धरानमा एमालेको ‘किल्ला’ भत्काउन माओवादीको यस्तो तयारी, ल्यायो ‘पपुलिस्ट’ कार्यक्रम

धरान । धरान मुलुककै पहिलो उपमहानगर हुन सक्छ जहाँ माओवादी केन्द्र खानेपानी र बिजुली निःशुल्क दिने ‘पपुलिस्ट’ नारा अघि सारेर चुनावमा उत्रेको छ । केन्द्रले आफ्नो पार्टीले मेयर जिते प्रतिपरिवार दैनिक १० हजार लिटर खानेपानी र प्रतिमहिना १० युनिट बिजुली निस्शुल्क उपलब्ध गराउने भन्दै भोट मागिरहेको छ ।

माओवादी केन्द्रले धरानबासीको मन जित्न अर्को पनि ‘पपुलिस्ट’ नारा दिएको छ, त्यो हो धरानलाई प्रदेश नं। १ को राजधानी बनाउने । विराटनगरपछिको पूर्वकै पुरानो नगरमा मेयर जित्न उसले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र जनमुक्ति, खम्बुआन र लिम्बुआनका नाममा खुलेका विभिन्न जातीय पार्टीसँग गठबन्धनसमेत गरेको छ । माओवादी केन्द्र, संघीय समाजवादी फोरमसहितको गठबन्धनले मेयरमा अइन्द्रविक्रम बेघा र उपमेयरमा पारस काङवाङ राईलाई उम्मेदवार उठाएको छ । बेघा माओवादी केन्द्रका हुन् भने राई संघीय समाजवादी फोरमका ।

कांग्रेस र एमालेले भने मेयर र उपमेयरसहित सबै पदमा आ–आफ्नै पार्टीको बलमा प्रतिस्पर्धा गरिरहेका छन् । कांग्रेसले मेयरमा तिलक राई र उपमेयरमा श्यामा रेग्मी तथा एमालेले मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारीलाई उठाएका छन् । यहाँ मेयर र उपमेयरमा १२–१२ जना उम्मेदवार छन् । यहाँ राप्रपाले मेयरमा तारा शाक्यलाई उम्मेदवार बनाएको छ । धरानमा सांगठनिक हिसाबले राप्रपा कमजोर भएकाले उनको खासै चर्चा भने छैन । २० वटा वडा भएको धरानमा ७९ हजार २ सय ८२ मतदाता छन् ।

धरान ०१५ सालदेखिकै कम्युनिस्टको किल्ला हो । पञ्चायतकाललाई अपवाद मान्दा यहाँ कम्युनिस्ट उम्मेदवारले कहिल्यै हारेका छैनन् । यो ०४९ र ०५४ मा भएको स्थानीय चुनावमा एमाले, ०४८, ०५१, ०५६ को संसदीय निर्वाचनमा एमाले, ०६४ को संविधानसभा चुनावमा माओवादी र ०७० को संविधानसभा चुनावमा एमालेले जितेको ‘कम्युनिस्ट किल्ला’ हो ।

यहाँका वामपन्थी विश्लेषक एवं महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र शर्माले २००६ सालमा भारतमा मनमोहन अधिकारीलगायत नेताले कम्युनिस्ट पार्टी गठन गरेकै बेला धरानमा निर्मल गिरीलगायतले बैठक गरी अघि बढाएको विद्रोही चेतना अद्यापि रहेको उल्लेख गरे । शर्माको विश्लेषणअनुसार गणितीय हिसाबले अझै धरानमा कम्युनिस्ट मतदाता बढी छन् । तर, दुई कम्युनिस्ट पार्टीबीचको तानातानले यसपटकको चुनावमा परिणाम के आउँछ भन्न सकिन्न ।

एमाले र माओवादी केन्द्र यो कम्युनिस्ट किल्ला आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् । कांग्रेस भने दुइटा कम्युनिस्ट पार्टीबीचको चर्को प्रतिस्पर्धाले मत बाँडिने र आफूले बाजी मार्ने विश्लेषणसाथ चुनावी अभियानमा लागिरहेको छ ।

एमालेले ०६४ सालबाहेक यहाँ सबै निर्वाचन जिते पनि विकासमा खासै काम गर्न नसकेकाले उपमहानगर पछाडि परेको भन्दै कांग्रेस र माओवादी केन्द्र यसैलाई चुनावी मुद्दा बनाएर मतदातासामु गइरहेका छन् । कांग्रेसले गिरिजाप्रसाद कोइरालाको पहिलो प्रधानमन्त्रीत्वकालमा धरानमा ‘बीपी कोइराला चिकित्सा विज्ञान प्रतिष्ठान’ खुलेको र यसैका कारण आर्थिक गतिविधि बढेको र उपमहागर पूर्वको आकर्षण केन्द्र बनेको भन्दै मतदाताबीच यसको श्रेय लिने प्रयास गरिरहेको छ ।कान्तिपूर दैनिकमा खबर छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार