कालापानीको विकल्पमा बंगलादेश जाने सिधा बाटोबारे सोच्न सकिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र छाडेर पूर्वी नाकाबाट सिधा बंगलादेश जाने बाटो लिन सकिने विकल्प नेपालसँग रहेको बताएका छन्।

भारतको चार दिने भ्रमणमा रहेका उनले शुक्रबार दिल्लीमा नेपालका सञ्चारकर्मीहरुसँग उनले सीमा समस्या समाधानका लागि यो विकल्पमा कुरा सुरु भएको बताएका हुन्। 

‘दुई देशबीच रहेको सीमा समस्याबारेमा यस पटक अलिक गम्भीर कुरा भएको छ। भारतीय मिडियामा पनि कालापानीबारे चर्चा भएको छ। त्यसको समाधान गर्नुपर्छ भनेर त लेखेकै छन्’, उनले भने, ‘हामीले भारतीय पक्षसँग छलफल गर्दा विभित्र विकल्पमा कुरा भएको छ। एउटा त बंगलादेशको जस्तै विकल्प छ। बंगलादेश र भारतबीच लामो समयदेखि समस्या थियो, तर उनीहरूले हल गरे। एउटा त्यो मोडेल हुन सक्छ।’ 

प्रचण्डले नेपाली विज्ञहरुले यदि भारतले  कालापानी क्षेत्र छाड्न नसक्ने हो भने नेपाललाई पूर्वी सीमाबाट सिधा बंगलादेश पुग्ने बाटोबारे पनि चर्चा गरेको परिप्रेक्षमा त्यो विकल्पबारे पनि सोच्न सकिने बताए। 

नेपाली सञ्चारकर्मीहरुसँगको संवादका क्रममा प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त

‘अर्को चाहिँ बंगलादेशसम्म सिधै जाने बाटो हामीलाई चाहिएको छ भन्ने कुरा नेपालले उहिल्यैदेखि उठाइरहेको छ। त्यो हाम्रो आवश्यकता पनि हो र चाहना पनि हो’, उनले भने, ‘त्यसबारेमा कहीँ म्यानेज गर्न सक्ने हो भने पनि एउटा हल हुन सक्छ। हाम्रा विज्ञहरूको सुझाव त्यो आउने पनि गरेकै छ। नेपालमा विज्ञहरूले त्यतापट्टी (पूर्वी नाका) पाउने हो भने पनि ठीकै छ भनेका छन्, त्यो पनि विकल्प हुन सक्छ। अथवा अरू विकल्प पनि हुन सक्छन्।’ 

प्रचण्डले यसअघि नेपालको दाबीबारे इन्कार गर्दै आएको भारतले यस पटकदेखि कालापानीबारे सोच्न थालेको बताएका छन

‘कालापानीबारे विकल्पहरू सोच्न सुरू भएको छ हिजोबाट। विकल्पबारे सोच्न सुरू हुनु नै ब्रेक थ्रु हो। त्यसैले गर्दा त मोदीजी बोल्नु भयो आफैँले यो हल गर्नु पर्छ भनेर’, उनले भने, ‘प्रधानमन्त्री मोदीजीमा पनि यो र्‍यासनल नै हो, यसलाई राखिरह्यो भने नेपाल-भारत सम्बन्ध कहिले पनि सुध्रिने भएन भन्ने परेको छ। जहिले पनि लिपुलेक, कालापानी भन्यो अनि त्यसैमा अल्झिरहने भयो।’

पश्चिमी क्षेत्रको सीमा समस्या हल गर्न सकेमा अरु विषयमा अघि बढ्न सकिने पनि उनले बताए। ‘यसलाई हल गर्यो भने अरू इकोनोमिक, कल्चरल सम्बन्ध त छँदैछ हामीबीच’, उनले भने, ‘यसकारण हिजोबाट विकल्पहरू के के हुन सक्छन् त भन्नेमा गइसक्यो। अथवा त्यहीँ (कालापानी) पनि केही गर्न सकिन्छ त भन्ने पनि छँदैछ। हिजोबाट बाउन्ड्रीबारे सकारात्मक, कन्सट्रक्टिभ डिबेक्ट सुरू भयो।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent