‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्व ‘रेड कर्नर नोटिस’ जारी

काठमाडौं, १३ बैसाख । अभिनेत्री रेखा थापासँग चलचित्र ‘हिम्मतवाली’ मा नायक बनेका सुदर्शन गौतमविरुद्ध प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालय मातहतको प्रहरी अपराध संगठन (इन्टरपोल) शाखाले मानव तस्करीमा संलग्न रहेको भन्दै उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको हो ।

प्रहरी हेड क्वार्टरका केन्द्रीय प्रवक्ता उत्तम सुवेदीका अनुसार उनीविरुद्व रेड नोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १९२ देशका प्रहरीले गौतमको खोजी गरी जुनसुकै बेला पनि पक्राउ गर्न सक्ने छ ।

क्यानाडामा बस्दै आएका गौतमले दुई वर्षअघि नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गरेको भन्दै विवादमा तानिएका थिए । केही वर्षअघि गौतमको समूहले फिल्मको सुटिङका नाममा तीन नेपालीलाई अमेरिका लैजाने भन्दै विभिन्न देश हुँदै हाइटी पुर्‍याएको थियो ।

हाइटीबाट समुद्री बाटोमार्फत उनीहरुलाई अमेरिका पुर्‍याउने क्रममा बहामास भन्ने देशमा पुगेपछि पानीजहाजका सुरक्षा गार्डले शंका लागेर नियन्त्रणमा लिएका थिए । पानीजहाज नियन्त्रणमा परेसँगै गौतम मानव तस्कर कार्यमा संलग्न रहेको भन्दै यो घटना बाहिर आएको थियो । दुवै हात नभएका गौतम केही वर्षअघि सगरमाथा चढेपछि चर्चामा पनि आएका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार