लकडाउनमा मजदुरको चिन्ता- रोगले भन्दा भोकले मरिने भो

लकडाउनमा मजदुरको चिन्ता- रोगले भन्दा भोकले मरिने भो

जाजरकोट : दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्दै आएकी भेरी नगरपालिका ३ थाप्ले बस्ने सीता नेपालीको परिवार यतिबेला लकडाउनको पीडामा छ। उनको परिवारलाई रोगको भन्दा भोगको चिन्ता छ ।’खानेकुरा केही छैन । कसरी गुजरा चलाउने उनले भनिन्, ‘दिनहुँ काम गरेर छाक टार्थे तर १३ दिनदेखि काममा गएको छैन । घरमै छु । पैसा छैन । के खाएर पेट पाल्ने हो ।’

तीन सन्तानकी आमा उनी एकल महिला हुन् । ज्याला मजदुरी गरेर आफू र केटाकेटी पाल्दै आएकी उनलाई कोरोना भाइरसको संक्रमण फैलने चिन्ताभन्दा कसरी आफू र केटाकेटीको पेट भर्ने भन्ने पिरलो छ।

भेरी नगरपालिका ३ कल्यानपुरका देवबहादुर कार्की दैनिक ज्याला मजदुरी गरेर परिवारको गर्जो टार्थे । दिनहुँ बजारमा आएर ट्रकबाट मालसमान झार्ने, बोक्ने(पल्लादारी) लगायतका काम गर्थे । त्यसरी काम गरे वापत कमाएको पैसाले खाद्यान्न, नुन तेलको जोहो गर्थे ।

तर १३ दिनअघि कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले देशभर लकडाउन गरेपछि उनी काममा निस्कन पाएका छैनन् । घरभित्रै बसिरहेका छन् । तर उनलाई एउटै कुराको पिरलो छ । घरमा भएको खाद्यान्न सबै सकियो । मजदुरी गरेर कमाएको पैसा पनि बचत छैन । कसरी जहान केटाकेटी पाल्ने उनले समस्या सुनाउँदै भने,’ कहिलेसम्म घरबाट निस्कन पाइने होइन, त्यतिबेलासम्म हामी के खाएर बाँच्ने ?  कोरोना संक्रमणको चिन्ता भन्दा छाक टार्ने चिन्ता छ ।’

त्यस्तै, बारेकोट गाउँपालिका तोलखानाकी पवित्रा सिंह सदरमुकाममा दिनहुँ गिट्टी कुटेर गुजरा चलाउने गर्थिन् ।  श्रीमानको १० वर्षअघि मृत्यु भएपछि दुई छोरा र एक छोरी गिट्टी कुटेरै भएपनि पाल्दै आएकी थिइन तर लकडाउनले उनको चुल्हो बल्न छोडेको छ । ‘कसरी केटाकेटीको पेट भर्ने हो, साह्रै समस्या भो ,’ उनले भनिन्।

भेरी नगरपालिका ४ मुलपानीकी विष्णुमाया विक गिट्टी कुटेर गुजरा चलाउँछिन्। श्रीमानले दास्रो श्रीमती विवाह गरेपछि विष्णुमाया २ छोरी १ छोरा  लिएर माइतीघर बस्छिन् । ‘छोराछोरी साना थिए । श्रीमानले छोडे पछि छोराछोरीको लालनपालनको जिम्मेवारी सबै मेरै काँधमा आयो,’ विष्णुमायाले भनिन् ।

छोराछोरीलाई पढाउँछु भनेर माइती गाउँमा आएर गिट्टी कुटेरै गुजरा चलाउँदै आएको उनले बताइन्।’ १३ दिन भो । घर बाहिर ननिस्कनु भनेका छन् । काममा जाने त कुरै छैन । घरमा खाद्यन्न छैन के खाएर बाँच्ने हो । भोकले मार्ने हो कि कोरोनाले उनले चिन्ता प्रकट गदै भनिन्,’ हामी गरीबलाई सधै दुःखै दुःख छ।’

लकडाउन लम्बिदै जाँदा मजदुर वर्ग थप समस्यामा परिरहेको छ । नागरिक अगुवा राजेन्द्र विक्रम शाहले केही समय अति विपन्न परिवारको भरणपोषणको जिम्मा राज्यले लिनुपर्ने बताए । ‘संकटको बेला बेलामा विपन्न परिवार बढी जोखिममा पर्ने भएकाले उनीहरुको संरक्षणमा सरकारले उचित ध्यान दिनुपर्छ,’ उनले भने ।

जाजरकोटमा दैनिक ज्याला मजदुरी गरेर पेट पाल्ने परिवारको संख्या दुई हजार बढी रहेको जिल्ला समन्वय समिति जाजरकोटले जनाएको छ । तर केही स्थानीय तहले खाद्यान्न वितरण गरेपनि सदमुकाम रहेको भेरी नगरपालिकाले हाल सम्म मजदुरलाई सहयोग गर्ने कुनै सुरसार गरेको छैन।

अर्नपूर्ण पोस्ट बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार