२९ वर्षपछि असन्तुष्ट बन्दै डीआइजी खरेलले दिए राजीनामा

काठमाडौं, २८ चैत : प्रहरी संगठनमा २९ वर्ष सेवा गरेका प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले अन्नतः असन्तुष्ट बन्दै राजीनामा दिएका छन् ।

प्रहरी महानिरीक्षक (आइजीपी) मा दावेदारमध्येका एक खरेल सरकारले डीआइजी सर्वेन्द्र खनाललाई आइजीपी बढुवा गरेपछि असन्तुष्ट बनेका थिए । असन्तुष्टिका बीच उनले बुधबार गृह मन्त्रालयमा राजीनामा बुझाएका हुन् । ‘मैले प्रहरी संगठनबाट अलग्गिने नै निर्णय गरे’, उनले भने, ‘अब मैले बुझाएको राजीनामा प्रक्रियामा जाला ।’

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाललाई बढुवा गरेको थियो । नेपाल प्रहरीमा दुई प्रतिष्पर्धी डीआइजीद्वय रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन् । ट्राफिक प्रहरी महाशाखाका प्रमुख खनाल कार्यसम्पादन मूल्यांकन (कासमू) मा १ नम्बरमा थिए ।
यता प्रहरी महानिरीक्षकमा बढुवा भएका खनालले खरेल र आफू समकालीन र सहयात्री भए पनि अझै पनि सहकार्यमा अघि बढ्न सकिने बताएका छन् । उनले सरकारले प्रक्रिया अन्तर्गत नै बढुवा गरेको बताउँदै राजीनामाको बाटो नरोज्न आग्रह गरेका छन् ।

यस्तो लेखे खरेलले आफ्नो फेसबुक स्टाटस :

नव नियुक्त प्रहरी महानिरीक्षक ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै २९ बर्षको सेवा अवधीबाट अलगिने निर्णय गर्दछु साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदी–बहिनीप्रति आभार व्यक्त गर्न चाहन्छु । जय नेपाल !

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent