मुख्यमन्त्रीको दौड सुरु

प्रदेशसभाको सिट बाँडफाँट नटुंगिँदा वाम गठबन्धनका मुख्यमन्त्रीका सम्भावित दाबेदारमा पनि अन्योल देखिएको छ । एमाले र माओवादी केन्द्र दुवैले आफूले मुख्यमन्त्री पाउनेगरी प्रस्ताव गरेका छन् ।

प्रदेशसभामा पार्टीको सम्भावित विजय स्थितिबारे ढुक्क हुन नसकेर चर्चित नेताहरू प्रदेशभन्दा प्रतिनिधिसभामा जान इच्छुक देखिएका छन् । माओवादी केन्द्रबाट सम्भावित भनिएका शक्ति बस्नेत प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । त्यस्तै, जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दिँदैछन् भने महेन्द्रबहादुर शाही कालिकोटबाट सिफारिस भएका छन् ।

चर्चामा रहेकामध्ये नेता नरेश भण्डारी मुख्यमन्त्रीको दौडमा छन् । उनी जुम्लाबाट प्रदेशसभा निर्वाचनका लागि सिफारिस भएका छन् । ‘साथीहरूले मुख्यमन्त्रीमा मलाई अघि सार्दै हुनुहुन्छ । मेरो पनि दाबेदारी छ,’ भण्डारीले भने ।

एमालेमा पोलिटब्युरो सदस्यहरू यामलाल कँडेल, प्रकाश ज्वाला र गोरखबहादुर बोगटी चर्चामा छन् । कँडेल सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेशसभाको प्रत्येक्ष निर्वाचनका लागि सिफारिस भएका छन् । बोगटी हुम्लाबाट प्रदेश समानुपातिकमा सिफारिस छन् भने ज्वालाको सिफारिस विवादमा परेको छ ।

त्यसैले कँडेललाई एमालेका तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार ठानिएको छ । ‘प्रदेशसभाको चुनावका लागि भएका सिफारिसअनुसार पार्टीले मलाई अघि सार्ने सम्भावना छ,’ कँडेलले भने । कांग्रेस नेता पूर्णबहादुर खडकाले मुख्यमन्त्रीमा खासै चासो देखाएनन् । बरु केन्द्रीय सदस्य जीवनबहादुर शाहीले इच्छा देखाएका छन् । उनी हुम्लाबाट प्रदेशसभाका लागि सिफारिस भएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार