एमाले-फोरम वार्ता सहमतिनजिक : तीन विषयमा सहमतिको तयारी

काठमाडौँ — उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने निश्चित भएको छ । सत्तारुढ एमालेसँगको वार्ता सहमतिनजिक पुगेसँगै फोरम सरकारमा सहभागी हुने निश्चित भएको हो ।

वार्तामा सहभागी एमालेका एक नेताका अनुसार फोरमले संविधान संशोधनलाई ‘फेस सेभ’का लागि अडान यथावत् राखेको छ। ‘संविधानमा बीचको बाटो खोल्ने सहमति भएको छ,’ ती नेताले भने, ‘दुवै नेताहरु (प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल) सकारात्मक हुनुहुन्छ।’
तीनविषयमासहमतिको तयारी गरिएपनि अन्तिम रुप दिइएको छैन। ‘यसअघि भएका छलफल र सहमतिका विषयहरु यथावत् छन्,’ वार्तामा सहभागी संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘आज धेरै प्रगति हुन सकेन।’ उनले छलफललाई चाँडै टुंग्याउने सहमति भएको बताए।
फोरमले संविधान संशोधनसँगै परराष्ट्रसहित तीन मन्त्रालय माग गरेको छ। एमालेले भने परराष्ट्रसहित दुई मन्त्री दिने वचन दिएको छ। पछि एमाले र माओवादी केन्द्रले सम्हालेका मन्त्रालयमा राज्यमन्त्री राख्दा दुवै मन्त्रालयमा फोरमले राज्यमन्त्री राख्ने छुट पाउनेछ।
फोरम अध्यक्ष उपेन्द्र यादव सोमबार नै सरकारमा सहभागी हुन तयार भए पनि एमाले र माओवादीबीचको आन्तरिक मन्त्री चयन लम्बिंदा रोकिएको थियो। उनले सोमबार प्रधानमन्त्री र माओवादी अध्यक्ष दाहालसँग भेट गरेका थिए। भेटपछि यादवले कान्तिपुरसित भनेका थिए, ‘छलफलमै छौं, सहमतितिर कुरा अघि बढेको छ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार