भिसा कार्डमा बैंकले ल्याए अफरः सपिङ गर्दा १० प्रतिशत छुट

काठमाडौं । बालाजुका शम्भु जोशी आफ्नो साथमा धेरै पैसा बोक्ने झन्झट गर्दैनन् । रेष्टुरेन्टमा खाएको खानाको पैसा तिर्दा होस वा किनमेल गर्दा आफ्नो वालेटमा हुने डेबिट कार्डको प्रयोग गर्न उनलाई बानी परिसकेको छ ।

‘मलाई वालेटमा पैसाको बिटो बोकेर हिँड्न झण्झट नै लाग्छ, हराउने र चोरी हुने डर पनि त्यत्तिकै,’ जोशी भन्छन्, ‘कार्डले सुरक्षाको अनुभुती पनि दिन्छ ।’

काठमाडौं र पोखरा लगायत शहरमा शम्भु जस्तै नगदको सट्टा कार्डबाटै रकम भुक्तानी गर्नेहरु बढिरहेका छन् । ‘अहिले हाम्रोमा कार्डबाट भुक्तानी गरिने मेसिन पाउस (पीओएस)को दैनिक ३ वटासम्म माग आइरहेको छ,’ नेपाल इन्भेष्टमेन्ट बैंकका कार्ड सेन्टर प्रमुख रिना चन्द भन्छिन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत असारसम्ममा नेपालमा ५० लाख ४९ हजार कार्डधारी छन् । यस्ता कार्डहरु भिसा तथा एससीटी ब्रान्डको नामबाट जारी भइरहेका छन् ।

यी दुईमध्ये कुनै ब्राण्डका डोमेस्टिक कार्ड हुनेहरुले देशभित्र कार्डको प्रयोग गरेर खाना खाएको वा सामान किनेको बिल तिर्न सक्छन् । तर, अहिले पनि यस्ता कार्डको प्रयोग बस्तु किनमेल गर्नभन्दा पनि एटिएमबाट पैसा झिक्नका लागि भइरहेको छ ।

‘अहिले पनि धेरै मानिसहरु यस्तो कार्डबाट पहिले एटिएममा गएर पैसा झिक्छन् र त्यही पैसा तिरेर सामान किन्छन्, जबकी पैसा तिर्न पनि त्यही कार्ड प्रयोग गर्न सकिन्छ,’ चन्दले भनिन् । उनका अनुसार हाल कार्डधारीहरुमध्ये ८० प्रतिशतले कार्डको प्रयोग एटिएमबाट पैसा झिक्न मात्र गरिरहेका छन् ।

नेपालमा डेबिट कार्डको सुरुवात भएको लगभग दशकभन्दा बढि भए पनि यसबारे जानकारी अभाव रहेकोले यस कार्डको प्रयोग एटिएमबाट रकम झिक्न मात्र भएको देखिन्छ ।

‘पछिल्लो समय यस्ता पाउस मेसिनहरुको माग बढेको छ, यसबाट कार्डबाटै भुक्तानी गर्ने बानीको विकास भइरहेको मान्न सकिन्छ,’ मेगा बैंकका कार्ड एण्ड अल्टरनेट च्यानल बिभाग प्रमुख राकेश श्रेष्ठले भने । हाल देशभर लगभग ५ हजारको संख्यामा पाउस मोसिनहरु जडान भएका छन् । बजारमा रकम भुक्तानीको लागि यस्तो कार्डको प्रयोग गर्न सकिन्छ भन्ने सचेतना बढ्दै गएकोले भोलिका दिनमा यस्ता मेसिन सर्वसुलभ रुपमा हुने मान्न सकिन्छ ।

कार्ड

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार