फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमी बजारमा प्रथम सेहो?नाम्लाङ महोत्सव हुँदै

 पाँचथर। फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमी बजारमा प्रथम सेहो?नाम्लाङ साँस्कृतिक पर्यटन महोत्सव २०८० आयोजना गरिने भएको छ।

२०८० चैत २६ गतेदेखि २०८१ वैशाख २ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो। स्थानीय ऐतिहासिक, मुन्धुमिक र पर्यटकीय स्थलहरुको प्रचार–प्रसार एवंम् पर्यटन प्रबद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको बताइएको छ। त्यस्तै स्थानीय उपज र मौलिक साँस्कृतिक परिकारहरुको बजारीकरण गर्नु पनि महोत्सवको उदेश्य रहेको छ। पर्यटन, इतिहास, संस्कृति, कृषी र खेलकुद लगायतका गतिबिधि मार्फत् आर्थिक अवस्थालाई चलायमान बनाउन महोत्सवले सहयोग पुर्याउने महोत्सव संयोजक सूर्यप्रकाश चेम्जोङले बताए।

पर्यटकीय जिल्ला इलामसँग सिमाना जोडिएको घुर्विसे पञ्चमी प्रदेशकै मेरुदण्डको रुपमा लिइएको भेडेटार–रवि–राँके सडकको पहुँचमा पर्दछ। तसर्थ घुर्विसे पञ्चमीमा मानिसहरुको बढी चहलपहल हुने गरेको छ। ७ दिनसम्म चल्ने महोत्सवमा कम्तिमा ४० लाख रुपैंयाँबढीको आर्थिक कारोबार हुने र ५० हजार बढी मानिसले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष डीएम आङदेम्बेले बताए।

महोत्सव आयोजना हुने घुर्विसे पञ्चमी बजार। तस्विर– युद्धबहादुर बोहोरा

महोत्सवमा स्थानीय उत्पादन र मौलिक साँस्कृतिक परिकारहरुको स्टलहरु रहनेछन्। विभिन्न साँस्कृतिक झाँकिहरुको प्रदर्शनी गरिनेछ भने भलिवल, फुटवल जस्ता खेलकुदका कार्यक्रम समेत रहनेछन्। महोत्सवका लागि फाल्गुनन्द गाउँपालिकाले ३ लाख रुपैंयाँ बजेट बिनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्बाङले बताए। त्यस्तै छिमेकी पालिकाहरु मिक्लाजुङ र कुम्मायकले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। महोत्सवलाई अन्य विभिन्न निकाय, संघ–संस्था र देश–विदेशबाट व्यक्तिगत रुपमा सहयोग जुट्ने क्रम जारी रहेको बताइएको छ।

सेहो?नाम्लाङ लगायत मुन्धुमीस्थलहरुको प्रबद्र्धन
महोत्सवले सेहो?नाम्लाङ (छालासुकुवा) लगायतका मुन्धुमीस्थलहरुको प्रबद्र्धन र विकासमा महत्वपूर्ण सहयोग पुर्याउने आयोजकले जनाएको छ। फाल्गुनन्द गाउँपालिकाको वडा नं.५ र ७, मिक्लाजुङ गाउँपालिकाको वडा नं.१ र कुम्मायक गाउँपालिकाको वडा नं.२ को संगमस्थलमा पर्ने मुन्धुमी महत्व बोकेको सेहो?नाम्लाङको अध्ययन, भ्रमण र विमर्श गरिने कार्यक्रम समेत महोत्सवमा राखिएको छ। महोत्सवमा सेहो?नाम्लाङको मुन्धुमी आख्यान र ऐतिहासिकतबारे केहि मतभिन्नताहरु रहेकाले त्यसबारे कार्यपत्र प्रस्तुतीसँगै बृहत विमर्श गरी एकरुपता ल्याउने उदेश्य राखिएको छ। पर्याप्त प्रचार–प्रसार र प्रबद्र्धन हुन नसक्दा ओझेलमा रहेको सेहो?नाम्लाङलाई मुन्धुमी पर्यटनको गन्तब्य बनाउन महोत्सवले पहल गर्नेछ। महोत्सवको अवशरमा सेहो?नाम्लाङको खाख्यानसँगै जोडिने फाल्गुनन्द गाउँपालिकामा रहेको अर्को मुन्धुमीस्थल केःसामी नाम्सामी वरक र मिक्लाजुङ गाउँपालिकामा अवस्थित फुङसेन लगायतका स्थानहरुको पनि अध्ययन, भ्रमण गरिने बताइएको छ।

फाल्गुनन्द गाउँपालिकामा अवस्थित केःसामी नाम्सामी वरक। तस्विर– भवानी तावा

सेहो?नाम्लाङको मुन्धुमी आख्यान
मुन्धुममा सेहो?नाम्लाङको विशिष्ट स्थान छ। केःसामी नाम्मासी मुन्धुममा सेहो?नाम्लाङको प्रशंग आउछ। मुन्धुममा वर्णन गरिए अनुसार जङ्गलमा शिकार खेल्ने क्रममा प्यासले आकुलव्याकुल बनेकी तिगेन्जङनाले ढुङ्गाको दुईवटा खोपिल्टामा जमेको पानी पिएर प्यास मेटिन्। तर, त्यो पानी नभएर बाघ र मानिसको पिसाब थियो। त्यसपछि गर्भवती भएकी तिगेन्जङनाले बाघ र मान्छे जुम्ल्याहा सन्तान जन्माइन्। बाघ दाजु केःसामी र मनुष्य भाई नाम्सामी सानोमा मिले पनि बढ्दै जाँदा उनीहरुबीच बेमेल सिर्जना भयो। केःसामीले नाम्सामीलाई खाने कुरा गर्न थालेपछि नाम्सामीले दाजुसँग युद्ध लड्ने तयारी गर्यो। एकदिन नौतले सिमलको रुखको नौतला माथि धनुवाण सहित मनुष्य नाम्सामी दाजु केःसामी (बाघ) सँग युद्ध लड्न तयार भयो।

तर नाम्सामीले प्रहार गरेको वाण छल्दै केःसामी आठ तलामाथि आइपुग्दा नाम्सामीसँग एउटा वाण मात्र बाँकि रह्यो। अन्ततः नाम्सामीले हार स्वीकारेको अभिनय गरेर दाजु केसामीलाई बुद्धिमतापूर्वक मारिदियो। त्यसपछि उसको छाला उक्काएर हिमाल, डाँडा, भञ्ज्याङ, मधेश कहिं सुकाउदा पनि नसुकेको यहिं सेहो?नाम्लाङ डाँडामा मात्र सुकेको कथन छ। नाम्सामीले केःसामीको छाला सुकाएको ठाउँ अद्यापी छँदैछ। यो साबिक फाक्तेप, सराङडाँडा र माङ्जाबुङको शिरमा पर्छ। यसरी दाजु–भाईको युद्धमा उनीहरुको प्रतीक छुट्टाछुट्टै फूल राखेर आमा तिगेन्जङनाले आफ्ना छोराहरुको जीत र हार छुट्याएको ठाउँ सेहो?नाम्लाङ नजिकै रहेको फुङसेन हो।

यस स्थलको विकास र प्रबद्र्धनका लागि छिमेकी पालिकाहरुसँग समेत समन्वय गरी गुरुयोजना बनाएर प्रदेश र संघीय सरकारसँग योजना माँग गरी काम गर्ने लक्ष्य रहेको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङदेम्बेले बताए। सुमात्लुङ टाइम्स

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार