पोखरा । आफूलाई ‘घटुवा मन्त्रालय’ दिइएको भन्दै गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले राजीनामा दिएका छन् । उनले सोमबार साँझ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामापत्र बुझाएका हुन् ।
एमाले चार मन्त्रालयसहित सरकारमा आउने भएपछि मुख्यमन्त्री पाण्डेले भागबन्डा मिलाउन मनाङेले यसअघि सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए । सोमबार एमालेका चार मन्त्रीको शपथ समारोहमा समेत मन्त्री गुरुङ आफूलाई घटुवा मन्त्रालय दिएको भन्दै एक्कासि समारोह छोडेर गएका थिए । उनी यसअघि तेस्रो वरीयतामा थिए ।
गण्डकी प्रदेशसभामा मनाङबाट दोस्रो कार्यकालका लागि पनि निर्वाचित मनाङे पटकपटक विवादमा आइरहने पात्र हुन् । उनी प्रदेशमा ६ पटक मन्त्री बनेर रेकर्ड बनाइसकेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिनेक्रममा मनाङेलाई छैटौं वरीयतामा राखिएको थियो ।
आफूलाई विश्वासको मत दिएकामा मुख्यमन्त्री पाण्डेले उनीसहित एकीकृत समाजवादीका फणिन्द्र देवकोटाको मन्त्री पद जोगाइदिएका हुन् ।
देवकोटा ऊर्जा, जलस्रोत र खानेपानी मन्त्रालयमा यथावत रहँदा मनाङेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय फेरिएर वनको जिमेवारी दिएपछि असन्तुष्टि पोखेका हुन् । भौतिक भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी एमालेबाट समानुपातिकमा निर्वाचित कास्कीका प्रकाशबहादुर केसीले पाएका छन् ।
संघीय सरकारमा एमाले–कांग्रेस सत्ता गठबन्धको सहमतिको ठीक दुई महिनापछि गण्डकीमा नवलपुरकी पदमा जीसी श्रेष्ठको नेतृत्वमा एमाले सरकारमा गएको हो । बाग्लुङका कृष्णप्रसाद पाठकले स्वास्थ्य र पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी लिँदै पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरिसकेका छन् ।
यससँगै गण्डकीको ९ सदस्यीय मन्त्रिमण्डलले पूर्णता पाएको छ । आइतबार मात्र मन्त्रिपरिषद् बैठकले सातबाट नौ मन्त्रालय बनाउने निर्णय गरेको थियो । जसमा वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाइएको हो ।
एमालेबाट मन्त्री बन्नेमा मित्रलाल पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङनिटकका हुन् भने अन्य पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारीनिकटका हुन् । गण्डकीमा पृथ्वीसुब्बा र खगराजको गुट हावी छ । कांग्रेसका बिन्दुकुमार थापा सामाजिक विकास, युवा तथा खेलकुद र डा. टकराज गुरुङ आर्थिक मामिलामन्त्री छन् ।
७३ वर्षको उमेरमा मन्त्री बन्न सफल पर्वतका बस्याल पाका नेता हुन् । उनले यसअघि प्रदेशसभाको बैठकमा ज्येष्ठ सदस्यका रूपमा सभाध्यक्षको भूमिकासमेत निर्वाह गरेका थिए ।
कास्कीका प्रकाशबहादुर खगराजनिकटका हुन् । उनी विगतमा राप्रपामा थिए । राप्रपा कोटाबाटै उनी २०७१ सालमा खाद्य संस्थानको महाप्रबन्धकसमेत बनेका थिए । २०५४ सालमा पोखरा–१२ को तत्कालीन वडाध्यक्ष बनेका उनी चार दशकदेखि निरन्तर राजनीतिमा छन् । उनी एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसचिवालय सदस्यसमेत हुन् ।
खगराज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्दा नवलपुरकी पद्माको नाम यसअघि पनि चर्चामा थियो । तर, अधिकारीले आफूनिकट पुरानै दुई मन्त्री दोहो¥याएका थिए । २०४८ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरुवात गरेकी उनी गत २०७९ सालको प्रदेशसभा निर्वाचनमा नवलपुर २(१) बाट निर्वाचित हुन् । उनी गण्डकीका सांसदमा निकै सक्रिय मानिन्छिन् ।
बाग्लुङका कृष्ण पाठक समानुपातिक कोटाबाट एमालेको सांसद बनेका हुन् । उनी पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलनिकटका हुन् । २०३१ सालमा नेकपा (मसाल) निकट विद्यार्थी संगठनमा लागेर राजनीति सुरु गरेका उनी २०४१ सालमा मसाल छाडेर माले हुँदै एमाले छिरेका हुन् ।