काठमाडौँ, २४ पुस (रासस) ः सर्वोच्च अदालतले अवहेलनाको मुद्दामा वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले आज अवहेलनाको मुद्दामा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको हो ।
आदेशमा ‘अदालतबाट भएको फैसलाविरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति गरेको देखिँदा निज डा केसीलाई अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी पुस २५ गते बिहान ९ बजे अदालतमा हाजिर हुन उपस्थिति गराउनू’ भनिएको छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डीन प्रा डा शशी शर्मालाई आइतबार पुनःवहाली गराउने अदालतको फैसलाविरुद्ध डा केसीले आजदेखि अनसन शुरु गर्नुभएको थियो ।
आज अनसन शुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा डा केसीले न्यायमा किनबेच भएको आरोप लगाउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको समेत माग गर्नुभएको थियो ।