काठमाडौं,२९ माघ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपीमा विश्वराज पोखरेलको काजसरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनलाई परिसरमा खटाएको छ ।
एसएसपीद्वय विश्वराज पोखरेल र रविन्द्रसिंह धानुक
काठमाडौं परिसरका प्रमुख रविन्द्रसिंह धानुकलाई संघीय प्रहरी कार्यालय धवलागिरी सरुवा गरिएको छ । महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द र काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी धानुकबीचको तिक्तताका कारण उपत्यकाको शान्ति सुब्यवस्थामै असर परेपछि नयाँ एसएसपी पठाइएको स्रोतले बताएको छ । एआइजी चन्द र एसएसपी धानुकबीचको सम्बन्ध तिक्त रहँदैआएको छ ।
पछिल्लो पटक एआइजी चन्द र एसएसपी धानुकलाई आपसमा समन्वय गर्न आइजीपी प्रकाश अर्यालले निर्देशन दिए । तर पनि चन्द र धानुकबीच समन्वय हुन नसकेका कारण आयुक्त र परिसरबीच तिक्तता हट्न सकेको थिएन ।
एआइजी चन्द र एसएसपी धानुकबीच एकले अर्कोलाई प्रहरी नीति विरुद्ध आर्थिक चलखेलमा लागेको भन्दै आरोपप्रयारोप चल्दैआएको छ । आयुक्त कार्यालय र परिसरका हाकिमबीचको तिक्तता बढेपछि केही दिनदेखि एसएसपी धानुक बिदामा बसेका थिए ।
धानुक बिदामा बसेपछि प्रहरी प्रधान कार्यालयले एसएसपी विश्वराज पोखरेललाई परिसरको प्रमुखमा सरुवा गरेकोे छ । यद्यपि प्रहरी प्रवक्ता डीआइजी मनोज न्यौपानेले आइतबार बेलुकासम्म पनि एसएसपी पोखरेलको सरुवा नभएको बताइरहेका थिए । एसएसपी पोखरेल काठमाडौं परिसरमा सरुवा भएको कुरा आफूलाई जानकारी नभएको प्रतिक्रिया उनले दिएका थिए । उनले भने–साँझ ६ बजेसम्म उनको सरुवा भएको छैन ।’
एआइजीसँग कुरा नमिलेपछि धानुक सरुवा भएको बताइएको छ । तर प्रहरी स्रोत भने सांसद नवराज सिलवालविरुद्ध मुद्दा दर्ता गर्न आइजीपी अर्यालले चर्को दबाब दिएकाले उनी बिदा बसेको बताउँछ ।
एआइजी चन्दका घुमुवा टोलीका कमाण्डर एसपी ओम रानाले रातो प्लेटको टाटा सुमो लिएर म्यानपावर दलाल, जग्गा दलालदेखि विभिन्न कारोबारीहरुसँग डिल गर्ने गरेको गुनासो परिसरमा पुग्ने गरेको छ । एआइजी चन्दले एसपी रानाको कमाण्डमा सई डम्बर श्रेष्ठलाई समावेश गरी असुली गर्दैआएको आरोप छ । एसपी रानाको टोलीका असई रमेशकुमार खड्कालाई केही दिनअघि घुस लिंदालिंदै अख्तियारको टोलीले पक्राउ गरेको थियो ।