताहरुबीच पछिल्लो समयमा विकास भएका राजनीतिक घटनाक्रमहरु र एमाले–माओवादीबीच देखिएका असमझदारीहरुका विषयमा पनि छलफल भएको स्रोतले जानकारी दिएको छ । वार्तामा मे ३० र ३१ मा आयोजना हुने कार्लमाक्र्सको द्विशतवार्षिकी सन्दर्भको अन्तर्राष्ट्रिय गोष्ठीलाई प्रभावकारी बनाउनेलगायतका विषयमा पनि छलफल भएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार