काठमाडौं, २९ असार । चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै राजधानीस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का आवासायी चिकित्सकहरू हड्तालमा उत्रिएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको संस्था नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले आज (शुक्रबार) देखि आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प पारेको हो ।
‘१३ दिनसम्म पनि अनसनप्रति सरकार मौन रहँदा हामी स्तब्ध भएका छौं’, नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।’
चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनसनरमा छन् । दिन प्रतिदिन उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केसीसँग वार्ता गर्ने प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन । सरकारले बुधबार उनलाई काठमाडौं ल्याउने प्रयास गरे पनि त्यो असफल भएको थियो ।