काठमाडौं, ६ असार । तराई मधेसमा विखण्डकारी तत्वले आफ्नो गतिविधि बढाएपछि नेपाली सेनाका प्रमुख प्रधानसेनापति राजेन्द्र क्षत्री देशदौडाहामा निस्किएका छन् ।
तराईमा चुनाव बहिष्कारसहित राजपाको आन्दोलन, सीके राउतको आन्दोलन गर्ने तरिकासहितको चिठ्ठी र आन्दोलनमा राउतका कार्यकर्ता सहभागी भएको रिपोर्ट पाएपछि पूर्वसेनापतिहरुसँग परामर्श लिई क्षत्री देश बचाउन सक्रिय भएका हुन् ।
उनले केही दिनअघि मात्रै सरकारलाई चेतावनीसहितको सुझाव दिँदै राजनीतिक तहबाट समस्याको समाधान नभए सेना अघि बढ्ने कुरा पनि जानकारी गराइसकेका छन् ।
यसक्रममा प्रधानसेनापति क्षत्री मंगलबार सुनसरी पुगेका छन् । पूर्वमा असार १४ गते दोस्रो चरणको चुनाव भइरहेको सन्दर्भमा क्षत्री सुरक्षा अवस्था बझ्न सुनसरी पुगेका हुन् ।
उनले त्यहाँ पूर्वका क्षेत्रीय प्रशासक लगायत क्षेत्रीय सुरक्षा निकायका प्रमुखहरुसँग सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । क्षेत्रीय सुरक्षाका निकायका प्रमुखले त्यहाँको सुरक्षाबारे क्षत्रीलाई ‘विफ्रिङ’ गरेका थिए ।
पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण
सुनसरी पुगेका प्रधानसेनापति क्षत्रीले मंगलबारै ईटहरीस्थित श्री पूर्वी पृतना हे.क्वा.को निरीक्षण गरेका छन् । त्यसक्रममा उनले उक्त पृतनाको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए ।दैनिक नेपाल