चीनको प्रगतिले विश्वका जनता लाभान्वित हुने आशा

भक्तपुर, १६ पुस (रासस) ः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विश्वमा नयाँ युद्धको खतरा बढेको बताउनुभएको छ ।

नेपाल प्राध्यापक समाजले यहाँ आयोजना गरेको ‘समाजवादी आन्दोलनको विगत र वर्तमान’ विषयको प्रवचन कार्यक्रममा उहाँले संयुक्त राष्ट्र संघले प्रजग कोरियामाथि झन् कडा नाकाबन्दी लगाएकामा विरोध गर्दै तेल ढुवानीसमेत प्रतिबन्ध लगाउनाले युद्धको खतरा बढेको बताउनुभयो ।

रुसी कम्युनिष्ट नेता स्टालिन र चिनियाँ कम्युनिष्ट क्रान्तिका नेता माओत्सेतुङको जन्म दिवस र क्युबाली स्वतन्त्रता दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा बिजुक्छेले इजरायलको राजधानी जेरुसेलम बनाउन विशेषाधिकार प्रयोग गरेका कारण भीडन्त अझ चर्किने बताउनुभयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं नवनिर्वाचित सांसद प्रेम सुवालले नेकपा( एमाले) नेपाली काँग्रेसकै बाटामा हिँडेकाले क्रान्तिकारी हुन नसक्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष एवं प्रदेशसभाका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसार्इंले माओको क्रान्तिको जगमा टेकेको चीनको प्रगतिले विश्वका जनता लाभान्वित हुने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा समाजका अध्यक्ष सरोजराज गोसार्इं र उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ तथा सदस्य चक्रबहादुर चाकतु र सुजन माकले समाजवादी क्रान्तिको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
–––

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent