कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

भारी वर्षा र बाढी-डुबानको जोखिम : मधेशका आठै जिल्लामा सुरक्षा निकाय ‘हाई अलर्ट’

काठमाडौ । सम्भावित भारी वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ।

जोखिमयुक्त क्षेत्र पहिचान गरी उद्धार तथा राहतका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको प्रदेश प्रहरीले जनाएको छ। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीका अनुसार प्रदेशभरका सुरक्षा संयन्त्रलाई विपद् व्यवस्थापनका लागि ‘स्ट्यान्डबाइ’ राखिएको छ।

आठवटै जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई सम्भावित जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी बढाउन निर्देशन दिइएको उनले बताए। उनका अनुसार बाढी तथा डुबानको सम्भावना रहेका क्षेत्र पहिचान गरी स्थानीय तह, प्रशासन र अन्य सरोकारवाला निकायसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गरिएको छ। जनधनको क्षति हुन नदिन उच्च सतर्कता अपनाइएको प्रहरीको भनाइ छ।

निर्माणाधीन पुल, सडक तथा अन्य जोखिमयुक्त संरचनामा आकस्मिक बाढीका कारण क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यस्ता स्थानमा विशेष निगरानी गर्न निर्देशन दिइएको छ। प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगन्ज र जनकपुरलाई समेत सम्भावित उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।

यसैबीच, मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आपसी समन्वयमा तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

बैठकले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि तीनवटै सुरक्षा निकायबीच प्रभावकारी समन्वय र आवश्यकताअनुसार तत्काल उद्धार तथा राहत परिचालनमा जोड दिएको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent