इटहरी । दोस्रो चरणको स्थानीय निर्वाचनमा उठ्न चाहनेहरुसँग रकमको मोलमोलाई गरेको प्रमाण फेला परेपछि एमाले वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ कारबाहीस्वरुप पार्टी मुख्यालयमा तानिएका छन् । उनी एमालेका मोरङ सह–इन्चार्ज हुन् र त्यहीँ उनले उठ्तीपुठ्ती गरेको आरोप छ । रकमको मात्रा कम तर एमालेभित्र बहसको स्तरचाहिँ राज्यलक्ष्मी गोल्छा प्रकरणजसतै बनेको छ । त्यसमाथि रुपनारायणले आफू बच्नका पनम्ती विभिन्न व्यक्तिको नाम पोलेका छन् । कतिपयले उनको आरोप स्वीकार गरिसकेका छन् । तर, छानबिनचाहिँ भइरहेको छ ।
यसरी रुपनारायणलाई फन्दामा पार्ने कामरेड हुन्, अदुवा र अलैची बेचेर पैसा कमाएका डिल्लीराम खतिवडा । साविकको कारोबारी गाविस र हा कायमा हुन आएको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा खतिवडा त्यहाँका अगुवा एमाले हुन् । पूर्वाञ्चल पर्यटन परिषद्का अध्यक्ष उनी धनकुटाको भेडेटारमुनी जेफले डाँडामा होमस्टे चलाउँछन् । उनको घरै त्यहीँ पर्छ । मोरङ, पाचथर, धनकुटा र इलामको संगमस्थल मानिले, समुन्द्री सतहबाट चार सय मिटर उचाइमा अवस्थित मिक्लाजुङ डाँडालाई आधार मानेर व्यवसाय गर्ने क्रममा खतिवडाले राम्रै पैसा कमाएका छन् ।
त्यहिँ पैसामा आँखा लगाउँदा रुपनारायण फसेको बताइन्छ । चुनाव लड्न टिकट दिन्छु भन्दै रुपनारायणले पैसा मागेको, तर टिकट अर्कैले पाएको रिसमा डिल्लीले इटहरीस्थित १ नम्बर सम्पर्क कार्यालयमा अडियो रेकर्डसहित उजुरी दर्ता गरेका हुन् । वैकल्पिक केन्द्रीय सदस्य तथा कार्यालय इन्चार्ज धर्मराज निरौलाको हातमा थमाएको उजुरीमा केन्द्रीय सचिव तथा प्रदेश संयोजक भीम आचार्य, पत्नी नीरादेखि मोरङ पार्टी अध्यक्ष तथा विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार विनोद ढकालसम्मको नाम उल्लेख भएपछि विषय गम्भीर बनेको हो । रुपनारायणले भीम आचार्यको नाम लिँदै रकम बार्गेनिङ गर्नेक्रममा डिल्लीले ‘यसमा किन मुछ्ने’ भन्दै प्रश्न गरेपछि विनोद ढकालको हवला दिइएको थियो ।
टिकटको नाममा दुई करोड रकम आर्जन गर्ने उद्धेश्यसहित उनले यस्तो गरेको आरोप एमाले नेताहरुले लगाएका छन् । डिल्लीमात्र होइन मधुमल्ला गाउँपालिकाको अध्यक्ष पदका लागि भेषराज काफ्लेसँग २१ लाखबाट कुरा सुरु गरेर १५ लाखसम्म झरेको उजुरी परेको छ । तर, त्यहाँबाट देवी आचार्यले टीकट पाए । रुपनारायणलाई अहले धुम्बाराही मुख्यालयमा तानेर अनुसन्धान गरिदैछ र कारबाही गर्ने सबै जिम्मा छ महासचिव ईश्वर पोखरेललाई ।