पाँच महिनापछि नियमित उडान, विमानस्थलमा यात्रुको व्यवस्थापन सेनाबाटै

१६ भदौ, काठमाडौं । पाँच महिना लामो गतिरोधपछि सरकारले आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु गर्दै छ । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्ने छ । साे जहाज बुधबार काठमाडाैं फर्कने छ । बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने छ ।

  1. कोरोनाका कारण सरकारले गत चैत १० गतेबाट सबै हवाई उडानहरु बन्द गरेको थियो । त्यसयता विदेशमा अड्किएका नेपाली र नेपालमा अड्किएका विदेशीहरु ओसार्न चार्टर्ड उडानहरु भए पनि नियमित व्यवसायिक उडान हुन सकेको थिएन । अहिले विभिन्न सुरक्षा मापदण्ड अपनाएर सिमित संख्यामा सरकारले उडान सुचारु गर्न लागेको हो ।

विदेशबाट आउने यात्रुको विमानस्थलमा रिसिभ गर्ने प्रक्रिया १० चैतभन्दा अगाडीको जस्तै सामान्य भने हुने छैन । यात्रुले चार्टर्ड उडानमा जस्तै स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्नुपर्छ । यसको व्यवस्थापन नेपाली सेनाबाटै हुनेछ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्ण भन्छन्, ‘आज जसरी सेनाबाट यात्रुको व्यवस्थापन भइरहेको छ, भोलि पनि त्यस्तै हुन्छ ।’

अहिले जहाजबाट झरिसकेपछि नेपाल एयरलाइन्सको र्‍याम्पबसले यात्रुलाई प्रस्थान टर्मिनलसम्म ल्याउने र त्यहाँबाट सेनाले होल्डिङ सेन्टर लैजाने गरेको छ । होल्डिङ सेन्टरबाट पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुलाई फाराम भराएर घर पठाइन्छ भने रिपोर्ट नभएका यात्रुलाई क्वारेन्टिनमा पठाइन्छ ।

अब भने एउटै जहाजमा पीसीआर नेगेटिभ भएका र परीक्षण नगरेका यात्रुलाई ल्याउन पाइने छैन । यसरी ल्याएमा सबै जिम्मेवारी सम्बन्धित वायुसेवा कम्पनीको हुनेछ । अर्थात् सबै यात्रु अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ र त्यसको खर्च वायुसेवा कम्पनीले बेहोर्नु पर्नेछ ।

नियमित उडानका बीचमा पनि पीसीआर परीक्षण नहुने मुलुकमा भने सरकारले चार्टर्ड उडान गर्दैछ । सेप्टेम्बर महिनाभर यस्तो उडान जारी रहनेछ । पीसीआर रिर्पोट नभएका यात्रु भने सबै अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । यसबाहेक विदेशबाट गैरआवासीय नेपालीलाई एकाघरमा कुनै मानिस गम्भीर बिरामी भएको वा मृत्यु भएको अवस्थामा आउन दिने नीति सरकारले लिएको छ ।

नेपालमा अध्ययनरत विदेशी विद्यार्थी र विदेश विकास साझेदारका प्रतिनिधि कर्मचारीलाई समेत अब नेपाल आउने बाटो खुलेको छ । संयुक्त राष्ट्रसंघ र यस मातहतका निकाय तथा कुटनीतिक नियोगका कर्मचारी, प्रतिनिधि र उनीहरुको परिवारका सदस्यलाई पनि नेपाल आउने अनुमति प्राप्त भएको छ । उनीहरुले भने सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट भिसा र अनुमति भने लिनुपर्नेछ ।

पीसीआर रिर्पोट नेगेटिभ

अब नियमित उडानबाट नेपाल आउने हरेक यात्रुको पीसीआर नेगेटिभ आएको रिपोर्ट अनिवार्य बुझाउनु पर्छ । त्यो पनि ७२ घण्टा भित्रको । पीसीआर नेगेटिभ सुनिश्चित भएपछि मात्र सम्बन्धित वायुसेवाले यात्रुलाई बोर्डिङ पास दिनुपर्ने व्यवस्था गरिएको छ ।

घर जान पाइने शर्त

एउटै उडानबाट आएको सबै यात्रुको साथमा पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट भएमा सबै घर जान सक्नेछन् । घर गएपछि भने अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्नेछ ।

यस्ता यात्रुको अनुगमन स्थानीय तह र स्थानीय तह कोभिड १९ व्यवस्थापन केन्द्रले गर्नेछ । यात्रुले आफ्नो स्वास्थ्य अवस्थाको जानकारीसमेत सम्बन्धित स्थानीय तह र केन्द्रमा नियमित जानकारी गराउनुपर्ने गरी शर्त राखिएको छ ।

अनलाइन फाराम अनिवार्य

नियमित उडानबाट आउने सबै यात्रुले जहाज चढ्नुभन्दा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वेवसाइटमा राखिएको र्फम भरेर त्यसको बारकोड वा पि्रन्ट अनिवार्यरुपमा ल्याउनु पर्नेछ ।

कुनै यात्रुले यस्तो फारम भर्न छुटाएको भए सम्बन्धित वायुसेवा कम्पनीले अनबोर्ड गर्दाकै समयमा फारम यात्रुलाई उपलब्ध गराउनु पर्ने शर्तसमेत राखिएको छ ।

एउटै जहाजमा ल्याउन नपाइने अवस्था

वायुसेवा कम्पनीले एउटै जहाजबाट पीसीआर नेगेटिभ आएको र परिक्षण नै नगरेका यात्रुलाई ल्याउन पाउने छैनन् । कुनै वायुसेवा कम्पनीले मिसाएर ल्याएमा उक्त वायुसेवाले आफ्नो खर्चमा उक्त उडानका सबै यात्रुलाई सात दिन होटेल क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ ।

परीक्षण नगरेका यात्रु ल्याए कारवाही

सरकारले पिसिआर परीक्षण सम्भव नहुने नेपालीहरु रहेका स्थानमा चार्टर्ड उडान राखेको छ । तर, नियमित उडानमा भने अब पिसिआर नभएका, कोरोना पोजेटिभ देखिएका र सरकारले जारी गरेको शर्त पालना नगरी यात्रु ल्याएमा भने त्यसको सजाय वायुसेवा कम्पनीले पाउने भएका छन् । त्यसरी ल्याएमा एकातर्फ कानुनअनुसार कारवाही हुने र अर्कोतर्फ यात्रुको खर्चसमेत एयरलाइन्सले भर्नुपर्ने गरी शर्त राखिएको छ ।

विदेशीको हकमा परिचयपत्र अनिवार्य

सरकारले पहिलो चरणको नियमित उडानका दौरान विदेशबाट नेपाली नागरिकबाहेक कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई मात्र आउन अनुमति दिएको छ ।

यस्ता व्यक्तिलाई बोर्डङ पास दिने क्रममा परराष्ट्र मन्त्रालय, कन्सुलर विभागले जारी गरेको परिचयपत्र र पासपोर्ट हेर्नु पर्नेछ । कन्सुलर विभागले जारी गरेको परिचयपत्र नभएमा आफु कार्यरत संस्थाले जारी गरेको परिचयपत्रलाई आधार मानेर वायुसेवा कम्पनीले जहाज चढाउन सक्ने भएका छन् ।

भिसाको जिम्मा विभागलाई

कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई दिने भिसाको सम्बन्धमा भने अध्यागमन विभागको निर्देशन अनुसार निर्णय हुने भएको छ ।

विभागले अहिले अनअराइभल भिसा बन्द गरेका कारण भिसा लिन भने सम्बन्धित मुलुकस्थित नेपाली नियोगमा सम्पर्क गर्नुपर्छ ।

नियुक्ति पत्रबाट छुट

कुनै पनि कुटनीतिक वा पदीय जिम्मेवारी सम्हाल्न पहिलो पटक नेपाल आउने व्यक्तिको हकमा निजको नियुक्ति पत्र र पासपोर्टलाई आधार मानेर यात्राको अनुमित दिइने भएको छ । यस्ता व्यक्तिको पनि पीसीआर परीक्षणसहित अन्य प्रावधान भने नेपालीलाई सरह लागू हुनेछ ।

स्वास्थ्यको मापदण्ड अनिवार्य

नेपाल आउने सबै यात्रुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्ने भएको छ । उता, वायुसेवा र विमानस्थलका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टै निर्देशन समेत जारी गरेका छन् । वायुसेवा कम्पनीले ती निर्देशनको समेत पालना गर्दै यात्रु नेपाल ल्याउन पाउने छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाट छनोट भएका होटेलको सूचि सार्वजनिक भइसकेको छ । क्वारेन्टिनमा बस्नै पर्ने यात्रुले अग्रीम होटेल बुकिंग गर्नुपर्नेछ । सरकारले रोक्ने निर्देशन दिएको समयमा जुनसुकै बेला पनि चार्टर्ड तथा नियमित उडान बन्द हुन सक्ने समेत मन्त्रालयले राखेको शर्तमा उल्लेख छ ।

अनलाइन खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent