कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लिम्बू जातिको धर्मबारे

नन्द कन्दङवा

यतिखेर लिम्बू जातिको धर्म के हो भन्ने सन्दर्भमा व्यापक विवाद, बहस र छलफलहरू चलिरहेको छ । विवादमा खासगरि किरात सत्यहाङ धर्म र यूमा साम्यो धर्मबीच अलि अस्वस्थ वादविवाद भईरहेको छ । यसको अलावा लिम्बू जातिको धर्म प्राकृत, बोन, एन्नेमिष्ट, टोटेमिष्ट आदी पनि हो भन्नेमा कहि कतै कुनै कुनामा छलफल तथा बहस भएको देखिन्छ । धर्म भनेको व्यक्तिगत आस्थाको कुरा हो । लिम्बू जाति एक आदिवासी समुदाय भएको र आदिवासी समुदायमा आध्यात्मीक आस्था तथा विश्वास, संस्कृति, भाषा, जीवन पद्धति आदि सामुहिक अधिकार तथा सामुहिक विश्वास प्रणालीको रूपमा लिईन्छ । यसअर्थमा, लिम्बू जातिको धर्म सम्बन्धमा चर्चा गर्ने काम गरिएको छ । धर्मको बारेमा धेरै अध्ययन नगरेको हुनाले कुन धर्मको बिशेषता के हुन्छ भन्नेबारेमा थोरै मात्र चर्चा गर्दछु । ति धर्महरूको बिशेषताको आधारमा र विभिन्न धर्म तथा विश्वासहरूको प्रभाव कहाँ र कसरी पर्यो र हाल लिम्बूमा रहेको आध्यात्मिक र सामाजिक–सांस्कृतिक विश्वास प्रणाली कसरी विकास भयो भन्ने बारेमा थोरै चर्चा गर्दछु ।

प्राकृत धर्मको प्रकृतिलाई पुज्ने र मान्ने बिशेषता रहेको हुन्छ । प्रकृतिमा रहेका सबै मानिस, जनावर र रुख विरुवामा आत्मा हुन्छ भन्ने यसको विश्वास रहेको छ । यसको मुख्य कुरा आत्मा (साम) को रूपमा पितृ अर्थात पुर्खालाई मान्ने चलन हो भने यसले आत्मा शक्ति तथा सर्वशक्तिमान (Spiritual and supernatural) शक्तिमा विश्वास गर्दछ ।

केही धर्मका बिशेषता र विश्वास
प्राकृत धर्मको प्रकृतिलाई पुज्ने र मान्ने बिशेषता रहेको हुन्छ । प्रकृतिमा रहेका सबै मानिस, जनावर र रुख विरुवामा आत्मा हुन्छ भन्ने यसको विश्वास रहेको छ । यसको मुख्य कुरा आत्मा (साम) को रूपमा पितृ अर्थात पुर्खालाई मान्ने चलन हो भने यसले आत्मा शक्ति तथा सर्वशक्तिमान (Spiritual and supernatural) शक्तिमा विश्वास गर्दछ । यसले पितृ या पुर्खाहरूले उनीहरूको दैनिक जीवनमा प्रभाव पारिरहेको हुन्छ भन्ने विश्वास गर्दछ । प्रकृति पुजक धर्म आदिम तथा विश्वकै पुरानो धर्म हो र यो सबै आधुनिक धर्मका श्रोत हो भन्ने मानिएको छ । यस आध्यात्मिक विश्वासलाई अर्को शब्दमा एनिमिजम (Animism) पनि भन्ने गरिन्छ । एनिमिजममा पनि पुर्खा र आत्मालाई पूजा तथा विधि विधान गर्ने विशेषता रहेको हुन्छ । यो अलि व्यापक (Holictic) र महिला स्वभाव (Feminine nature) को रहेको हुन्छ । नियाण्डरथल युगमा मरेकोलाई गाड्ने प्रचलन मानिसमा आत्मा हुन्छ र जीवनको अन्त्य पछि पनि आत्मा रहन्छ भन्ने विश्वासका आधारमा शुरु भएको मानिन्छ ।

टोटेमिजम् धर्मको विशेषता रुख विरुवा र जनावरलाई मान्ने पुज्ने रहेको हुन्छ । यस्मा पौरुष स्वभाव (Masculine nature) रहेको हुन्छ । यसले मानिस र बोट बिरुवा तथा जनावर वीच बिशेष सम्बन्ध रहेको हुन्छ र तिनीहरू सबैको समान आत्मा रहेको हुन्छ भन्ने विश्वास गर्दछ । यसैले, टोटेमिक संस्कारहरू तिनीहरूको बृद्धि र विस्तार गर्नको लागि हुन्छ गरिन्छ । यसले रक्त सम्बन्धमा विश्वास गर्दछ । यसले उक्त रक्त सम्बन्धका समूह तथा व्यक्तिहरूसंग अन्तरकृया गर्न तिनको अस्तित्व या टोटेमलाई चिन्ह या पहिचानकोरूपमा लिन्छ । यो एनिमिजमको तुलनामा कम व्यापक (Holictic) हुन्छ भनिन्छ ।

बोन धर्मको विशेषता घरको देवतालाई मान्ने र पुज्ने रहेको हुन्छ । यो तिब्बतको प्राचिन धर्म हो र तिब्बतमा बौद्ध धर्म बिस्तार हुनु अघिसम्म यो धर्म अस्तित्वमा थियो र अझै पनि यो यदाकदा रहेको छ । बोन पनि कालो (Black) बोन र सेतो (White) बोन आदी रहेको पाईन्छ । यसलाई बौद्ध धर्मले आफूमा समाहित गर्यो । यसको परम्परागत प्रचलन अनुसार यसले तिब्बती हिम चितुवालाई आफ्नो चिन्हको रूपमा मान्दछ । तिब्बती बोन भिक्षुहरूले हिम चितुवालाई प्रार्थना गर्दछन् जसलाई बेङ्पा भनिन्छ । बोनका ३ वटा पवित्र या धार्मिक लेख या दस्तावेजहरू — म्डोडुस, ग्जेरमिक र ग्जी ब्रिजिड रहेका छन् । बोन पनि विभिन्न चरण तथा समयका बोन रहेका छन् । डेमोनले घोडा चोरेको र सेनरापले बोन धर्मको स्थापना गरेको कथा पनि रहेको छ । सेनराप (टोङपो सेनराप मिओचे) को जन्म ट्याजिक ओल्मो लुङ रिङ भन्ने भूमिमा भएको भन्ने प्रचलन रहेको छ । उक्त ट्याजिक ओल्मो लुङ रिङलाई परम्परागतरूपमा माउण्ट युङ्डुरुङ गुट्जेग (नौ स्वस्तिकाहरू) हरू हुन भनेर पहिचान गरिन्छ । शायद त्यो भनेको पश्चिमी तिब्बतको माउण्ट कैलास हो । यसलाई बोन धर्मालम्बीहरूले पवित्र भूमिको रूपमा लिने गर्दछन् । यसले अवतारमा विश्वास गर्दछ । एनेमिजम विशेष्ता रहेको बोनमा पनि आत्मा (Spirit), भुत प्रेत (Devils) र मानव समाज (Human world) कै कुरा हुन्छ । बोनको पूजा विधिलाई सन्चालन गर्ने बोन्पो सामनहरू (Bonpo Samans) हुन्छन् ।

सामानिजम (Samanism) को मुख्य विशेषता भनेको आत्मा (Spiritual world) र मानव समाज (Human world) बीच सम्बाद गराउने माध्यमको रूपमा सामन (धामी झाक्री/फेदाङवा/येवा/साम्बा/गुरुवा/नाछुङ/पाण्डे/लामा/गुभाजु आदी) रहन्छ । यसमा पनि एनेमिजमको विशेषता रहेको हुन्छ । खोजकर्ताहरूले यो विश्वास प्रणालीको शुरु करिव २०,००० वर्ष पहिले साईबेरियामा भयो भन्ने बताएका छन् । एनेमिजम–सामानिजम विश्वकै पुरानो विश्वास प्रणाली हो । यो विश्वास प्रणाली विश्वभर रहेको छ । एशियाको नेपाल, तिब्बत, चिन, मंगोलिया, मन्चुरिया, साईबेरीया, जापान, कोरिया, क्यानाडा र अमेरिकाका नेटिभ पिपल्स, अष्ट्रेलियाका एबोरिजिन, फिलिपिन्स, ओसिनिया, ईण्डोनेसिया, भियतनाम, कम्बोडिया, लाओस, थाईल्याण्ड, बर्मा, बंगलादेश, भारत, पाकिस्तान, अफगानिस्तान, ताजकिस्तान लगायतका विभिन्न मानव समूहमा यो विश्वास प्रणाली रहेको छ । पछिल्लो समयमा आएर तिब्बतमा यो बौद्ध विश्वास प्रणालीमा परिवर्तन गराईयो । चीन, मंगोलिया, मन्चुरिया, म्यानमार (बर्मा) लगायतका देशहरूमा पनि एनेमिजम–सामानिजम विश्वास प्रणाली भएका मानव समूहहरूलाई बौद्ध विश्वास प्रणालीमा लगियो भने फिलिपिन्स, भारत लगायतका देशहरूमा क्रिश्चियन विश्वास प्रणालीमा लगियो । यो विश्वास प्रणालीमा रहेका हालका मुस्लिम देशहरूका मानव समूहहरूलाई मुस्लिम विश्वास प्रणालीमा लाने काम भयो । नेपाल र भारतमा एनेमिष्ट–सामानिजम विश्वास प्रणालीका कतिपय मानव समूहहरूलाई हिन्दु विश्वास प्रणालीमा लैजाने काम भयो जो आज पनि निरन्तर जारी छ । विश्वभर अन्य विश्वास प्रणालीमा लगिएता पनि ति मानव समूहले एनेमिष्ट–सामानिजम विश्वास प्रणाली पुर्णरूपमा त्यागिसकेका छैनन् । अवशेषको रूपमा केही न केही गरिरहेको पाईन्छ ।

अन्य धर्म विश्वासहरू
यसरी नै हरेक धर्म विश्वासको आ–आफ्नो विशेषता रहेको हुन्छ । चिनमा अझैसम्म रहेका ताओ र कन्फ्युसियसको पनि आ–आफ्नै विशेषता छन् । ताओ, कन्फ्युसियस, मुस्लिम, क्रिश्चियानिटी तथा हिन्दु धर्म विश्वासहरू पछिल्ला नया धर्म विश्वासहरू हुन् । हिन्दु धर्म विश्वास पुरानो विश्वास प्रणाली दावी गरिएता पनि यो विश्वास प्रणालीले मुर्तिमा शक्ति र देवता देख्ने मान्ने भएकोले यस आधारमा यो पछि नै विकास भएको धर्म विश्वास प्रणाली हो । यस धर्म विश्वासले प्रकृतिक सर्वशक्तिमान शक्ति (Super natural power) लाई नमानेर ब्रह्मा, विस्णु र महेश्वरलाई श्रृष्टि, रक्षक र संहारकर्ता देवताकोरूपमा मान्दछ ।

लिम्बू जातिको विश्वास प्रणाली
लिम्बू जातिको मुन्धुमले ब्रह्माण्डको सृष्टी पछि सर्वशक्तिमान ताङगेरानिङवाफुमाङको निर्देशन अनुसार पोरोक्मी याम्फामिमाङले पृथ्वी, जल, चर, कित पतङ, जनावर, मानिस आदीको सृष्टी गरेको कुरा आउछ । यसको स्वभाव अलि स्त्री या महिला स्वभाव(Feminine nature) को रहेको जस्तो भान हुन्छ । लिम्बूहरूमा विभिन्न वंश अनुसार फरक फरक साम्माङ (सभा साम्माङ, असेक, मुया, मेयङश्री आदी) हरू हुन्छ । यसरी नै हिम साम्माङको रूपमा थेवा साम्माङ, कप्पोबा साम्माङ, यूमा साम्माङ, दुङदुङे साम्माङ आदी हुन्छ । यस विषयमा विवाद गर्न सकिएला तर यि साम्माङ हुन्छन् भन्ने लिम्बू समुदायले तिनीहरूको पूजा मान मनितो गरिरहेकोबाट स्पष्ट हुन्छ । लिम्बू जातिमा मानिस मरेपछि उसको आत्मा (साम) लाई चोत्लुङमा पुर्याउने काम हुन्छ । आपत विपत परेर मरेकाहरूको आत्मा अर्कै ठाउमा जान्छ र तिनीहरूले मानिसहरूलाई दुख दिन्छन् भन्ने विश्वास रहेको छ । यि विभिन्न विधिविधान र आईपरेका अनिष्ट, दुःख विमार जस्ता आपत विपतहरूलाई टार्ने कार्यहरू गर्न फेदाङवा, येबा, साम्बा आदि हुन्छन् । यो जातिले प्रकृतिको नियम अनुसार परिवर्तन हुने ऋृतुहरूको आधारमा अन्नबाली लगाउदा याःक्वा, उद्यौली, उभौली पूजा तथा पर्व मनाउछन् । यसरी नै अन्न पाकेपछि अन्न चढाएर मात्र खाने पूजा पर्व चासोक गर्दछन् ।

मानव विकास र विभिन्न भूगोलमा बसाई सराई
अन्य विश्वासहरूको प्रभाव लिम्बू भनिएको मानव समूहमा पर्न ति विश्वास भएका मानव समूह र लिम्बू भनिएको मानव समूहबीच कुनै कालखण्डमा नजिकको सम्पर्क सम्बन्ध भएको हुनु जरुरी हुन्छ । एकै भूगोलमा बसोबास भएर सम्पर्क सम्बन्ध भएको खण्डमा मात्र एकको प्रभाव अर्कोको विश्वास प्रणालीमा पर्छ । यस्तो प्रभाव हेर्न लिम्बू भनिएको मानव समूहको विकास, कुन कुन भूगोलमा विचरण गर्दै हाल बसोबास भएको भूगोलमा आए अनि को को मानव समूहसँग सम्पर्क सम्बन्ध भयो भनेर हेर्न र विश्लेषण गर्न आवश्यक हुन्छ ।

पृथ्वीको सिर्जना करिव ४ अरव ५० करोड वर्ष पहिले भयो भन्ने वैज्ञानिकहरूको अनुमान छ । पृथ्वीको सिर्जना भएपछि अरवौ करोडौ वर्ष पार गरिसकेपछि करिव २ करोड वर्ष पहिले जीवको उत्पति तथा विकास भयो भन्ने वैज्ञानिकहरूको अनुमान छ । विभिन्न युगमा विभिन्न जीवहरूको विकास भयो र कतिपयको अस्तित्व लोप पनि भयो । यसबीच पृथ्वीमा धेरै उथलपुथल आए । ६/७ करोड वर्ष अघिसम्म भएका डाईनासोरहरू पनि यस्तै उथलपुथल र पृथ्वीमा आएको परिवर्तनका कारण लोप भए । करिव ३५ देखि ५५ लाख वर्ष पहिले भारतीय र युरेसियन प्लेट ठोकिएर यस क्षेत्र (एशिया) मा हिमालयको उत्पतिका साथै टेथिस सागरको विलोप भयो र गंगा–ब्रह्मपुत्र तथा याङ्टेज मैदानहरू बने । करिब ५३ लाख देखि १ लाख वर्ष पहिले मानवको पूर्खा जीव विकास भयो भन्ने वैज्ञानिकहरूको अनुमान छ । विभिन्न ठाउहरूमा पाईएको मानव अवशेषको आधारमा आधुनिक मानवको विकास हुनु अघि होमो इरेक्टस, होमो ह्याविलिस, होमो नियाडरथल, डेनिसोभन जस्ता विभिन्न प्रजातिका मानवहरूको विकास भयो भन्ने वैज्ञानिकहरूको मत रहेको छ । यिनीहरू एक समयमा विश्वका विभिन्न भागमा फैलिए तर यिनीहरू विभिन्न कारणले गर्दा आफ्नो अस्तित्व कायम राख्न सकेनन् । कति त आधुनिक मानवका पुर्खा होमोसेपिन्सहरूमा विलय भएर सिद्धिए भन्ने अनुमान पनि छ । यि मानव समूह पछि पछिल्लो समयमा करिव ८० हजार देखि १ लाख २५ हजार वर्ष पहिले अफ्रिकाबाट आधुनिक मानवका पुर्खा होमो सेपियन्स विश्वभर फैलिए । विभिन्न देशमा पाईएको मानव अवशेषको अध्ययनबाट निस्किएको निश्कर्षका कारण वैज्ञानिकहरू मानवको एकल उत्पति अनुमान (Single origin hypothesis) अर्थात अफ्रिकाबाट बाहिर ((Out of Africa theory)लाई विश्वास गर्दछन् ।

विभिन्न समयमा अफ्रिकाबाट निस्केका यी विभिन्न मानव समूह कोही यूरोप क्षेत्र, कोही मध्य एशिया, कोही दक्षिण एशिया हुदै अष्ट्रेलियासम्म र कोही मध्य एशिया, उत्तर एशियाबाट अमेरिका तथा ल्याटिन अमेरिकासम्म फैलिए । यूरोप क्षेत्रमा लागेको मानव समूह वातावरण र अन्यसँगको सम्मिश्रणका कारण जीन परिवर्तन (Genetic mutation) भई ककेसोईड मानव समूह बन्न गयो । अफ्रिकामा रहने निग्रीटो मानव समूहको रूपमा विकास भयो । दक्षिण तथा मध्य एशिया र पुर्वी एशिया लागेको मानव समूह वातावरण र स्थानिय सम्मिश्रणका कारण जीन परिवर्तन (Genetic mutation) भई मंगोलोईड मानव समूह भयो भने दक्षिण भारतदेखि कोस्टल रुट भएर अष्ट्रेलियासम्म फैलिएको मानव समूह अष्ट्रोलोईड मानव समूहमा विकास भए । उत्तर एशियादेखि साईबेरिया हुदै क्यानाडा, अमेरिका र ल्याटिन अमेरिकासम्म फैलिएका मानव समूह स्थानिय आदिवासी नेटिभ भए । एउटा बुझ्नु पर्ने कुरा के छ भने ककेसोईड, मंगोलोईड, अष्ट्रलोईड र निग्रीटो भनिएका बृहत मानव समूहभित्र पनि समयको लामो अन्तरालमा जीन परिवर्तन (Genetic mutation) भएर फरक फरक मानव समूहहरू बनेका छन् । तिनीहरूका आधारभुत केही कुरादेखि बाहेक धेरै कुराहरू फरक परिसकेका छन् ।

लिम्बू शब्द सन् १७७४ भन्दा अघिदेखि प्रचलनमा थियो भन्ने कुरा लिम्बू नेता र कान्तिपुर नेपालका राजा पृथ्वीनारायण शाहबीच भएको सम्झौतामा लिम्बूवान र लिम्बू शब्द प्रयोग भएबाट स्पष्ट हुन्छ । लिम्बूले आफूलाई लिम्बू जनाउन आफ्नो भाषामा याक्थुङ भनिएको शब्द पनि थिबोङ याक्थुङ लाजे (दश लिम्बूवान) बने पछि चलेको प्रचलन हो जस्तो देखिएको छ । लिम्बू र याक्थुङ पर्यायवाची शब्दको रूपमा प्रयोग भईआएको छ । आजसम्मका लिखत कागजातहरूमा याक्थुङ नलेखेर लिम्बू नै लेखिँदै आएको छ ।

लिम्बू मानव समूहको विकास र विश्वास प्रणाली
लिम्बू मानव समूह पनि मंगोलोईड मानव समूहभित्रको एक हाँगा हो । लिम्बू शब्द सन् १७७४ भन्दा अघिदेखि प्रचलनमा थियो भन्ने कुरा लिम्बू नेता र कान्तिपुर नेपालका राजा पृथ्वीनारायण शाहबीच भएको सम्झौतामा लिम्बूवान र लिम्बू शब्द प्रयोग भएबाट स्पष्ट हुन्छ । लिम्बूले आफूलाई लिम्बू जनाउन आफ्नो भाषामा याक्थुङ भनिएको शब्द पनि थिबोङ याक्थुङ लाजे (दश लिम्बूवान) बने पछि चलेको प्रचलन हो जस्तो देखिएको छ । लिम्बू र याक्थुङ पर्यायवाची शब्दको रूपमा प्रयोग भईआएको छ । आजसम्मका लिखत कागजातहरूमा याक्थुङ नलेखेर लिम्बू नै लेखिँदै आएको छ । लिम्बूहरूको मुन्धुमले सावायेत्हाङसाका शाखाहरू सिन्युक मदेनसा (चिन–भोटबाट आएका सन्तान), खाम्बोङवा–लुम्बोङवासा (यहिका ढुंगा माटोका सन्तान) र तेमेनसा (औल मैदानबाट आएका सन्तान) हुन् भनेर वर्णन गर्दछ भने यिनै मानव समूहहरू मिलेर परस्परमा विलय भई दश लिम्बूवान राज्य बनेपछि याक्थुङ (लिम्बू) मानव समूहको विकास भयो भन्ने केही ईतिहासकारको भनाई रहेको छ ।

लिम्बूहरूमा हिजोआज बाली पाकेपछि चासोक पूजा गर्ने, बाली लगाउनु अघि उधौली (?) पूजा गर्ने, बाली लगाइसके पछि उभौली (?) पूजा गर्ने, खोला, पहाड, जीवजन्तुको पूजा गर्ने, माङगेन्ना, नाहाङमा, थेवा यूमा, कप्पोबा, दुङदुङगे, तक्सङवा, तेम्बोभा आदीको पूजा गर्ने मान्ने प्रचलन रहेको छ । यस्तो प्राकृत अर्थात एनेमिष्ट विश्वास प्रणालीदेखि सामानिष्ट हुदै टोटेमिष्ट विश्वास प्रणालीसम्मको मिश्रण कहाँ र कसरी भयो भन्ने कुरा चाखलाग्दो हुनसक्छ । यो बुझ्न लिम्बूहरूको मुन्धुमले वर्णन गरेको मानव समूह सावायेत्हाङसाको विकास र बसाई सराई थाहा पाउन जरुरी हुन्छ । सामान्यतया यस्तो विश्वास प्रणालीको विकास पुरानो ढुंगेयुग (Paleolithic Age) मा नै भयो जो ईसा पूर्व ३५,००० वर्ष देखि १०,००० वर्ष सम्म मानिएको छ । कतिपय विश्वास प्रणालीहरू मानव समूह अलि स्थिरढंगले बस्न शुरु गरेको नव ढुंगेयुग (Neolithic Age) मा विकास भए । नव ढुंगेयुग (Neolithic Age) लाई ईसा पूर्व १०,००० वर्ष देखि ५,०००/२,००० वर्षसम्म मानिएको छ । यति पुरानो समयको रेकर्ड तथा प्रमाणहरू पाउन गाह्रो छ । त्यसको लागी त्यसबेलाको मानव अवशेष तथा पुरातात्वीक बस्तुहरू प्राप्त भएको खण्डमा करिव करिव नजिकको सत्य थाहा पाउन या अनुमान गर्न सकिने हुन्छ । यसको लागी थोरै सत्यकै रूपमा रहेका जातिय सामाजिक–आध्यात्मिक–सांस्कृतिक कथाहरू (Mythologies) लाई पनि अलि अलि आधार बनाउन सकिन्छ । यस बाहेक हाल विकास भएको मानव समूहको वंशाणु विश्लेष्ण (Genetic Analysis) बाट पनि धेरै कुरा पत्ता लाग्दछ ।
मुन्धुमले वर्णन गरे अनुसार सावायेत्हाङ्सा मानव समुदायको सभ्यता तथा विकास मनातेम्बे भन्ने स्थान र सोको आसपासको क्षेत्रमा भयो । मनातेम्बे भनेको ठाउ तोकेर यहि हो भन्न नसकिए पनि उक्त ठाउ माथि भोटचिन र तल औल मैदानी भागबीच कहि पर्दछ भनेर मुन्धुमले संकेत गर्दछ ।

सम्भवत: यो ठाउ तिब्बत र चिनको सिचुवान सिमा आसपासको क्षेत्रमा कहि पर्दछ होला भनेर अनुमान मात्र गर्न सकिन्छ । एकथरी मुन्धुमविदहरू फक्ताङलुङ आसपास ईम्धिरी यङधाङवा (तमोर खोला) क्षेत्रमा नै मानव उत्पति भयो भन्ने विश्वास गर्दछन् । शायद यो बिचार अनुसार मनातेम्बे भनेको ठाउ यहि फक्ताङलुङ आसपास कहि होला । तर यसलाई वैज्ञानिक आधारमा सावित गर्ने कुनै आधार छैन । काठमाण्डौं उपत्यका र दाङ क्षेत्रमा प्राचीन ढुंगे युगिन सामाग्रीहरू र दक्षिणी चिनमा झिरोङ गुफामा पाईएका टियानयुयन (३८,०००–४२,००० वर्ष) तथा लिउजाङ होमोनिड (६७,०००–१५९,००० वर्ष सम्म पुरानो) को अवशेष पाईएजस्तो फक्ताङलुङ आसपासका क्षेत्रमा यस्ता अवशेष पाईएको छैन न त बुटवलको तिनाउ खोलामा पाईएको रामापिथेकसको च्यापुसहितको बंगारा पाईए जस्तै कुनै अवशेष पाईएको छ । यसैले, यो बिचार विज्ञानसम्मत छैन/देखिन्न ।

मानव वंशाणु (Human Genetics) अध्ययनकर्ताहरूले मंगोलोईड नाम दिईएको जीन (Gene) तथा हाप्लोग्रुप (Halogroup) को विकास एशियाको दक्षिण हिमालयदेखि पूर्वी एशिया तथा दक्षिण–पुर्वी एशियाबीचको क्षेत्रमा भयो भन्ने निश्कर्ष निकालेका छन् । लामो समयको अन्तरालमा यहि वंशाणु भएका मानव समूहहरू विभिन्न क्षेत्रमा फैलिए र वंशाणु परिवर्तन (Genetic mutation) भएर विभिन्न मानव समूहहरूमा विकास हुदै अहिलेको विविधतायुक्त मंगोलोईड उपसमूहहरूमा विकास हुन आईपुगेका हुन् ।

लिम्बू भनिएको मानव समूह पनि मंगोलोईड परिवार भित्रको एक हाँगा हो । यसर्थ, यो मानव समूह विभिन्न अन्य मानव समूहहरूसंग सम्पर्क सम्बन्ध बनाउदै र बिचरण गर्दै हिमालको दक्षिणतिर आईपुगेको हुनाले यसको सम्पर्क सम्बन्ध बोनमार्गी, सामानिजममार्गी, टोटेमिजममार्गी जस्ता धेरै आध्यात्मीक तथा सामाजिक–सांस्कृतिक विश्वास प्रणाली भएका मानव समूहहरूसंग भएकै कारणले वर्तमानको आध्यात्मीक तथा सामाजिक–सांस्कृतिक विश्वास प्रणाली ग्रहण गर्न आईपुगेको हो ।
यसरी हेर्दा, लिम्बू जाति प्रकृति पुजक अर्थात प्राकृत धर्म एन्नेमिष्ट (Animist) र सामानिष्ट (Samanism) को नजिक रहेको देखिन्छ । यो जातिमा टोटेमिष्ट र बोनको पनि थोर बहुत प्रभाव परेको देखिन्छ । आधारभुतरूपमा भने यो प्राकृत या एन्नेमिष्ट तथा सामानिजम कै बिशेषता, विश्वास र आध्यात्मीक दर्शनसंग मिलेको देखिन्छ ।

