छाउगोठमा मृत्यु : पार्वतीको शव उत्खनन् गर्दै प्रहरी

अछाम — महिनावारी बार्न छाउपडी गोठमा सुतेको बेला सर्पले डसेर ज्यान गुमाएकी पार्वती बुढाको शव प्रहरीले उत्खनन् गर्ने भएको छ । पोष्टमार्टम नै नगरेर शव गाडिएकोले पोष्टमार्टम गर्नका लागि शव उत्खनन् गर्न लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राकेश तण्डुकारले जानाकरी दिए ।

अछामको तुर्माखाँद गाउँपालिका ४ जयाकी छाउगोठमा सुतेको अवस्थामा सर्पले मृत्यु भएकी जयाकी १८ वर्षीया पार्वती बुढा ।

प्राकृतिक मृत्यु बाहेकका घटनामा अनिवार्य पोष्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था भएकाले शव उत्खनन् गर्न लागिएको उनले जानकरी दिए। शव उत्खनन्‌का लागि प्रहरीको टोली शवस्थलमा पुगिसकेको छ।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइने प्रहरीले जानकारी दिएको छ। सदरमुकाम मंगलसेनबाट ८२ किलोमिटर टाढा रहेको अछामको तुर्माखाद गाउँपालिका-४ जुया गाउँकी १८ वर्षीया पार्वतीको शनिबार राति छाउपडी गोठमा सर्पले डसेर ज्यान गएको थियो।
आफन्तले पोष्टमार्टम नै नगरी शव गाडेका थिए। प्रहरीले खबर पाउँदा शव पोष्टमार्टम गर्नुपर्ने भएकाले गाउँलेले छाउ गोठमा नभइ घरमै सर्पले डसेर मृत्यु भएको भनेर सल्लाह गरेर घटना ढाकछोप गरेका थिए।
कान्तिपुर दैनिकले छाउगोठमै मृत्यु भएको भनि समाचार प्रकाशित गरेपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरीलाई घटना बारे बुझ्न टोली घटनास्थल पठाउन लगाएको थियो। अछाममा छाउपडी गोठमा हालसम्म थुप्रै किशोरी तथा महिलाले ज्यान गुमाए पनि अधिकांशको शव पोष्टमार्टम नगरेरै दाहासंस्कार गर्ने गरिन्थ्यो।
पार्वतीको शव उत्खनन् गरेर पोष्टमार्टम गरेपछि छाउपडी कुप्रथा बार्ने र बार्न लगाउने प्रचलनमा कमी आउने यसका अभियान्ताहरुले विश्वास लिएका छन्। छाउपडी गोठमा ज्यान गुमाएकी महिलाको खाल्डोबाट शव निकालेर पोष्टमार्टम गरेको यो नै पहिलो घटना हो।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार