प्रचण्ड र केपीले भने चुनाव सार्न मिल्दैन

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावविरुद्ध अन्यौल सिर्जना नगर्न अपिल गरेका छन् ।

काठमाडौंमा बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया अगाडि बढिसकेकाले त्यसविरुद्ध भ्रम र अन्यौल नपार्न अपिल गरेका छन् । ‘निर्वाचनलाई घोषित समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरु तथा नेपाली जनताको साझा कर्तब्य हो,’ संयुक्त पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचन प्रक्रिया तीब्र रुपमा अगाडि बढ्दै उम्मेदवारहरु प्रचार प्रसारमा जुटिरहेको स्थितिमा निर्वाचनका सम्बन्धमा कहीं कतैबाट पनि कुनैपनि किसिमको भ्रम, अन्योल र अवरोध सिर्जना हुनुहुँदैन ।’

वाम गठबन्धन बनाएर चुनावी अभियानमा सँगै निस्किएका ओली र दाहालले चुनाव प्रभावित भए लोकतान्त्रिक अभ्यास अवरुद्ध हुने, लोकतान्त्रिक प्रणाली कमजोर हुने उल्लेख गरेका छन् ।

एमाले र माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग हुने मतपत्रका सम्बन्धमा अनावश्यक वहस विवादमा नअल्झन पनि आग्रह गरेका छन् । उनीहरुले सर्वोच्च अदालतको आदेशलाई अनावश्यक ब्याख्या गरेको भन्दै असन्तुष्टि जनाउ ।

‘निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने र समानुपातिक प्रणालीका उम्मेदवारका लागि अलग–अलग मतपत्रको ढाँचा तयार गरी मतपत्र छपाईको कार्य अगाडि बढाइसकेको छ,’ संयुक्त विज्ञप्तीमा लेखिएको छ, ‘मतपत्रको उक्त ढाँचाबाट कुनैपनि नागरिक या मतदाताको कुनै संवैधानिक, कानुनी, मौलिक तथा नागरिक हकको प्रयोगमा वाधा नपुग्ने, मतपत्र मार्फत् मतदाताले आफूले मन पराएको दल या उम्मेदवार छनोट गर्न र तत्सम्बन्धी निजको गोपनीयतामा कुनै व्यवधान नपुग्ने तथ्य स्पष्ट छ ।’

आगामी माघ ७ गते अगावै निर्वाचनका सम्पूर्ण कामहरु सम्पन्न भई संसद गठन भइसक्नु पर्ने उललेख गर्दै एमाले र माओवादीले आगामी मङ्सिरका लागि तय गरिएको निर्वाचन मौसमका कारणले पनि पर सार्नु सम्भव र उचित नभएको धारणा राखेका छन् । ‘मंसिरमा हुने निर्वाचनलाई कुनै पनि निहुँमा सार्ने, टार्ने वा बिथोल्ने काम–कुरा लोकतान्त्रिक अभ्यासका विरुद्ध तथा नेपाल र नेपाली जनताको हित विपरीत हुनजान्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने र जनतामा अन्योल र संशय उत्पन्न हुने कुनैपनि किसिमको काम–कुरा नगर्न हामी सम्बद्ध सबैलाई आग्रह गर्दछौ ।’

पत्रकार सम्मेलनमा ओली, दाहालसहित एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भूसालगायतको उपस्थिति थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार