काठमाडौं, जेठ १५ – मतपत्र च्यातिएपछि रोकिएको भरपुर महानगरपालिकाको मतगणना अब के हुन्छ भन्ने सर्वत्र चासो छ । आइतबार राति माओवादी केन्द्रका प्रतिनिधिले नै मतपत्र च्यातेपछि अनिश्चित समयसम्मका लागि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । त्यसबारे निर्णय गर्न निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा बैठक बसिरहेको छ । तर, स्थानीय तह निर्वाचन ऐन, २०७३ ले कुनै कारणवस मतपत्र नोक्सान भएमा त्यो मतदान केन्द्रमा पुनः मतदात गराउनु पर्ने व्यवस्था गरेको छ ।
ऐनको दफा ४९ को उपदफा १ मा भनिएको छ, ‘मतगणना पूरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग गरिएको मतपत्र, मतपत्र रहेको मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानूनी तवरले अन्यत्र लगिएमा वा खोलिएमा वा नोक्सान गरिएमा वा तोडफोड गरिएमा वा हराएमा वा दुर्घटनावश नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी त्यसकोप्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ ।’
उपदफा २ ले त्यस्तो मतदान केन्द्रमा पुन मतदान गराउनुपर्ने व्यवस्था गरेको छ । उपदफा २ मा भनिएको छ, ‘ उपदाफ १ बमोजिम मतगणनाको काम स्थगित गरिएपछि आयोगले त्यस्तो मतदान केन्द्रको सम्पूर्ण मतदान अवैध भएको घोषणा गर्नेछ र आयोगको निर्देशनमा निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रमा पुनः मतदान गर्ने स्थान, मिति र समय यथाशिघ्र तोकी सूचना प्रकाशन गर्नेछ ।’
भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतगणना जारी रहेका बेला माओवादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि मतदानस्थल तनावग्रस्त बनेको थियो । भरतपुर महानगरपालिकामा कांग्रेस माओवादीले प्रधानमन्त्री पुत्री रेणु दाहाल र एमालेले देवी ज्ञवालीलाई मेयरको उम्मेदावर बनाएको छ ।
मतगणना रोकिने बेलासम्म ज्ञवाली र दाहालको मतअन्तर ७ सय ३३ थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार देवी ज्ञवालीले ४१ हजार ६ सय ४१ र रेणु दाहालले ४० हजार ९ सय ८ मत पाउनुभएको छ ।प्रकाश ढकाल/उज्यालो ।