फेरि सडकमा डा. गोविन्द केसी, भने, डाक्टरलाई जेल हाल्ने कानूनले बिरामीकै विजोग बनाउँछ’

काठमाडौं, १७ भदौ । केहि समयअघि चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसेका डा. गोविन्द केसी फेरि सडकमा ओर्लिएका छन् ।

तर, यस पटक उनी सडकमा आउनुको कारण माग चिकित्सा शिक्षा सुधारको मागका लागि नभई सरकारले ल्याएको नयाँ कानूनको विरोधमा रहेको छ । डा. केसीले मुलुकी अपराध संहितामा व्यवस्था गरिएको उपचारका क्रममा विरामीको मृत्यु भए डाक्टरलाई जेल हाल्ने कानूनी प्रावधानले बिरामीलाई नै दुःख नै दिने दावी गरेका छन् । उनले कानुनले डाक्टरलाई प्रतिरक्षात्मक बनाउने भएकाले उसले बिरामीलाई अन्यत्र ‘रिफर’ गरिदिने सम्भावना भएकाले त्यसले अन्ततः बिरामीले नै उपचार सेवा नपाउने अवस्था आउने बताएका छन् ।

नेपाल चिकित्सक संघले आज आयोजना गरेको र्‍यालीपछि बानेश्वरमा आयोजित कोणसभामा बोल्दै डा. केसीले बिरामीमारा कानुन फिर्ता लिन आग्रह गरे । ‘चिकित्सक र स्वास्थ्यकर्मीहरुले जवाफदेही हुनु पर्दैन भनेर कसैले सोचेको पनि छैन र भन्दा पनि भन्दैन’, उनले भने, ‘तर यथार्थको धरातलमा उभिएर अहिले जसरी कानून थोपरिएको छ, यसले चिकित्सक र स्वास्थ्यकर्मीभन्दा बिरामीलाई नै बाधा पु¥याउने छ । बिरामीले नै कष्ट पाउने छन् ।’

कानूनमा बदनियतपूर्ण तरिकाले उपचार गरिएको हो भनेर पुष्टि गर्नका लागि कुनै कानुन र निकायको व्यवस्था नगरिएको डा. केसीले बताए । ‘अब डाक्टरले कुनै पनि जोखिम लिन चाहँदैन । अब उपचार गरिरहँदा उसकै दिमागमै म जेल जानुपर्ने हो कि भन्ने हुन्छ । त्यसो हुने बित्तिकै बिरामी रिफर हुने सम्भावना हुन्छ’, उनले भने, ‘पहिले गाउँकै हेल्थपोस्टले पनि गम्भीर रोगको प्राथमिक उपचार गरिदिन्थे र रिफर गरिदिन्थे । अब उनीहरुले पनि जोखिम मोल्न चाहँदैनन् । जति बिरामी आउँछन्, रिफर गरिदिन्छन् ।’

‘डाक्टर पनि मानव हुन्, मानवीय त्रुटि हुन सक्छन् । त्यस्तो बेलामा छानबिन गरेर गल्ती पत्ता लगाउने प्रणाली ल्याउनु पथ्र्यो’, डा. केसीले भने । नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । सोमबार नै नेपाल मेडिकल काउन्सिल गई लाइसेन्स फिर्ता गर्ने कार्यक्रम छ । संघले ५ हजार लाइसेन्स काउन्सिललाई बुझाउने तयारी गरेको छ । संघले देशभरका १६ शाखाबाट ५ हजार भन्दा बढी लाइसेन्स संकलन गरेको थियो ।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार