६ असार, काठमाडौं । यातायात ब्यवस्था विभागले १५ दिनका लागि काठमाडौंमा नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण रोकेको छ । स्थानीय तहको चुनावका लागि विमागका कर्मचारी जिल्लामा खटिएपछि २१ गतेसम्मका लागि लाइसेन्सको वितरण रोकिएको हो ।
काठमाडौंमा लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रयाल रोकिएको छ । अब २१ गतेपछि विभागले पूर्ण रुपमा अनलाइन सेवा प्रारम्भ गर्ने तयारी गरेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । अब अनिवार्य रुपमा अनलाइनबाटै नयाा लाइसेन्सको आवेदन बुझाउनुपर्ने ब्यवस्था गरिनेछ ।
‘अहिले नयाँ लाइसेन्सको वितरण रोकेका छौं, अब सबै प्राविधिक तयारी टुंग्याएर लाइसेन्सको आवेदन पूर्ण रुपमा अनलाइनमा लैजानेछौं’ भट्टराईले भने ।
विभागले काठमाडौंमा आवेदन लिन अनलाइन सिस्टम सुरु गरेपनि पटक-पटक समस्या आउने गरेको छ । सर्भरले समय-समयमा काम नगरेपछि डाटा इन्ट्री नहुने समस्या छ ।
अब त्यो समस्या हट्ने र पूर्ण रुपमा अनलाइनबाट मात्रै आवेदन बुझ्ने ब्यवस्था गर्न लागिएको महानिर्देश्क भट्टराईले बताए । ‘अब लाइन बस्नुनपर्ने गरी ब्यवस्था गर्छौं, त्यसका लागि तयारी पनि गरेका छौं’ भट्टराईले भने ।
यातायात ब्यवस्था विभागमा अहिले २ जना मात्रै कम्युटर इञ्जिनियर छन् । जनशक्ति थप्नेतर्फ विभाले ध्यान नदिँदा र्अाटी सम्बन्धी समस्या आउने गरेको छ ।
स्मार्ट लाइसेन्स र इम्बोस्ड प्लेट जस्ता नयाँ प्रविधिको प्रयोगमा प्रवेश गरिसकेको विभागले अनलाइन फारम भर्ने सिस्टम पनि सुरु गरेको छ ।
तर, दक्ष जनशक्तिको अपर्याप्तताकै कारण यी सबै आधुनिक सिस्टमहरु असफल हुने खतरा विभागका अधिकारी बताउँछन् ।अनलाइन फारमको व्यवस्थापछि यातायात व्यवस्था विभागमा घन्टौं लाइन बस्नु पर्ने बाध्यता लगभग हट्नेछ ।
पूर्ण रुपमा अनलाइन सिसटम लागेपछि अब फारम भर्नेहरुको भिड त लाग्ने छैन नै, यसले अन्य सेवाग्राहीलाई पनि होलो हुनेछ ।
अनलाइन फारम भर्ने व्यवस्थाले बिचौलियाहरुबाट सेवाग्राही ठगिने सम्भावना पनि धेरै हदसम्म हट्नेछ । ‘प्रविधिको प्रयोगलाई वैज्ञानिक बनाउन हामी लागेका छौं, सरल रुपमा सेवा ग्रहीले सेवा पाउन भनेर अब अनिवार्य रुपमा अनलाइनमा जाने गरी काम थालेका हौं’ महानिर्देशक भट्टराईले भने ।