लिम्बू जातिको धर्म विश्वासको नाम रखाईमा दुरगामी महत्व
बुद्धको नामबाट बौद्ध धर्म, येसु क्राईस्टको नामबाट क्रिश्चियन धर्म, कन्फ्युसियसको नामबाट कन्फ्युसियस धर्म जस्तो लिम्बू जातिको धर्म नाम व्यक्तिको नामबाट हुन सक्ने देखिन्न । यो जातिमा रहेको मुन्धुम र त्यसले निर्देशित गरेको आध्यात्मीक तथा सामाजिक–सांस्कृतिक विधि विधान र विश्वास प्रणालीहरू कुनै एक व्यक्तिले प्रतिपादन गरेको हो भन्ने देखिन्न । यो अल्लाहजस्तो एक व्यक्ति ईश्वरलाई मान्ने ईस्लाम धर्मजस्तो पनि हुन सक्ने देखिन्न । यूमाको परिकल्पना शायद अल्लाह जस्नै एक व्यक्ति ईश्वर (माङ) को नामबाट यूमा साम्यो धर्म नाम जिकिर भएको होला । लिम्बू जातिमा पुकारिने माङ एउटा मात्र छैन धेरै छन् सबैको आ–आफ्नो विशेषता र भूमिका रहेको देखिन्छ । हिन्दु धर्मालम्बीहरूले दावी गरे अनुसार परापूर्वकालदेखि मान्दै आएको धर्म सनातन धर्मजस्तै लिम्बू जाति पनि परापूर्वकालदेखि मुन्धुमको आधारमा आफ्ना प्राकृतिक–सामानिष्ट विश्वास प्रणालीलाई मान्दै आएका परम्परावादी धर्म विश्वासका मानिसहरू हुन् । किरात धर्म नाम त संख्यात्मक धर्म राजनीतिको लागी राखिएको नाम हो । हरेक आध्यात्मीक तथा सामाजिक–सांस्कृतिक विश्वास प्रणालीको दार्शनिक पक्ष हुने गर्दछ । यूमा, किरात तथा प्राकृतिक–सामानिष्ट जे भने पनि यि सबैलाई डोर्याउने आध्यात्मीक तथा सामाजिक–सांस्कृतिक दर्शन भनेको मुन्धुम नै हो यद्यपी यस्मा पनि बिचलन आएको होला ।

लिम्बू जातिमा आध्यात्मीक तथा सामाजिक–सांस्कृतिक विश्वास प्रणाली छ र मुन्धुम त्यसको प्राण हो भन्ने कुरामा अव धेरै दिमाग चलाईरहनु पर्दैन । त्यसलाई प्रतिनिधीत्व गर्ने र त्यसको आध्यात्मीक तथा सामाजिक–सांस्कृतिक दर्शनलाई उपउक्त हुने धर्मको नाम दिनुले दुरगामी महत्व राख्दछ । भावना र कट्टरताको आधारमा नाम यहि हो र हुनु पर्दछ भन्नुले क्षणिक आनन्द मात्र दिन्छ हुन्छ र सुदुर भविष्यामा त्यसको महत्व खासै रहदैन ।

लिम्बू जातिको धर्म र विश्वासलाई किरात भनौ भन्ने कुरा कहि कतैबाट पनि मिल्न आउने देखिन्दैन । यो लिम्बू धर्म भनौ भने जस्तै हो । यो राजनीतिक तथा व्यापकताको लागि किरात नाम राखौ र भनौ भन्नेदेखि बाहेक अरु तार्किक आधार धेरै छैन । धर्मको नाम किरात राखौ भन्ने कुरा केही गरे हुदै हुदैन भन्न पनि मिल्दैन ।

किरात तथा यूमा धर्म
लिम्बू जातिको धर्म र विश्वासलाई किरात भनौ भन्ने कुरा कहि कतैबाट पनि मिल्न आउने देखिन्दैन । यो लिम्बू धर्म भनौ भने जस्तै हो । यो राजनीतिक तथा व्यापकताको लागि किरात नाम राखौ र भनौ भन्नेदेखि बाहेक अरु तार्किक आधार धेरै छैन । धर्मको नाम किरात राखौ भन्ने कुरा केही गरे हुदै हुदैन भन्न पनि मिल्दैन । फेरि किरात भनेको एउटा ठुलो मानव समूह भएकोले तिनीहरू भित्रका विभिन्न जातिको परम्परागत धार्मिक आस्था र विश्वास पनि फरक फरक रहेको देखिन्छ । विश्वभरका आदिवासीहरूले मान्ने र विश्वास गर्ने धार्मिक तथा सांस्कृतिक दर्शन करिब करिब एउटै रहेको छ । जसलाई प्राकृत या एन्नेमिष्ट (एन्नेमिष्ट–सामानिष्ट) भनेमा मात्र एकरूपता हुन सक्छ र सबैलाई प्रतिनिधित्व गर्न सक्दछ । पहिचानको लडाईमा यो धेरैले ढिलो चाडो अपनाउन सक्छन् । किरात भनेको खण्डमा विश्वको कुरा छोडौ नेपालकै सानो भागमा पनि मिल्दैन र एकरूपता हुन सक्दैन । फेरि किरात धर्म मान्नेहरूले पनि यूमालाई माङ (देवी) कै रूपमा मान्दछन् । तागेरानिङवाफुमाङ, पोरोक्मी याम्फामिमाङसहित अन्य केही माङ पछि उनीहरूको मुख्य माङ पनि यूमा नै हो ।

यूमा भनेको लिम्बू जातिको सन्दर्भमा एउटा साम या साम्माङको रूपमा मिल्न गए पनि समग्रतामा मिल्न जादैन । यूमा साम्यो धर्म भन्नु पर्छ भन्नेहरूले यूमालाई माङकै रूपमा मान्दछन् यद्यपी यसको दार्शनिक पक्षले भने आत्मा (Spiritual world) र मानव समाज (Human world) वीच सम्बाद गराउने माध्यमको रूपमा सामन (फेदाङवा, येवा, साम्बा) छन भन्ने भएकोले यूमा पनि साम (आत्मा) नै होला र सो सामलाई माङको रूपमा मानेकोले यूमासाम्माङ भनिएको होला । जे सुकै भए पनि धर्मको नाम यूमा धर्म (यूमा साम्यो) दिन सकिन्छ तर यसलाई लिम्बूभन्दा पर लैजान या अरुले पनि स्विकार गर्ने धर्म नाम हुन सक्दैन । हामीले परम्परागतरूपमा अपनाई आएको मुन्धुम दर्शन, विधि विधान, आस्था, विश्वास, पूजा तथा प्रचलनलाई मिलान गर्न सकिने, व्याख्या गर्न सकिने र अन्य आदिवासीहरूसंग पनि मिल्न जाने भनेको चाही प्राकृत या एन्नेमिष्ट (एनेमिष्ट–सामानिजम) नै हो ।

किरात र यूमा वीचको विवादको चुरो कुरा
वास्तवमा किरात र यूमाबीच धर्मको नाम के राख्ने र के भन्ने विवाद हो जस्तो लाग्दैन । विवादको चुरो कुरा भनेको अंगिकार गरिएको धार्मिक तथा सांस्कृतिक विधिविधान र ति विधि विधानलाई निर्देशित गर्ने मुन्धुम हो । धर्मको नाम त मुन्धुम मार्गी, किरात, यूमा, थेवा, काप्पोवा, सनातन, एनेमिष्ट (प्राकृत), सामानिजम, बोन, लिम्बू, याक्थुङ, मंगोल आदि जे पनि राख्न सकिन्छ तर त्यसको धार्मिक दार्शनिक पक्ष र विधि विधानहरूको व्याख्या मुन्धुमले निर्देशित गरे अनुसार हुनु पर्छ । यसर्थ, नामभन्दा गरिएको काममा विवाद र बहस हुन जरुरी छ ।

किरात (सत्यहाङमा) धर्मवालाहरूले परम्परागत विधि विधान र मौलिक मुन्धुमले निर्देशित गरेकोबाट बिचलन भई हिन्दु धर्मका विधि विधान अपनाएको र मुन्धुमलाई पनि त्यसरी नै बटारेर (Divert गरेर) लगेका छन् भन्ने किरात (सत्यहाङमा) धर्मवालाहरूलाई यूमा साम्योवालाको आरोप छ । यसरी नै यूमा साम्यो धर्मवालाहरूले मुन्धुममै नभएको विभिन्न विधि विधानमा पशु हिंसा तथा काटमार गर्ने र खराव चलनलाई बढाएका छन् भन्ने यूमा साम्योवालालाई किरात धर्मवालाहरूको आरोप छ । मुख्य विवाद र बहस यहाँनिर छ । मुख्य विवाद र बहसबाट बिचलन (Deviate) भएर धर्मको नाम किरात लेख्ने कि यूमा साम्यो लेख्ने वीच युद्धस्तरमा विवाद भएको देखिन्छ ।

सरकारी कागजातमा सामुहिक हिसावले धर्म लेखाउने सम्बन्धमा हिजैदेखि स्थिरता (Consistency) रहेन । परिस्थिति र माहौल अनुसार लिम्बूहरूले हिजो धर्मको महलमा एक समयमा हिन्दु पनि लेखे, पछिल्लो समयमा किरात पनि लेखे, थोरै थोरैले प्राकृत र यूमा पनि लेखे । एउटा सानो हिस्साले क्रिश्चियन पनि लेखिरहेको छ । २०३८ को जनगणनामा धर्मको नाम एउटा, २०४८ को जनगणनामा अर्को, २०५८ को जनमणनामा फेरि फरक नाम, २०६८ को जनगणनामा अर्कै फरक धर्म नाम लेख्ने काम भयो । अब २०७८ को जनगणनामा के लेख्ने भनेर वादविवाद भईरहेको छ । अर्को १० वर्ष पछि हुने जनगणनामा परिस्थिति र माहोल अर्कै बन्ला र अर्कै धर्म नाम लेख्ने निष्कर्ष निस्किएला । धर्म नामको सन्दर्भमा यो अस्थिरता (Inconsistency) कहिलेसम्म रहन्छ भन्ने प्रश्न महत्वपुर्ण भएर आएको छ । जे होस् यो अस्थिरताको अन्त्य हुन जरुरी छ । त्यसको लागी व्यापक छलफल र बहसहरू हुन आवश्यक छ । मुन्धुम सम्मत कामको आधारमा नाम राखेर जान हिम्मत गर्न आवश्यक छ ।- नयाँ अनलाइन बाट

असोज २०७७

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार