यात्रुले बिर्सिएको ७ लाख ५५ हजार लिएर फरार ट्याक्सी चालक पक्राउ

काठमाडौं–यात्रुले बिर्सिएको ७ लाख ५५ हजार लिएर फरार टयाक्सी चालक पक्राउ परेका छन् ।

नवलपरासी कावासोती घर भई हाल काठमाडौं हाँडीगाउँ बस्दै आएका बा १ ज ३६६५ नम्बरको भाडाको टयाक्सी चलाउने २९ वर्षीय अशोक थापालाई प्रहरीले ६ लाख नगदसहित पक्राउ गरेको हो ।

गत बैशाख २६ गते बुधबार बारा सिमराका ६७ वर्षीय नारायणप्रसाद पाठकले छोरा रमेश प्रसाद पाठकको काठमाडौं कमलादीमा संचालन गरेको पसलका लागि ल्याएको उक्त रकम लिएर टयाक्सी चढेका थिए ।

तर टयाक्सीबाट झर्दा उनले पैसाको झोला भने टयाक्सीमा मै विर्सिएका थिए । सोही पैसा लिएर फरार भएका टयाक्सी चालकलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीले नियन्त्रणमा लिई सो पैसा मध्ये ६ लाखसमेत बरामद गरेको हो ।

सीसी टिभी फुटेजका माध्यामबाट सो रकम टयाक्सी चालकले नै लिएको पुष्टि भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सो रकम सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सम्बन्धित धनी पाठकलाई फिर्ता दिइएको छ । थापाले १ लाख ५५ हजार भने हिनामिना गरेकाले उनलाई सार्वजनिक अपराध मुद्दा चलाएर आवश्यक कार्वाही प्रक्रिया सुरु गरिएको पनि महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरीले बाँकि रकम थापाले आफूखुसी खर्च गरेको पाइएको पनि जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार