कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

आज चार वटा प्रदेशको एकै दिन प्रदेशसभा वैठक, सुरक्षा व्यवस्था कडा

प्रदेश–२ मा दौरा सुरुवाललाई निषेध !

मधेस केन्द्रित दलको बाहुल्य रहेको प्रदेश २ मा मर्यादापालकलाई दौरा सुरुवाल निषेध गरिएको छ । सांसदहरुले सुविधा अनुसारको पोशाक लगाउने छन् । प्रदेश– २ को प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सांसद लगनलाल चौधरीले गर्ने छन् । सभामुख चयन नभएसम्म जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने प्रावधानअनुसार ७५ वर्षीय चौधरीले आइतबारको बैठकको अध्यक्षता गर्ने भएका हुन् । प्रदेशसभाले नयाँ सभामुख चयन नगरेसम्म प्रदेशसभा चलाउने जिम्मा उनैको हुनेछ । १९ माघमा भएको सपथ ग्रहण कार्यक्रममा ४७ जनाले मैथिली, २५ जनाले भोजपुरी, २४ जनाले नेपाली र ११ जनाले हिन्दीमा शपथ लिएका थिए ।

प्रदेश ५ को प्रदेश सभा बैठकको अध्यक्षता ७९ वर्षीय बलदेव शर्मा पोखरेलले गर्नेछन् । प्रदेश ५ को सभामुख चयनका लागि २८ माघमा निर्वाचन गर्ने मिति प्रस्ताव गर्ने कार्यसूची रहेको छ । उद्योग वाणिज्य संघको भवनलाई प्रदेश सभा भवनको रुपमा प्रयोग गरिएको छ । रातभर पनि कर्मचारीहरु बैठकको व्यवस्थापन मिलाउन खटिएका थिए ।

प्रदेश ५ मा बर्दिया, बाँके, दाङ, पूर्वी रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, पाल्पा, रुपन्देही र पश्चिम नवलपरासी पर्दछन् । ति जिल्लाका अधिकांश सांसद अघिल्लो दिन नै बुटवल आइसकेका छन् । पहिलो बैठकमा आएका सांसदहरुका लागि स्थानीय होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले खाना र आवासमा २० प्रतिशत छुट दिएका छन् ।

प्रदेश ६ को बैठक तयारी पूरा

प्रदेश ६ को बैठकको लागि सुर्खेतमा पनि तयारी पूरा भएको छ । प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य हिमबहादुर शाहीले गर्नेछन् । बैठक आइतबार दिउँसो १ बजे बोलाइएको छ । बैठकको सुरुमा राष्ट्रियगान बजाउने, शहीदहरुको सम्मानमा एक मिनेट मौन धारण गर्ने र प्रदेश प्रमुखले पठाएको बैठक आह्वान सम्वन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
ज्येष्ठ सदस्य शाहीले लिखित मन्तव्य राख्ने तयारी गरेका छन् । त्यसपछि प्रदेश सांसदहरुले संक्षिप्त मन्तव्य राख्नेछन् । प्रदेश ६ मा एमालेका २०, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठक ज्येष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बस्ने छ । सभाहल तयार पार्न कर्मचारी र कामदारहरु रातभरी खटिएका थिए । बैठकस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठक कक्षभित्र पनि ३० जना मर्यादापालकलाई खटाउने तयारी गरिएको छ । बैठकको दृष्य प्रदेशसभा हल बाहिर टेलिभिजनबाट प्रत्यक्ष प्रशारणमार्फत देखाइने छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार