मार्च १२ मा काठमाडौंमा यूएस–बङ्ला विमान दुर्घटना भएपछि केही पाइलटहरूलाई यसले भित्रैबाट हल्लाएको छ । केहीले अब जाग्नुपर्ने भनेर पाइलटहरू माझमा एकताबद्ध गर्न खोजेको देखिन्छ । साथै व्यवस्थापनको दबाबमा नियमित रूपमा सम्झौता गर्नेहरू पनि दबाब अस्वीकार गर्न थालेका छन् ।
यीमध्ये केही पाइलटले ‘द डेली स्टार’लाई म्यासेज पठाइरहेका छन् । केहीले विमान कम्पनीहरू आफ्नो फाइदाका लागि पाइलटहरूलाई बढी काम गराइरहेको विषय समाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । यो विषयले पाइलटहरूमाझ चर्चा पाएको छ ।
तिनका अनुसार विमान कम्पनीहरूले नियमले विमान उडाउन नमिल्ने अवस्थामा पनि उडाउन बाध्य गर्छन् । कहिलेकाहीँ त तिनले आफ्ना विमानमा रहेका कमजोरीहरू पनि लुकाउने गर्छन्, किनकि विमान थन्क्याउनु भनेको विमान कम्पनीलाई घाटा हुनु हो ।
‘हामी पाइलटहरूले प्रत्येक दिन मानिसको जीवन हत्केलामा लिएर हिँड्नुपर्छ, आफ्नो मात्र होइन सम्पूर्ण यात्रुहरूको । पाइलटहरूको जीवन मिडियाहरूले प्रस्तुत गर्नेजस्तो चमकधमकपूर्ण हुँदैन, यो पवित्र काम हो ।
‘द डेली स्टार’ले आधा दर्जनजति पाइलटसँग यससम्बन्धमा विस्तृतमा कुरा गर्यो । कसैले पनि व्यवस्थापनको कारवाहीमा पर्ने डरले आफ्नो परिचय सार्वजनिक गर्न चाहेनन् । यही कारणले यिनलाई स्वतन्त्र रूपमा पुष्टी गर्न सकिँदैन तर धेरै पाइलटबाट यो कुरा आइरहेकाले र यात्रुहरूको सुरक्षाका लागि हामीले यसमा विशेष चासो दिन आवश्यक ठान्याँै ।
गोप्य रूपमा व्यक्त गरिएको भए पनि तिनको धारणा र चासोलाई सरकार र बङ्लादेशी नागरिक उड्डयन प्राधिकरणले गभीरतापूर्वक अध्ययन गर्न आवश्यक रहेको हामीले ठानेका छौं ।
एक पाइलटले लेखेका छन्ः ‘मार्च १२ को जस्तो दुर्घटना ढिलोचाँडो हुनु नै थियो । निजी क्षेत्रमा रहेको सुरक्षा संस्कार अझ साही रूपमा भन्दा सुरक्षा संस्कारको अभाव निक्कै डर लाग्दो रहेको छ ।”
उनले विमान कम्पनीको व्यवस्थापनले उडान भर्न उपयुक्त नहुने बेला पनि विमान उडाउन लगाउने गरेको आरोप लगाए ।
अर्का पाइलटले लेखेका छन्ः ‘निजी विमान कम्पनीहरूले हामीलाई नियमित रूपमा न्यूनतम भिजिविलिटी भएको अवस्थामा, सीमान्त मौसम भएको गन्तव्यमा पनि विमान अवतरण गर्न बाध्य पार्छन् । तिनले आफ्ना विमानमा रहेका प्राविधिक कमजोरीहरूलाई बेवास्ता गर्छन् । कहिले काहीँ त राडार नभएको अवस्थामा पनि विमान अवतरण गर्न लगाउँछन् । निजी विमान कम्पनीमा पाइलटलाई इन्जिनियरिङ विभागमा जान निषेध गरिन्छ । तिनले विमानको खराबी बताइदिन सक्छन् र विमान ‘ग्राउन्डेड’ हुनसक्छ । विमान ‘ग्राउन्डेड’ हुनु भनेको विमान कम्पनीले घाटा बेहोर्नु हो ।’
‘जाडो महिनामा सरकारी विमान कम्पनीको विमान र अन्य विदेशी विमानहरू कमजोर ‘भिजिविलिटी’का कारण आकाशमा रोकिरहदाँ… (दुई विमान कम्पनीहरूको नाम) ले अवतरण गर्न लगाएको देखेको छु !’ उनले भने ।
अर्का एक पाइलटसँग यस्तै अनुभव रहेको छ । पछिल्लो डिसेम्बर उनलाई हुस्सु लागेको बिहानको समयमा विमान उडाउन बाध्य पारिएको थियो ।
‘टावरबाट न्यून ‘भिजिविलिटी’का कारणले विमान उडान अनुमति थिएन । मैले चितागोङतर्फ विमान उडान अस्वीकार गरेँ । लगतै मुख्य कार्यालयबाट फोन आयो । फोनमा मलाई हप्काइयो र तत्काल प्लेन उडान भनियो ।’ उनले भने ।
‘मेरा कामदार समयको एकदम ख्याल गर्छन् र एयरपोर्ट प्रशासनले उनको कुरा लागू गर्छ’, उनले अफ्ठ्यारो गरी हाँस्दै भने ।
धेरै पाइलटहरूले यूएस–बङ्लाको दुर्घटनाग्रस्त भएको विमानमा कम अनुभव भएको को–पाइलट पठाउने निर्णयमा पनि प्रश्न गरे । सस्तो दरको विमान कम्पनीहरूले पोख्त जनशक्तिलाई धेरै पैसा दिनुपर्ने भएकाले यस्तो खतरनाक काम गर्ने गरेको आरोप लगाइन्छ, जुन आरोपलाई विमान कम्पनीहरूले भने अस्वीकार गर्ने गर्छन् ।
एक कतार विमान सेवाका पाइलटले दुर्घटनाग्रस्त विमानका क्याप्टेन अविद सुल्तानले काठमाडौंजस्तो अफ्ठ्यारो विमानस्थलमा अवतरण र टावरसँग सञ्चार एक साथ गरेर गल्ती गरेको बताए ।
‘क्याप्टेन टावरसँग सञ्चार गरिरहेका छन् र विमान पनि उडाइरहेका छन् । दुर्घटना विमानमा रहेकी को–पाइलटको अनुभवहीनताले भएको हो (रिपोर्ट अनुसार को–पाइलटको यो पहिलो काठमाडौं उडान थियो ।)’
बङ्लादेशको सरकारी विमानसेवा ‘विमान बङ्लादेश’का एक अनुभवी पाइलटले लेखेका छन्, ‘मैले पहिले निजी क्षेत्रमा काम गरेका को–पाइलटबाट धेरै डरलाग्दा कथाहरू सुनेको छु । तिनले आफ्नो अनुभवलाई बढाइचढाइ गरेको मान्दा पनि, तिनको अनुभवको २५ प्रतिशत मात्रै पनि साँचो मान्ने हो भने पनि ती निक्कै खतरनाक रहेका छन् ।’
‘विमान बङ्लादेशले यस्तो अनुभवहीन को–पाइलटहरूलाई कोक्स बजारको विमानस्थलमा पनि उडाउन अनुमति दिँदैन !’ उनले अगाडि भने ।
निजी विमान कम्पनीहरूले विषम परिस्थितिमा पाइलटले विमान उडाउन गर्ने अस्वीकृतिलाई सुन्दै सुन्दैनन् ।
मध्यपूर्वको ड्रिमलाइनर विमान उडाउने एक क्याप्टेनका अनुसार निजी विमानमा काम गर्ने पाइलटहरूले असुरक्षित अवस्थामा विमान उडाउन अस्वीकार गर्दा कामबाट निकालिनुपर्ने अवस्था देखेको बताए ।
उनका अनुसार एक स्थानीय विमानसेवामा काम गर्ने एक पाइलटलाई धेरै थाकेको भनेर कामबाट निकालिएको थियो । जबकि उनको थकान धेरै उडान भरेका कारणले भएको थियो ।
अर्का पाइलटलाई गन्तव्य विमानस्थलमा आवश्यकताभन्दा कम स्तरको मौसम भएका कारणले उडान नभरेको भन्दै जागिरबाट निकालिएको थियो ।
अर्का एक बङ्ग्लादेशी पाइलटले बङ्लादेशी नागरिक उड्डयन प्राधिकरण र विमानसेवाभित्रै उजुरी र त्यसको कार्यान्वयनको अवस्था कमजोर रहेको बताए । विमान सेवाले सुरक्षा मामिलालाई प्रधिकरणमा रिपोर्ट गर्दैनन् र प्राधिकरणले पनि गरेको रिपोर्टको पनि कार्यन्वयन गर्दैनन् ।
‘द डेली स्टार’सँग कुरा गरेका पाइलटहरू प्राधिकरणका अधिकारीहरूको भूमिकालाई लिएर निक्कै आलोचक देखिए ।
‘तिनले नै नियमनकर्ताको आँखा र कानमा पट्टी लगाउँछन्’ टर्किस विमानसेवामा काम गर्ने पाइलटले आरोप लगाए । उनी आफै पनि केही वर्षअघि निजी विमान सेवामा काम गर्थे ।
‘तिनको पैसा र उपहारका लागि सम्झौता गर्छन् ।’ पाइलटले तित्तता पोखे ।
द डेली स्टारबाट अनुवाद