कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत

कञ्चनपुर, ३१ भदौ । कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याले सदन र सडक दुबै तताइरहेका बेला फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको शिकार भएका छन् ।

निर्मला पन्तको हत्याको घटनाले प्रहरी अधिकारीहरु नै निलम्बनमा परेको र घटना निष्कर्षमा पुग्न नसकिरहेका बेला फेरि दुई बालिका बलात्कारको घटना बाहिरिएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले शनिबार बेल्डाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरेको हो ।

‘परिवारले दुबै बालिका दुई साताअघि बलात्कृत भएको जानकारी दिए’, इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले भने, ‘परिवारले दिएको जानकारीका आधारमा शनिबार नै आरोपित व्यक्तिलाई पक्राउ गरिसकिएको छ ।’ विष्टलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विष्टले भदौ १५ गते शुक्रबार दुवै बालिका स्कुलबाट घरतर्फ फर्कने क्रममा मिठाई दिने भन्दै फकाएर घरमा लगी बलात्कार गरेको परिवारले आरोप लगाएको छ । ‘१५ दिनअघि नै स्कुलबाट घर फर्किंदा छोरीहरूमाथि बलात्कारको घटना भएको रहेछ’, एक बालिकाकी आमाले भनिन् ।

‘घरमा भन्यो भने मारिदिन्छु भन्दै डर देखाएको रहेछ’, दुवै बालिकाले डरका कारणले दुई सातासम्म घटना लुकाएर राखेकाले ढिलो घटना बाहिर आएको परिवारले जनाएको छ । अर्की बालिकाकी आमा भन्छिन्, ‘उनीहरू डराएर बाहिर कहीं भन्न सकेनन् । मैले थाहा पाएपछि बल्ल प्रहरी कार्यालयसम्म पुगेकी हुँ ।’

विष्ट सधैं घरमा आइरहने र परिवारसँग समेत नजिकका मानिस भएको उनले बताइन् । ‘चिनेजानेकै मानिसबाट यस्तो अपराध भयो, उसलाई कडा कार्बाही हुनुपर्छ’, बालिकाकी आमाले भनिन् । विष्ट गाँजा चरेसलगायत नशा सेवन गरिराख्ने व्यक्ति भएको स्थानीयले बताए ।

दुवै बालिका घरदेखि ३० मिनेटको दूरीमा रहेको स्थानीय स्कुलमा कक्षा–२ मा पढ्छन् । पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णराज ओझाले बताएका छन् । ‘घटनाबारे बुझ्ने काम भइरहेको छ’, ओझाले भने ।

दुवै बालिकाको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणपछि बालिकालाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दुवै बालिका अलग–अलग परिवारका हुन् ।

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent