दाङ — आइतबार रातिदेखि भैरहेको अविरल वर्षाका कारण विभिन्न खोलाहरुमा बाढी आउँदा सोमबार बिहानैदेखि लमही–घोराही–तुलसीपुर सडकखण्डको यातायात प्रभावित भएको छ । ठूला गाडीहरु जोखिम मोलेर पार गरेपनि साना गाडी र मोटरसाइकल खोला पार गर्न सकिरहेका छैनन् ।
घोराही–लमही सडक खण्डको कटुवा खोलामा आएको बाढी । पुल बनाउने क्रममा भत्काएका कारण सडक पनि खोलामा परिणत भएको छ । तस्बिर : दुर्गालाल केसी
यात्रा जोखिमपूर्ण भएपछि मानिसहरुको आवतजावत नै अबरुद्ध भएको जिल्ला प्रहरीले जनाएको छ ।
लमही–घोराही–तुलसीपुर सडकखण्डमा पर्ने खोलाहरुमा बाढी आउँदा हरेक वर्षा याममा यात्रा जोखिमपूर्ण हुने गरेको छ । लमही–तुलसीपुर यात्रा गर्न १० वटा खोला पार गर्नुपर्छ । तीन किलोमिटरको फरकमा रहेका खोलाहरुमा पुल छैनन् । बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुर, पत्रे, संक्राम, ग्वार र काला खोलामा बाढी आएको छ ।
बबई, कटुवा, गुज्रे, पत्रे, संक्राम र ग्वार खोलामा पुल निर्माण थालिए पनि काम सम्पन्न नहुँदा सास्ती भएको छ । ठेकेदार र सडक डिभिजन कार्यालयको लापरवाहीका कारण कामले गति लिन सकेको छैन । पुल बनाउने क्रममा सडक भत्काइएको छ । भरपर्दो डाइभर्सन नबनाउँदा सानो बाढीले पनि यातायात अवरुद्ध हुने गरेको छ ।