प्रधानमन्त्रीको राजीनामापछि यस्तो आयो एमालेको धारणा, जिम्मेवारीबाट भाग्न खोजेको आरोप…

 

 

काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएर जिम्मेवारीबाट पन्छिन खोजेको तर्क गरेको छ ।

बुधबार साँझ अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकले राजनीतिक सहमतिको वातावरण निर्माण गरी स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको सरकारका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएर परिस्थितिलाई झन् अन्योलपूर्ण बनाएको निष्कर्ष निकालेको हो ।

‘स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको निर्णयले जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई अन्योलपूर्ण बनाइरहेको, तत्कालै संसद्मा सरकारको नीति तथा कार्यक्रम र बार्षिक आय–व्यय (बजेट) पेस गर्नुपर्ने साथै हाम्रो पार्टीले संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव, स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सरकारी तवरबाट भएका ज्यादतीहरुको संसदीय छानबिनको माग गरिरहेको छ,’ एमालेद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘यस्तो बेला त्यसमा सरकारका तर्फबाट आवश्यक पहलकदमी लिएर राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको सरकारका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएर परिस्थितिलाई झन् अन्योलपूर्ण बनाउनुभएको छ ।’

बैठकले प्रधानमन्त्रीले राजीनामा दिएपनि दोस्रो चरणको निर्वाचन जेठ ३१ गते नै हुनुपर्ने माग समेत स्मरण गराएको छ । ‘हाम्रो पार्टी स्थानीय तहको पूर्वनिर्धारित संख्या र सीमाभित्र रहेर आगामी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न जोडदार माग गर्दै यसका लागि सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गर्दछ,’ सचिव योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार