संविधान संसोधन प्रस्ताव संसदमा पेश गर्ने यस्तो छ सरकारको तयारी

काठमाडौं–तेस्रो चरणको स्थानीय तहको चुनावको सुनिश्चताका लागि सरकारले संविधान संसोधन प्रस्ताव अगाढि बढाउने अन्तिम गृहकार्य गरेको छ । असार मसान्तभित्र संसोधन प्रस्तावलाई संसदमा पेश गर्ने सरकारको तयारी छ ।

यसैकारण मन्त्रीपरिषद् विस्तार पनि रोकिएको छ । तत्काल मन्त्रीपरिषद् विस्तार गर्दा संसोधन प्रस्ताव प्रभावित हुने सत्तारुढ दलको बुझाई छ ।

आज मात्र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक प्रक्रियामा अगाडि बढ्ने बताएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रचण्डले भने ‘संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने हाम्रो उद्धेश्य हो । अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक अब प्रक्रियामा अगाडि बढ्छ । संशोधन विद्येयकलाई निर्णयार्थ पेश गरेर राजपा लगायतका असन्तुष्ट दललाई पनि निर्वाचनमा ल्याउनुको बिकल्प छैन । हामीले जिम्मेवारपूर्ण भूमिका खेल्न सकेनौं भने असन्तुष्टीमा खेल्ने तत्वले फाइदा उठाउन सक्छन् ।’

उता आज मात्र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताएका छन् । चितवनमा पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको छ । संविधान संशोधनको प्रस्ताव आज भोलि नै पेश हुन्छ ।’

सकेसम्म २९ गते संविधान संसोधन प्रस्ताव संसदमा पेश गर्ने सरकारी तयारी छ ।

संसोधन प्रस्तावमा राजपालाई आश्वस्त पार्ने सत्तारुढ दलको आफ्नै सूत्र छ । राजपाबाट पनि केही संकेत पाएको सत्तारुढ दलका नेताहरुको दावी छ । यदि राजपा अहिले दिएको संकेत अनुसार संसोधनका लागि तयार भयो भने सरकार संसोधन प्रस्ताव अगाडि बढाएर दुई नम्वर प्रदेशको चुनाव सुनिश्चत गर्ने तयारीमा छ । ‘राजपाले संकेत गरेको छ । तर, हुन्छ भन्ने सुनिश्चत गरेको छैन ।’ सत्तारुढ दलका एक नेताले भने, ‘राजपाका माग सम्बोधन हुने अबस्थामा संसोधन अगाडि बढछ् ।’
आन्दोलनका क्रममा थुनामा परेका आफ्ना नेता–कार्यकर्तालाई धरौटीमा रिहा गर्ने, प्रदेश नम्वर २ का जिल्लामा केही स्थानीय तहको सख्याँ बढाउने र सरकार प्रस्ताव पारित गराउन इमान्दारीतापूर्वक लाग्ने हो भने संसोधन प्रस्ताव संसदमा पेश गर्न राजपा तयार रहने संकेत सत्तारुढ दलका नेताहरुले पाएका छन् ।

प्रयत्न गर्दागर्दे पनि संसोधन प्रस्ताव फेल भयो भने त्यसपछि चुनावबाट भाग्न नपाइने सुनिश्चता सरकारले राजपासँग खोजेको छ । तर, राजपाले अहिलेसम्म यस्तो सुनिश्चता दिन चाहीँ मानेको छैन ।

डर फेलको
सरकार संसोधन प्रस्ताव पारित भैहाल्छ भन्ने विश्वासमा छैन । अहिले सत्तागठबन्धनसँग दुई तिहाई छैन । प्रमुख प्रतिपक्ष र केही साना दल संसोधनको विपक्षमा उभिएका छन् । यस्तो अबस्थामा संसोधन प्रस्ताव पारित भैहाल्छ भन्ने विश्वास सरकारलाई छैन । तै पनि दुई नम्वर प्रदेशको चुनावको सुनिश्चताका लागि सरकार अगाडि बढ्ने मूडमा छ । रातोपाटी संवाददाता

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार