अर्काको छातीमा छोरीको मुटु धड्किएको सुन्दै भक्कानिए पिता…

वासिंटन, असार ९ । अमेरिकाको विस्कन्सिन राज्यमा रहेका बिल कोनर करिब दुई हजार किलोमिटर पर रहेको लुइजियाना राज्यमा साइकल चलाएरै पुगे । यतिलामो र कठिन यात्रा उनले आफ्नी मृत छोरीको मुटुको धड्कन सुन्नका लागि तय गरेका हुन् ।

 

छोरी नभए पनि अर्काको छातीमा छोरीकै मुटु धड्किएपछि त्यही धड्कन सुन्न उनले यतिलामो यात्रा साइकल मै गरेका हुन् । धड्कन सुन्नका लागि जब उनले स्टेथेस्कोप आफ्नो कानमा लगाए, छोरीको मुटु धड्किएको सुन्नासाथ भावुक भएर उनी भक्कानिए ।

बिल कोनरकी छोरीको मुटु हाल लोमन्थ ज्याक नाम गरेका युवाको छातीभित्र छ । लोमन्थलाई हृदयघात भएको थियो । चिकित्सकले उनलाई केही दिनमात्र जीवनको सम्भावना रहेको बताइसकेका थिए ।

उता मृत्युअघि नै अंगदान घोषणा गरेकी कोनरकी छोरी ऐबीको अप्रत्यासित निधन भयो । प्रत्यारोपणमार्फत ऐबीको मुटु अहिले लोमन्थको शरीरमा पुगेको हो । परिणामस्वरुप लोमन्थले नयाँ जीवन पाएका छन् भने कोनरले छोरीको मृत्युका बाबजुद उनको धड्कन सुन्न पाएका हुन् ।

कोनरले लोमन्थलाई भेट्दा छोरीलाई नै भेटेजस्तै महसुस भएको बताए । ‘ऊ मेरै छोरीका कारण जीवित छ,’ उनले भने, ‘मैले पनि छोरीलाई भेटेजस्तै महसुस गरेको छु ।’

ऐबीको गत जनवरीमा निधन भएको हो । स्वीमिङ पुलमा बेहोस अवस्थामा उनलाई उद्धार गरिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

छोरीको निधनपछि कोनरले अंगदान प्रचारमा आफूलाई सक्रिय तुल्याए । यस क्रममा उनले चार हजार किलोमिटरसम्म साइकल चलाएर अंगदान प्रचार गर्ने निधो गरे । उक्त यात्रामा फ्लोरिडाको त्यो अस्पताल पनि उनको रुटमा परेको थियो, जहाँ उनकी छोरीको शव राखिएको थियो ।

 

करिब दुई हजार दुई सय ५० किलोमिटरको यात्रापछि उनले लोमन्थसँग भेट हुन सम्भव देखे । त्यसपछि अस्पतालमार्फत लोमन्थसँग उनको भेट सम्भव भयो ।

लोमन्थ भन्छन्, ‘उनले मेरो जीवन बचाइन्, उनका लागि म केही गर्न त सक्दिन तर उनको परिवारलाई स्नेह र प्रेम दिन सक्छु ।’

संयोगले कोनर र लोमन्थको भेट फादर्स डे कै दिन भएको थियो । उनीहरुको भेट सबैका लागि मनछुने दृष्य बनेको बताइन्छ । (एजेन्सी)

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार