सुन तस्करी प्रकरण : घले कारागार चलान

विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका आरोपी छिरिङ वाङगेल घलेलाई जिल्ला अदालतन मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

 

फरार सूचीमा रहेका उनले आइतबार अदालतसमक्ष आत्मसमर्पण गरेका थिए। कानुन व्यवसायीमार्फत् अदालतको सम्पर्कमा पुगेलगत्तै उनको बयान लिइएको थियो।
बयान सकिएपछि जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले सरकारका तर्फबाट बहस प्रस्तुत गरेका थिए। त्यसपछि घलेका तर्फबाट कानुन व्यवसायीहरु विश्वराज भट्टराई र सरोज अधिकारीले बहस प्रस्तुत गरेका थिए।
सरकारी वकिलले प्राप्त प्रमाण र प्रतिवादीहरुको बयानका आधारमा तस्करीमा संलग्न देखिएको भन्दै थुनामा राखेर पुर्पक्ष गर्न माग गरेका थिए।
प्रतिवादीका वकिलहरुले सुन तस्करीमा घलेको संलग्नता नरहेको भन्दै तारेखमा छाड्न इजलाससमक्ष माग गरेका थिए। दुबैतर्फको बहस सकिएपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासबाट उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको निमित्त रजिष्ट्रार केदार गौतमले बताए।
सुन तस्करीमा प्रत्यक्ष रुपमा संलग्नता देखिएको भन्दै घलेलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्तको ११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको हो। आदेशलगत्तै उनलाई मोरङ जिल्ला कारागार लगिएको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार