कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ओली सरकार आएपछि विदेशी लगानी ७० प्रतिशत बढ्यो

काठमाडौं, २ बैसाख : चालु आर्थिक वर्षमा नेपालमा ७० प्रतिशत भन्दा बढी विदेशी लगानी बढेको छ । चालु आर्थिक वर्षको ८ महिनामा करीब सवा १४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मुलुक भित्रिएको जनाइएको छ ।अघिल्लो वर्ष भएको लगानी सम्मेलनमा करीब साढे १४ खर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । वास्तविक रूपमा भित्रिएको रकमको आधारमा पनि गत आर्थिक वर्षमा लगानीकर्ताको आत्मविश्वासमा सुधार भएको देखिन्छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष आपूर्ति व्यवस्थामा सुधार भएको, बन्द हडतालमा कमी आएको, आर्थिक गतिविधिमा सुधार भएको, इन्धन आपूर्ति बढेको, राजनीतिक वातावरण सुध्रिँदै गएको लगायत कारणले एफडीआई बढेको जानकारहरू बताउँछन् ।
पछिल्ला वर्षहरूमा आर्थिक वृद्धिदर बढ्दै गएको, लगानीसम्बन्धी नीतिहरू बनेको, राजनीतिक दल तथा नेताहरूबाट आर्थिक विकासको प्रतिबद्धता आएको लगायत कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको बताइएको छ ।

एकै वर्ष तीन तहको चुनाव सम्पन्न भएको, स्थिर सरकार गठनका लागि वातावरण बनेको लगायत कारण लामो समयदेखिको राजनीतिक संक्रमण अन्त्य हुने देखिएको छ । यस्तो अवस्थामा मुलुकमा आर्थिक गतिविधिले प्राथमिकता पाउने, लगानी बढ्ने भएकाले ठूलो मात्रामा विदेशी लगानी भित्रिने अर्थ्विद्हरू बताउँछन् । मुलुकमा लगानीको वातावरण सुध्रिँदै गएपछि लगानीकर्ताको आत्मबल बढेकाले विदेशी लगानी उल्लेख्य रूपमा बढेको उनीहरूको भनाइ छ ।
उद्योग विभागको तथ्याङ्कअनुसार गत वर्ष १५ अर्ब १ करोड रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको थियो । यो उद्योग विभागमा जनाइएको प्रतिबद्धता हो । विदेशी लगानी आउँदा सुरुमा उद्योग विभागमा दर्ता गरेर अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।
हालसम्म भित्रिएको एफडीआईमध्ये अधिकांश जलविद्युत, पर्यटन र सिमेन्ट उद्योगमा आएको राष्ट्र बैंकको तथ्यांक छ । यसले ती क्षेत्रमा विदेशी लगानीकर्ताको

आकर्षण बढदै गएको पुष्टि हुन्छ । प्रशस्त सम्भावना हुँदाहुँदै पनि अधिकांश जलस्रोत उपयोग हुन नसकेको, पर्यटन विकासका लागि पर्याप्त अवसर रहेको तथा सिमेन्ट उत्पादनको सम्भावना अत्यधिक देखिएकाले यी क्षेत्र विदेशी लगानीकर्ताको रोजाइमा परेको विज्ञहरू बताउँछन् । एफडीआई बढ्नु धेरै सकारात्मक पक्ष भए पनि मुलुक भित्रिएको रकमलाई क्षेत्रगत वर्गीकरण गरेर हेर्नुपर्ने अर्थविद् केशव आचार्यले बताए । उक्त अवधिमा नयाँ लगानी आएको हो वा पुरानैमा थपिएको हो त्यो हेरेर मात्र विदेशी लगानी प्रवृत्तिबारे विश्लेषण गर्नुपर्ने उनको भनाइ छ ।

‘पूरानामा थपिएको भन्दा नयाँ लगानी आएको भए धेरै राम्रो हुन्छ,’ उनले भने । ‘कम्तीमा एफडीआई यत्तिको बढ्दा पनि शोधनान्नर घाटा धेरै फराकिलो बन्दै गएको छ । यत्ति पनि विदेशी लगानी नआएको भए शोधनान्तरको अवस्था के हँुदो हो ? ।’ मुलुकमा अपेक्षित रूपमा विदेशी लगानी भित्रिन नसके पनि विश्व बजारका लगानीकर्तासमक्ष राम्रो सन्देश गएकाले दीर्घकालमा ठूलो फाइदा पुग्ने उनले बताए । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म नेपाल भित्रिएको विदेशी लगानीमध्ये सबैभन्दा बढी होङ्सी शिवम् सिमेन्टमा आएको छ । उक्त कम्पनीमा ३ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ विदेशी लगानी आएको राष्ट्र बैंक्को तथ्याङ्क छ । यसैगरी मादी पावरमा करीब २ अर्ब र सोलु हाइड्रोमा करीब साढे १ अर्ब रुपैयाँ, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा करीब ६८ करोड विदेशी लगानी आइसकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार