कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

हिमाली मनाङमा याशागुम्बा संकलनमा कडाई

पाथिभरा च्यानल – हिमाली जिल्ला मनाङमा सबैभन्दा पहिले यार्चागुम्बु संकलनका लागि खुला गरिएको नम्ग्याखर्कमा यसपालि कडाइ गरिएको छ । नम्ग्याखर्क तत्कालीन ताचैबगरछाप, नार र चामे गाविसको सीमा क्षेत्र हो ।

हिमाली जिल्ला मनाङको लेकमा यार्चागुम्बु खोज्न पुगेका संकलक । फाइल तस्बिर : कान्तिपुर

यो क्षेत्र अहिले चामे, नारपाभूमि र नासों गाउँपालिकाको सीमामा पर्छ । हरेक वर्ष नम्ग्याखर्कमा मनाङमै पहिलोपटक यार्चा संकलनका लागि खुला गरिन्छ । यसका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले अधिकार सम्पन्न नम्ग्याखर्क व्यवस्थापन संयुक्त उपसमिति गठन गरेको छ ।

विगतका वर्षमा यार्चा संकलनमा खुकुलो भएको जनगुनासो बढेसँगै यस वर्ष यार्चा संकलनमा कडाइ गरिएको उपसमितिले जनाएको छ । उपसमितिले एक सूचना जारी गरी यार्चागुम्बु संकलन गर्ने क्षेत्रमा मादक पदार्थ सेवन गर्न, जुवातास खेल्न, वादविवाद तथा झगडा गर्न प्रतिबन्ध लगाएको छ ।

‘विगतका वर्षमा रक्सी खाने, रक्सीसँग यार्चागुम्बु साट्ने, यार्चागुम्बु बाजी राखेर जुवातास खेल्ने प्रवृत्ति देखियो । यसले वादविवाद र झगडा निम्तियो । त्यसैले यसलाई प्रतिबन्ध लगाएका हौं,’ नम्ग्याखर्क व्यवस्थापन उपसमितिका अध्यक्ष हुपजंग गुरुङले भने । काँचो दाउरा संकलन, डढेलो लगाउन तथा वन्यजन्तुको सिकार गर्न पनि रोक लगाइएको छ ।

बिनापुर्जी यार्चागुम्बु संकलन गरेको पाइएमा जफत गरेर जरिवाना गर्ने उपसमितिले जनाएको छ । उपसमितिका अनुसार स्थानीयले बिनापुर्जी यार्चागुम्बु संकलन गरेको पाइएमा ७ हजार रुपैयाँ जरिवाना तोकेको छ । तत्कालीन ताचैबगरछाप, नार र चामे गाविस बाहिरकाले बिनापुर्जी संकलन गरेको पाइएमा २५ हजार जरिवाना गर्ने र यार्चागुम्बु पनि जफत गरिने उपसमितिले जनाएको छ ।

यार्चागुम्बु संकलन कार्यका व्यवस्थापक एवं पुर्जीका लागि सम्पर्क व्यक्ति घ्याम्चो लामाका अनुसार संकलकको नागरिकताको फोटोकपी, एउटा फोटो राखेर पुर्जी दिइएको छ । उनीहरूलाई फोटोसहितको परिचयपत्र, पुर्जी वितरण गरिएको छ । ‘हामी अनुगमनमा जाँदा परिचयपत्र र पुर्जी साथमा हुनुपर्छ । नत्र चोरीनिकासी गर्न लागेको ठहर्छ ।’ उनले कुनै प्रकारका हातहतियार लान पनि बन्देज लगाएको बताए । समितिले यार्चागुम्बुको पुर्जीका लागि टेन्डर आह्वान गरी व्यवस्थापन गर्दै आएको छ ।

तत्कालीन ताचैबगरछाप, नार र चामे गाविसका स्थानीयलाई प्रतिव्यक्ति ३ हजार, माक्पा (घरज्वाइँ) का परिवारलाई प्रतिव्यक्ति ४ हजार ५ सय र बाहिरी जिल्लाकालाई प्रतिव्यक्ति ९ हजार रुपैयाँका दरले संकलन दस्तुर तोकिएको समितिले जनाएको छ । उनीहरूलाई संकलन पुर्जी मात्रै दिइएको र उनीहरूले खरिद पुर्जी लिएर आउनेलाई बिक्री गर्नुपर्ने हुन्छ । उनीहरूबाट संकलन भएको यार्चागुम्बुलाई निकासी पुर्जी पाएका व्यक्तिले तोकिएको राजस्व र दस्तुर तिरेर बाहिर निकासी गर्न पाउनेछन् ।

गोरखालीको हत्याको घटनापछि कडाइ
यार्चागुम्बु संकलनका लागि मनाङको नारको लेक नम्ग्याखर्क क्षेत्रमा गोरखा जिल्लाबाट पुगेका सातजनाको २०६६ जेठमा हत्या भएको थियो । उक्त घटनायता संकलनको समयमा यहाँ सुरक्षा सतर्कता बढाइएको छ । यसपटक स्थानीय प्रशासन, स्थानीय तह, एक्याप, संरक्षण क्षेत्र व्यवस्थापन समितिसहित बसेको संयुक्त बैठकले यार्चागुम्बु संकलनस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरिसकेको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै व्यवस्था कडा पारिएको हो । उनका अनुसार यार्चागुम्बु संकलन अवधिभर सुरक्षा व्यवस्था कडा पारिनेछ । यार्चागुम्बु संकलन तथा निकासीको समयमा वर्षअघि माओवादी पूर्वलडाकु नवीन रोकामगर एके ४९ नामक अत्याधुनिक हतियारसहित पक्राउ परेका थिए । सुरक्षा स्रोतका अनुसार यार्चागुम्बु संकलनका बेला घटना, दुर्घटना हुने भएकाले सुरक्षा सतर्कता बढाइएको छ । सुरुमा खुला गरिएको नम्ग्याखर्कमा यार्चागुम्बु टिप्न जानेलाई प्रहरीलाई नारफू जाने बाटोको पुलमा क्युपार सीमा प्रहरी चौकीबाट खटिएका प्रहरीले खानतसाली गर्दै पठाउने गरिएको छ ।

घटे संकलक
मनाङको नम्ग्याखर्क सबैभन्दा बढी यार्चागुम्बु पाइने ठाउँका रूपमा चिनिएको छ । यसअघिका वर्षमा ७ सयभन्दा बढीले उक्त लेकमा यार्चागुम्बु संकलन गर्दै आएका थिए । सातजना गोरखालीको हत्या भएपछि त्यसपछिका वर्षमा ह्वात्तै घटयो । करिब ५ सयको हाराहारीले संकलन गर्दै आएकामा २०७२ वैशाख १२ गतेको भूकम्पपछि संकलक पुन: ह्वात्तै घटेका हुन् । ‘पहिलेको घटना र त्यसपछि भूकम्पका कारण संकलक घटे,’ उनले भने, ‘संकलक घर बनाउने काममा खटिनुपरेको छ । घर बनाउन व्यस्त भएपछि उनीहरू आएनन्,’ उनले भने । पुर्जी व्यवस्थापक लामाका अनुसार गत वर्ष २ सय ४० जनाले पुर्जी लिएका थिए । यस वर्ष १ सय ३२ जनाले लिएका छन् । ‘वैशाख अन्तिमसम्म पुर्जी खुला गर्छौं । अब आए पनि धेरै आउने छैनन्,’ उनले भने ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार