काठमाडौं, १० बैसाख पाथिभरा च्यानल । सरकारले राज्य सेवाग्राहीबाट अतिरिक्त लाभ नलिन र भ्रष्टाचारमुक्त बन्न कर्मचारीहरुलाई पटक–पटक आग्रह गरिरहेको छ ।
तर, सरकारको यो आग्रहलाई वेवास्ता गर्दै ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्ने शैलीमा कर्मचारीहरु भने सम्बन्धित मन्त्रीको आग्रहलाई एक कानले सुनेर अर्को कानले उडाइरहेका छन् । सरकारबाट तलव बुझेपछि नागरिकको काम सरकारले तोकेको ठाउँमा बसेर गर्नुपर्ने कर्तव्य र दायित्व भुलेर अहिले केहि कर्मचारीहरु कमाउ कार्यालयमा आँखा डुलाइरहेका छन् । घुस्याहा कार्यालयका रुपमा चिनिएका कार्यालयमा पुग्न कर्मचारीहरुले अहिले पनि मरिहत्ते मात्र गरिरहेका छैनन्, त्यहाँ पुग्ने माध्यमको खोजीमा दौडधूप समेत गरिरहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मनग्ये ‘अतिरिक्त कमाइ’ हुने र ‘कमिसन’ पनि राम्रै हात पर्ने भएकाले त्यस्तो कार्यालय जान कर्मचारीको तँछाड–मछाडमा अझै कमी आएको छैन । त्यस्ता कर्मचारी नेतादेखि उच्च प्रशासकसम्म सेटिङ मिलाई ‘कमाउने धन्दा’ मा खप्पिस रहेको पाइएको छ ।
‘आकर्षक र घुस्याहा कार्यालय’ मा जान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले पनि कैयाँं कर्मचारी दौडधुप गरिरहेका पाइन्छन् । मन्त्री तथा सचिव, सहसचिवको सचिवालयमा त्यस्ता दर्जनौं कर्मचारी तथा कर्मचारीका मध्यस्थकर्ताको आवत–जावत निकै हुने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार त्यस्ता निकायमा जान र ती निकायमा लामो समय कार्यरत कर्मचारीले अन्यत्र सरुवा रोक्न मन्त्री तथा सचिवमार्फत दबाब दिने गरेका छन् ।
सोर्सफोर्स प्रयोग गर्दै आकर्षक कार्यालयका रूपमा रहेको वैदेशिक रोजगार विभागमा गएका १५ कर्मचारीले दुई वर्षसम्म तलब बिनै काम गरेको केही अघि खुलासा भएको थियो । उनीहरूको दरबन्दी विभागमा नरहेकाले विभागले उनीहरूलाई तलब दिएन । ती कर्मचारीले दुई वर्षसम्म तलब तथा सरकारबाट पाउने भत्तालगायत कुनै सुविधा नलिएको संघीय मामिला मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव रुद्रसिंह तामाङले बताएका छन् । ‘अतिरिक्त कमाइकै लोभले उनीहरूले बिना तलब–भत्ता काम गरेको स्पष्ट रूपमा थाहा पाउन सकिन्छ’, उनी भन्छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो अध्ययनले घुस्याहा र आकर्षक भनेर चिनिएका कार्यालयमा जाने र यसका लागि सेटिङ मिलाउने कर्मचारीको संख्या उल्लेख्य रहेको देखाएको छ । तर, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरू कुनै कार्यालय विशेषलाई ताकेर सरुवा भई जान मरिहत्ते गर्ने प्रवृत्तिलाई पूर्णरूपमा निस्तेज पारिने बताए, ‘कर्मचारीले नै आकर्षक बनाएका कार्यालयमा अप्रेसन जरुरी छ ।’ पण्डितले त्यस्ता कार्यालयमा आफूले नियमित र आकस्मिक छड्के अनुगमन गर्ने जानकारी दिए । मन्त्री पण्डितले आइतबार नै मालपोत कार्यालय डिल्लीबजारको आकस्मिक छड्के निरीक्षण गरेका थिए ।
यी हुन् घुस्याहा कार्यालय
घुस्याहा र आकर्षक कार्यालयका रूपमा वैदेशिक रोजगार, मालपोत, नापी, यातायात, श्रम, राजश्व, सडक, कर कार्यालय तथा सुगम र बढी बजेट भएका स्थानीय तह, कम्पनी रजिस्ट्रार कार्यालय, कृषिका केही कार्यालय, भौैतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालय र केही जिल्ला प्रशासन कार्यालय समेत छन् ।
आइतबार डिल्लीबजारस्थित मालपोत कार्यालयमा भेटिएका बालाजुका हरिराज शर्मा गत शुक्रबार मालपोत कार्यालयमा जग्गा पासको काम लिएर आएका हुन् । उनको काम आइतबार पनि सम्पन्न हुन सकेको छैन । ‘यो कागज पुगेन, त्यो कागज पुगेन भन्दै काममा ढिलासुस्ती गर्छन् तर घुस दिनेको काम भने फटाफट गरेको देखिन्छ’, शर्माले गुनासो गरे ।