बलात्कारमा संलग्नलाई चोख्याउन खोज्नेलाई पनि कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले एक हप्ताअघि बलात्कारमा परेकी आठ वर्षीय बालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। शुक्रबार राजधानीको ग्रिनसिटी अस्पतालमा पुगेर मन्त्री थापाले पर्सामा बलत्कारमा परेकी बालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

गृहमन्त्री थापाले बालिकाको उपचारमा संलग्न चिकित्सिकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै पनि कमी नगर्न आग्रह गरेका छन्। उनले उपचारमा सरकारले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।

बादलले बलात्कारमा संलग्न सबैलाई कडा कारबाही हुने प्रतिबद्धता पीडितका परिवारसँग व्यक्त गरेका छन्। आफू गृहमन्त्री भएपछि बलात्कारका घटनामा गम्भीर अनुसन्धान गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिएको बादलको भनाइ छ।

बलात्कारमा संलग्नलाई चोख्याउन खोज्नेलाई पनि कारबाही हुने चेतावनी मन्त्री बादलले दिए। ‘बलत्कार जघन्य अपराध हो’, मन्त्री बादलले भने, ‘अब बलात्कार जस्तो आपराधिक कार्यमा संलग्न अपराधिलाई चोख्याउन खोजिए त्यस्तालाई पनि कारवाहीको दायरामा ल्याउँछौँ।’

फागुन १६ गते बलत्कारमा परेकी बालिकाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आइतबार राजधानीमा ल्याएर उपचार भइरहेको छ। बलात्कारमा संलग्नको खोजी भइरहेको बताएको प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ।

ग्रिनसिटी अस्पतालले मानवीयताका आधारमा बालिकाको निशुल्क उपचार गरिरहेको बताएको छ। अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले बालिकाको उपचारमा अस्पतालले कुनै कन्जुस्याइ नगरेको बताए। उपचारमा संलग्न चिकित्सकले बालिकाको स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार