ल्यापटप चलाउन नजान्ने मन्त्री र पढाउन नसक्ने शिक्षकलाई बिदाई गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ  पाथिभरा च्यानल — प्रधानमन्त्री केपी ओलीले ६ महिना भित्र प्रधानमन्त्री कार्यालयबाट कागजी ढड्डा प्रणाली हटाइने घोषणा गरेका छन् ।

 

मन्त्रीपरिषदको बैठकलाई समेत कागजमुक्त बनाउने भन्दै उनले ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई पदबाटै बिदा गरिने चेतावनी दिए । ‘मैले मन्त्रीपरिषदमा भनि सकेको छु, अब कागजको ढ्ड्डा राख्दैंनौं,’ उनले भने, ‘बैठक सुरु हुने बित्तिकै ल्यापटपमा कार्यक्रम/एजेण्डा आउँछ ।’ ६ महिना भित्र मन्त्रीपरिषदको बैठकलाई कागजी ढड्डा मुक्त बनाउने उनले घोषणा गरेका हुन् ।
‘६ महिना सम्म मन्त्री जीहरुले सहयोगीको सहयोग लिन सक्नुहुन्छ,’ उनले थपे, ‘६ महिना पछि आफैं ल्यापटप चलाउन नजाने अर्को चान्समा सिकेर आउनु होला, यहि ल्यापटव लिएर जानु भनेर बिदा गरिन्छ ।’
सिंगो देशलाई सुचना प्रविधि बनाउने सरकारको लक्ष्य रहेको उनले सुनाए । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ महाधिवेशन बुधबार राजधानीको राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरुलाई आफ्नो विषयमा विज्ञ हुन आग्रह गरे ।
‘अंग्रेजी पढाउने शिक्षकले अंग्रेजी पढाउन जान्नै पर्छ ।, कमाण्ड छैन भने कमाण्ड गर्न सक्ने हुनुहोस्,’ उनले भने । देशको हरेक क्षेत्रलाई स्मार्ट बनाउँदै लगिने प्रधानमन्त्रीको दावी थियो । ल्यापटप चलाउन नजान्ने मन्त्रीहरुलाई बिदाई गरेजस्तै पढाउन नसक्ने शिक्षकहरुलाई पनि बिदाई गरिने उनको भनाई थियो ।
‘सिकाईलाई प्रविधिमैत्री बनाउनु आवश्यक छ,’ उनले भने, ‘पढाई सकेपछि रोजगारी खोज्ने होइन, जागिरले योग्य जनशक्ति खोज्दै आउने वातावरण बनाईन्छ ।’ विद्यार्थीलाई आधुनिक, प्रतिस्पर्धी, गुणात्मक, उत्पादनमुखि शिक्षा दिनसक्नु पर्नेमा उनले जोड दिए ।
बिना योजना अन्धाधुन्दा तरिकाले शिक्षण संस्थाहरुमा पढाई भइरहेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । ‘वर्षभरि बालबालिकालाई पढाएर तँ फेल भईस्, अयोग्य भईस्, अनुत्तिर्ण भईस् भनेर असफलताको बिल्ला भिराईन्छ’, उनले भने, ‘विद्यार्थी फेल भएका हैनन्, राज्य फेल भएको हो, हाम्रो शिक्षा प्रणाली फेल भएको हो ।’
बालबालिकालाई अनुत्तिर्ण बनाउनु अपराध हो भन्दै उनले कुनै एउटा विषय नजान्दैमा कुनै पनि बालबालिका असफल नहुने टिप्पणी गरे ।
सरकारका अगाडि असिमित बाध्यता रहेको भन्दै प्रधानमन्त्रीले नागरिकको चाहाना अनुसार बजेट ल्याउन नसकेको बताए । ‘सरकारको यात्रा समाजवाद हो, निरपेक्ष गरिबीको रेखामुनी रहेका जनताको भोको पेट र नाङ्गो आङ ढाक्ने काम पहिले गरिन्छ,’ उनले थपे, ‘प्रतिव्यक्ति आयको कुरा पछि गरुलाँ ।’ निरपेक्ष गरिब जनताहरुको समस्या समाधान गर्न बजेट लक्षित रहेको उनले प्रष्ट पारे ।
उद्घाटन कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले शिक्षा क्षेत्रमा छुट्टाएको बजेटलाई अधिकत्तम प्राविधिक शिक्षामा खर्च गर्न जोड दिने बताए । प्रधानमन्त्रीले जस्तै शिक्षा मन्त्रीले पनि विज्ञान, प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिने बताए ।
‘शिक्षामा प्रतिबद्धता गरे अनुसार बजेट छुट्टयाउन नसकेपनि शिक्षा क्षेत्रमा बजेट घट्ने क्रम यो अन्तिम हो,’ उनले भने । दोस्रो चरणको विद्यार्थी भर्ना कार्यक्रम चलाएर विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
महाधिवेशनमा सहभागी हुन आएका शिक्षकहरुसँग शिक्षा मन्त्री पोखरेलले शिक्षक अस्पताल खोल्न सरकारले प्राथमिकता दिने प्रतिबद्धता जनाएका हुन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार