दुवै पार्टीलाई सहज हुनेगरी एकता : प्रचण्ड

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता गर्ने बताएका छन् । उनले एकतासम्बन्धी कार्यदलका प्रतिवेदनहरु आइसकेकाले त्यसलाई अब छिटै वाम एकता संयोजन समितिबाट टुंग्याएर एकता घोषणा गर्ने जानकारी दिए ।

माओवादी संसदीय दलको बुधबारको बैठकमा बोल्दै दाहालले एकतासम्बन्धी राजनीतिक प्रतिवेदनमा मत मिलिसकेको तर विधानका केही विषयमा भने मिलाउन बाँकी रहेको जानकारी दिए । एकीकृत पार्टीको केन्द्रीय समितिमा कुन दलका तर्फबाट कति जना प्रतिनिधित्व गराउने भन्नेमा मुख्य विवाद छ । माओवादीले ५०/५० प्रतिशतको अनुपात केन्द्रीय कमिटी बनाउनुपर्ने प्रस्ताव गरेको छ । एमालेले विगतको सहमति र चुनावी परिणामअनुसार ३० देखि ४० प्रतिशतको अनुपातमा मिलाउनुपर्ने अडान राखेको छ ।
विधान बनाउन गठित कार्यदलले यो विषय सल्टाउन नसकेपछि एकता संयोजन समितिबाटै टुंग्याउनुपर्ने सिफारिससहितको प्रतिवेदन बुझाएको थियो ।
त्यस्तै केन्द्रमा दुई जना अध्यक्षहरु रहने मोडलमा सहमति भए पनि त्योभन्दा तल्ला कमिटीको नेतृत्व कसरी गर्ने भन्नेमा पनि मिलाउन बाँकी रहेको उनले बताए । अध्यक्ष दाहालले यी विषयलाई सहमतिबाटै मिलाउने उल्लेख गरे । एकताको प्रक्रिया अन्तिम चरणमा पुग्ने बेला भइसक्दा पनि एकता भाड्ने प्रयास हुन सक्ने प्रति सचेत हुनुपर्ने दाहालको भनाइ थियो । ‘एकता भाँड्ने चलखेलहरु हुनसक्छन् यसलाई रोक्न तपाईहरुले पनि पहल गर्नुपर्छ’ दाहालले बैठकमा भने । बैठकमा संसदीय दलको विधानको विषयमा छलफल भएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent