कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सरकार ! काठमाण्डौंमा रहेका मजदुरहरुलाई यसरी घर पठाए कसो होला

सुदीप भण्डारी


आज लकडाउनको २९ औं दिन । सरकारले एक हप्ताको लागि लगडाउन
गर्दा गर्दा सम्म धेरैले कल्पना गरेका थिएनन् यो लकडाउन यति लामो होला भनेर । अझ यो कति समय सम्म बढ्ने हो यो कुरा नेपालमा कोरोनाको संक्रमितको संख्यामा निर्भर गर्ने कुरा हो । त्यसैले केहि मानिसहरु रातारात आफ्नो घर गाउँ फर्किए तर दिनरात नभनी परिश्रम गर्ने मजदुरहरु कतिले लकडाउन अघि साहुसँग बाटो खर्च माग्नै पाएनन् कतिले दुईचार छाक टार्ने पैसाको जोहो गर्नै भ्याएनन । आज तिनै मजदुरहरु कोहि सोलुखुम्बुबाट हिडेरै काठमाडौ हुदै बाँके बर्दिया पुगेका छन्, कोहि काठमाण्डौ बाट डोल्पा सम्म जानको लागि हिडेका छन्, कोहि सुर्खेत, धनगढिको लागि पैदल हिडेका छन् । कोहि सर्लाहि, महोत्तरीको लागि पैदल हिडेका छन् । समग्रमा काठमाण्डौ वा देशका अन्य विभिन्न भुभागबाट मानिसहरु पैदलै आफ्नो घर जानको लागि हिडेका छन् । सायद बस चढेर सरर कार्यक्षेत्रमा जादै गर्दा कोहि कसैले पनि यो दिनको परिकल्पना गरेको थिएन होला । तर तिनै मानिसहरुलाई अहिले पैदल हिडेर सात आठ सय किलोमिटर पार गर्दै गर्दा कोहि बिचैमा अलपत्र परेका त कोहि भोकै प्यासै हिडिरहेका छन् । यसरी दुख कष्ट भोगिरहेका मानिसहरुलाई के गर्ने, कसरी घर पुर्याउने, जान दिने कि नदिने, तिनिहरुका समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा धेरै बहस भएको छ । यद्यपि यसको चुरो सम्म पुग्न सबैतिर कठिनाई भइरहेका बेला लेखकले पनि आफ्नो मनमा लागेको केहि बिचार यस लेख मार्फत बाहिर ल्याउने कोसिस गरेको छ ।

सर्वप्रथमत मानिसहरु घर फर्किनुका पछाडी के के कारण होला भनेर सोच्दै गर्दा मेरो मनमा केहि कुराहरु घुमिरहे । धेरै मानिस अभावको कारण घर फर्किएका होलान । दैनिक छाक टार्ने कठिनाई भएर होला । त्यसको साथमा कतिको मनमा यो दुःखको घडिमा परिवार सँगै बसेर बिताउ भन्ने पनि होला। कतिको मनमा आफ्नै गाउँठाउँमा फर्किन पाए कोरोनाको संक्रमण हुनबाट बाचिन्छ भन्ने लागेर पनि होला।  कतिको घरमा अझै महिना दिन पुग्ने खाद्यान्न भएता पनि लकडाउन अझै धेरै समय लम्बियो भने त्यसपछिका दिनहरु कसरी कटाउने भन्ने होला । यस्तै यस्तै अभाव र मानसिकताका साथ मानिसहरु घर फर्किरहेका छन् । त्यसकारण मानिसहरु राहत र प्याकेजको खोजिमा हिड्नु भन्दा गाउ घरमै फर्किन चाहिरहेका छन् । 

यसै बिषयमा काठमाण्डौ बाट विभिन्न स्थानमा जानको लागि मानिसहरु पैदल हिडेको र दुःख पाएको बिषयमा रिट निवेदन परेपछि सर्बाेच्च अदालतले सरकारको नाममा आदेश जारी गर्दै बिकल्पको अभावमा बाध्यमामा परेका काठमाडौं लगायतका शहरबाट पैदलै घर हिडेका जनताहरुलाई सुरक्षित रुपमा घर सम्म पुर्याई दिनु भनेको छ भने भने नेपालमा कोरोनाको जोखिम बढ्दै गएको र मानिसहरु बिना सावधानी काठमाडौंबाट बिभिन्न स्थानमा गएपछि सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलीले “आवतजावत बन्द भनेपछि एक ठाउँबाट अर्काे ठाउँमा जानेहरुलाई रोक्नुपर्छ । यदि खान नपाएरै जान लागेका हुन भने जहाँ बसेका छन्, त्यहिँ खाद्यान्न पुर्याउने ब्यवस्था गर्नू” भनि निर्देशन दिनुभयो । 

यसै बिचमा काठमाण्डौंबाट बिभिन्न स्थानमा जानको लागि पैदलयात्रा गरिरहेका करिब ३०० जना मानिसहरुलाई चन्द्रगिरि नगरपालिकामा रोकेर राखिएकोमा सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिको निर्देशनमा बसको ब्यवस्था गरि गन्तब्यमा पुर्याइएको साथै माननिय उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनको अगुवाईमा करिब ४०० जनालाई भक्तपुरको जगातीबाट रोल्पा पठाएको समाचार विभिन्न सन्चार माध्यमहरुमा प्रकाशित भएको छ । त्यतिमात्र नभएर अहिले जिल्ला स्तरका नेताहरुले विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरि मानिसहरुलाई घर फर्काउने काम भइरहेको छ । तर यसरी दुःख पाएका मजदुरहरुलाई घर पठाउने बहानामा मानिसहरुलाई बिना सावधानी आवतजावत गराउदाँ यसले कोरोनाको सम्भावित महामारी निम्त्याउन सहयोग पुग्ने कुरालाई नजरअन्दाज गर्न सकिन्न। त्यसैले यो आलेखमा सावधानी पुर्वक कसरी मानिसहरुलाई काठमाडौंबाट अन्य स्थानहरुमा जानको लागि सहज बनाउने भन्ने कुरामा केन्द्रित छ । 

कसरी मानिसहरुलाई सावधानी पुर्वक काठमाण्डौं बाहिर पठाउन सकिन्छ ? 

डब्लुचओको अनुसार कोरोना स्वाइनफ्लु भन्दा १० गुणा बढि खतरनाक छ । यसलाई भ्याक्सिन बिना रोक्न सकिदैन । यसको मतलब नेपाल लगाएत विश्व भरिनै कोरोनाको प्रभाव र असर अझ धेरै समय सम्म पर्न सक्ने देखिन्छ त्यस कारण नेपाल सरकारले यसको प्रभावको मुल्याङ्कन गरि अझ धेरै समय नेपाल लकडाउनमा जान सक्ने सम्भावना देखिएको खण्डमा काठमाण्डौं लगाएतका शहरहरुमा रोकिएर रहेका मानिसहरुलाई सावधानी पुर्वक आ–आफ्नो घर सम्म जाने वातावरण मिलाउनु पर्ने देखिन्छ । त्यसको लागि सरकारले आवश्यक कोरोना परिक्षण किटको ब्यवस्था तथा स्वास्थ्य जनशक्तिको परिचालन गरि घर फर्कन चाहानेहरुको पिसिआर प्रविधि मार्फत स्वस्थ्य परिक्षण गराएर कोरोना संक्रमण नभएको अवस्थामा कोरोना संक्रमण नभएको प्रमाणपत्र प्रदान गरि घर पठाउने ब्यवस्था गर्न सकिन्छ । तर यसरी घर पठाउदा सवारी साधन चालक समेतले स्वास्थ्य परिक्षण गरि कोरोना संक्रमण नभएको प्रमाणपत्र लिनु पर्ने ब्यवस्था गर्न सकिन्छ । त्यतिमात्र नभएर त्यसरी प्रयोग गरिने सवारी साधनमा अनिवार्य रुपमा स्यानिटाईजर प्रयोग गरि संचालन गर्ने र सो सवारी साधन छुट्ने जिल्ला वा स्थानिय निकायबाटै सवारी साधनमा सवार रहेका चालक र यात्रुहरुको कोरोना परिक्षण प्रमाणपत्र हेरि त्यस सवारी साधनमा सवार हुने यात्रुहरुको नाम तथा संख्या समेत उल्लेख गरि सवारी साधनलाई संचालनको लागि अनुमति (पास) दिने ब्यवस्था गर्न सकिन्छ । साथै सवारी संचालन हुने नाकाहरुमा रहेका सुरक्षाकर्मीहरुलाई अनिवार्य रुपमा सवारी साधनमा सवार यात्रु तथा चालकले कोरोना परीक्षण प्रमाणपत्र देखाउने र सुरक्षाकर्मीहरुले पनि कडाईका साथ यो नियमलाई कार्यान्वयन गरेको खण्डमा कोरोना संक्रमणको जोखिम कम गरि मानिसरहरुलाई आ–आफ्नो घर फर्काउन सकिन्छ । अन्यथा अहिले जे जसरी मानिसहरु घर फर्किरहेका छन् त्यसले नेपालको लागि कोरोना संक्रमण जोखिम बढाउन सक्ने ठुलो सम्भावना देखिन्छ ।

लेखक सुदीप भण्डारी पाथीभरा च्यानल का प्रमुख सम्बाददाता तथा समाजशास्त्रका बिद्यार्थी पनि हुनुहुन्छ |


सम्बन्धित शीर्षकहरु

मुख्य समाचार