निर्मला हत्या प्रकरण : कञ्चनपुर बन्यो रणमैदान, प्रहरीको गोलीले सडकमै ढले तीन आन्दोलनकारी

कञ्चनपुर, ७ भदौ । भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै शुरु भएको आन्दोलनले कञ्चनपुर रणमैदानमा परिणत भएको छ ।

घाइते आन्दोलनकारीको उद्धार गरिंदै
आन्दोलनले उग्ररुप लिएपछि अश्रुग्याँसले आन्दोलन नियन्त्रण गर्दै आएको प्रहरीले बिहीबार भने गोली नै चलाएको छ । महेन्द्रनगरमा भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा आन्दोलनकारी सडकमै ढलेका छन् ।

प्रहरी प्रशासनले नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै सर्वसाधारण आक्रोशित भएर आन्दोलन गरिरहेका छन् । प्रशासनले निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय जाने सडकमा आन्दोलनकारी प्रवेश गर्न खोज्दा गोली चलाइएको प्रत्यक्षदर्शीले कृष्ण पाण्डेले जानकारी दिएका छन् । प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चलमा लगिएको छ । प्रहरीले चलाएको गोली आन्दोलनकारीको खुट्टामा लागेको जनाइएको छ । गोली लागेपछि बगेको रगतले सडक रगताम्मे भएको छ ।

यता प्रहरीले भने गोली नचालाएको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान सेठीले आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयतर्फ जान खोजेपछि अश्रुग्याँस प्रहार गरिएको दावी गरेका छन् । ‘आन्दोलन उग्र बन्दै गएपछि नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको हो । गोली चलाएको छैन,’ डीएसपी सेठीले भने । प्रहरीले निर्मलाको बलात्कारमा संलग्न रहेको अभियोगमा मानसिक सन्तुलन गुमेका दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको भन्दै भएको आन्दोलन उग्र बन्दै गएको छ ।

आन्दोलन शुरू भएको तेस्रो दिन प्रहरीले महेन्द्रनगरमा गोली चलाएको छ । प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि गोली चलाएको हो । अहिले आन्दोलनमा सहभागी हुन गाउँ–गाउँदेखिका महिला र विद्यार्थीहरु आएका छन् । आन्दोलनकारीले निर्मलाको साथी रोश्नी बमको घरमा समेत हिजो तोड्फोड गरेका छन् । बम परिवार घटनाबारे जानकार रहेको तर, घटनाको रहस्य लुकाइरहेको आन्दोलनकारीको आरोप छ ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार