‘निर्वाचन आयोगले मत परिणाम सार्वजनिक नगरे आन्दोलन’

काठमाडौं: वाम गठबन्धननिकट युवाहरुले प्रतिनिधि सभा र प्रदेशसभाको समानुपातिकतर्फको मत परिणाम तत्काल सार्वजनिक नगरे आन्दोलन थाल्ने जनाएका छन् ।

मत परिणाम सार्वजनिक गर्न भएको ढिलाइबारे ध्यानाकर्षण गर्न सोमबार निर्वाचन आयोगमा पुगेका वाम गठवन्धनका युवा र विद्यार्थी संगठनका नेताले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई यस्तो चेतावनी दिएका हुन् ।

निर्वाचन आयोगमा एमाले र माओवादीनिकट भातृ संगठनहरु युवा संघ नेपाल, अनेरास्ववियु, योङ कम्युनिष्ट लिग नेपाल र अनुरास्ववियु क्रान्तिकारीका नेताहरु पुगेका थिए । उनीहरुले मत परिणाम तत्काल सार्वजनिक गर्न मागसहित आयोगमा ज्ञापनपत्र पनि बुझाएका छन् ।

उनीहरुले प्रमुख निर्वाचन आयुक्त यादवलाई ज्ञापनपत्र बुझाउँदै मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिएका थिए । मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेमा आफूहरु आन्दोलित हुने चेतावनी पनि उनीहरुले दिएका छन् ।

आयोगमा भएको छलफलका क्रममा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले विदेशीको इसारामा वाम गठवन्धन फुटाउने खेल भएको बताउँदै नयाँ सरकार बनाउन नदिने पनि प्रयास भएको उल्लेख गरिन् ।

उता प्रमुख निर्वाचन आयुक्त डा यादवले भने आफुहरुको बाध्यता र जटिलता बुझिदिन आग्रह गर्दै मत परिणाम सार्वजनिक गर्ने काममा जुटिरहेको स्पष्टिकरण दिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार