सुर्खेत — छाउगोठमा बसेकी किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
बराहताल गाउँपालिका–६ की १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चेतन गिरी, जनक शर्मा र पदम गिरी पक्राउ परेका हुन् । प्रहरीले ती युवासँगै योजनाकारका रूपमा सोही ठाउँकी निर्मला शर्मालाई पनि पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले पीडितका आफन्तको जाहेरीका आधारमा आरोपीउपर अनुसन्धान प्रक्रिया अघि बढाएको बताए । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा चलाएको छ । महिनावारी भएकी निर्मलाले ‘साथीका रूपमा आफूसँग सुत्न’ बोलाएपछि ती किशोरी सोमबार राति छाउगोठमा गएकी थिइन् ।
युवाहरूले निर्मलालाई बाहिर पठाएर किशोरीमाथि सामूहिक बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । पीडितको उपचार भइरहेको छ ।