याङगोन, ११ मंसिर (रासस÷एएफपी) बौद्धधर्मावलम्बीहरूका बलियो प्रभाव रहेको देश म्यानमारमा सोमबार पोप फ्रानसिस पुग्नुभएको छ ।
रोहिङ्ग्या मुसलमान समुदायलाई लिएर विश्वभरि आलोचना भइरहेको यस अवस्थामा पोपको भ्रमणलाई उच्च प्राथमिकताका साथ हेरिएको छ ।
पोपको योङ्गोन विमानस्थलमा अत्यन्त उल्लासपूर्ण रुपमा स्वागत भएको छ । चार दिनको भ्रमणमा म्यानमार पुग्नुभएका पोपले अल्पसंख्य रोहिग्यालाई राम्रो व्यवहार गर्न आग्रह गर्नुभएको छ । उहाँले उक्त समूहलाई दाजुभाइ र दिदीबहिनी भनी सम्बोधन गर्नुभएको छ ।
म्यानमारमा प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीसँग पनि पोपले भेटवार्ता गर्न लाग्नुभएको छ । प्रजातन्त्र ल्याउनको लागि गरेको सुकीको योगदान संसारलाई थाहा भएकै कुरा हो ।
म्यानमारको विदेशमन्त्री मात्र होइन, म्यानमार सरकारको राज्य सल्लाहकार पदमा रहनुभएका सुकीको अहिलेको त्यो भूमिका ती निरीह शरणार्थीका लागि भने केही काम लागेको छैन ।
यद्यपि गत बिहीबार बङ्गलादेश र म्यानमारबीच रोहिङ्ग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको ढाकाले जनाएको छ ।
विश्वबाट म्यानमारको रोहिङ्ग्या शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेको समय म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकी र बङ्गलादेशका विदेश मन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा भएको बैठकले रोहिङ्ग्या शरणार्थीलाई फर्काउने प्रयासस्वरूप दुई महिनाभित्र पहल शुरु गर्ने सहमति भएको थियो ।
अन्तरराष्ट्रिय समाचार समितिले यस समाचारलाई ठूलो प्राथमिकतासाथ प्रशारण थियो । तर यसको मिति भने तय भएको छैन । नत उता म्यानमार सरकारले सशस्त्र उनीहरूलाई आफ्नो थातथलोमा पुनःस्थापना गर्ने बाचा सार्वजनिक गरेको छ ।
हामीले उनीहरूलाई घर छोड्न बाध्य पारेको होइन, त्यसैले हामी आउ या जाउ पनि भन्न सक्ने अवस्थामा छैनौँ, यस्तै यस्तै हुने गर्दछ म्यान्माली अधिकारीको प्रतिक्रिया गहदै आएको छ ।
म्यान्माली शरणार्थीहरूले बङ्गलादेशको तटीय सहर कोक्स बजारमा यतिखेर पाइला टेक्ने ठाउँ पनि छैन । यहाँको अस्थायी शिविर जस्तापाताले छाएको ठूलो सहरझैं भान हुन थालेको छ ।
म्यानमारको उत्तरी राखिन राज्यमा बसोबास गर्दै आएका म्यान्न्माली रोहिङ्ग्या मुस्लिम समुदायका लाखौँ नागरिक भागेर बङ्गलादशेमा शरणार्थीको रुपमा बसिरहेका छन् ।
उक्त समुदायमाथि म्यानमारको सरकारी सैनिकले आक्रमण गर्दा उनीहरू भाग्नुपरेको उनीहरूको भनाइ छ । म्यानमार सरकार भने यस्तो केही नभएको भन्दैछ । संयुक्त राष्ट्र संघका अनुसार म्यानमारको राखिन राज्यबाट गत अगस्त २५ बाट भागेका रोहिङ्ग्या मुसलमानको सङ्ख्या छ लाख २० हजार रहेका छन् ।
तर सुकीले भने देशबाट रोहिङ्ग्या नामको एक जातिका नागरिक लखेटिएर विदेशमा शरणार्थी बन्नु परिरहेको दृश्य हेरिमात्र रहनुभएको भने विश्वले आरोप लगाउँदै आएको छ ।
यस रोहिङ्ग्या मुस्लिम जातिविरुद्धमा भएको हिंसालाई म्यानमार सरकारले नै जातिभेद नीति लिएको विश्व मानवअधिकार संस्था, एम्नेष्टी इन्टरनेशनलले दाबी गरेको छ । म्यानमारबाट लखेट्ने क्रममा त्यहाँको सेनाले उनीहरूका विरुद्धमा जातीय सफायाको नीति लिएको उक्त मानवअधिकारवादी संस्थाको आरोप रहेको छ ।
एम्नेष्टी इन्टरनेशनलले हालैमात्र सार्वजनिक गरेको १०० पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा प्रश्न गरिएको छ । रोहिङ्ग्या जातीय समुदायलाई म्यानमारमा विगत लामो समयदेखि नै राज्यले विभेद गर्दै आएको र त्यसका विरुद्धमा उनीहरूले पनि सशस्त्र संगठन खोलेको पनि सो प्रतिवेदनमा उल्लेख छ ।
–––