
विराटनगर / मोरङको सुन्दरहरैंचा नगरपालिका–४ घर भएका अवकाश प्राप्त भारतीय सैनिक ५४ वर्षीय उमेश नेपाललाई प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ । अभिभावकसँग आफ्नै घरमा भाडामा बस्ने १५ वर्षीया बालिकालाई दुई वर्षदेखि बारम्बार बलात्कार गरिरहेको आरोप उनीमाथि छ । प्रहरीले पक्राउ गर्दै बुधबार उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । दुई वर्षदेखि आफूमाथि बलात्कार गरिरहेको कुरा बालिकाले मंगलबार साँझ सुनाएपछि अभिभावकले प्रहरीमा बुधबार किटानी जाहेरी दिएका छन् ।
त्यही जाहेरीका आधारमा नेपाललाई पक्राउ गर्दै कारबाहीअघि बढाउन अनुसन्धान थालिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । बालिकाका परिवार चार वर्षदेखि नेपालको घरमा भाडामा बस्दै आएका छन् । बालिकाका बुवा टिपर चालक हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धाबाट पनि आफ्नै घरमा अभिभावकसँग भाडामा बस्ने बालिकामाथि नेपालले दुई वर्षदेखि बलात्कार गरिरहेको खुलेको छ । प्रहरीका अनुसार बालिकाले आफूमाथि घरकै कोठा, होटल र बाटोमासमेत बलात्कार भएको बताएकी छन् । तर कसैलाई सुनाएमा ज्यान मार्ने धम्की दिएपछि बालिकाले घटनालाई गुपचुप राखेको र अतिनै नभएपछि अभिभावकलाई सुनाएको पाइएको एसपी खड्काले बताए ।
नेपालले प्राय बिहान ३÷४ बजेतिरै उठाएर ‘मर्निङवाक’ गर्नभन्दै लिएर जाने र त्यस क्रममा बाटोमा आफूमाथि बलात्कार गर्ने गरेको बालिकाले बताएको प्रहरीले जनाएको छ । पछिल्लो केही समयदेखि मसँग बिहे गर्नु पर्छ भनेर नेपालले बारम्बार दबाब दिन थालेपछि बालिकाले बलात्कारको घटना अभिभावकलाई सुनाएको पाइएको प्रहरीको भनाइ छ । एसपी खड्काले बलात्कार गर्दै कसैलाई सुनाएमा ज्यान मार्ने र भाडामा बसेका परिवारलाई घरबाट निकालिदिने धम्कीसमेत दिने गरेका कारण बालिकाले घटनाका बारेमा लामो समयसम्म कसैलाई नसुनाएको पाइएको बताए । उनका अनुसार आफ्ना परिवारका सदस्य र बालिकाका अभिभावकसमेत घरमा नभएको मौका छोप्दै नेपालले दुई वर्षदेखि घरकै कोठा, होटल तथा बाटोमासमेत लगेर बलात्कार गर्ने गरेको खुलेको छ । भारतीय सेनामा कार्यरत उनले २०६४ सालमा अवकाश पाएका हुन् । अवकाश पाएपछि भने नेपालले घरमै बसेर जग्गा कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । जग्गा धितो राख्नेहरुलाई ऋण पनि उपलब्ध गराउने काम उनी गर्थे ।
त्यस्तै मोरङको केराबारीबाट पनि १५ वर्षीया बालिकामाथि बलात्कार प्रयोग गरेको अभियोगमा एक जनालाई मंगलबारराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–७ का ४२ वर्षीय शुक्रबहादुर नेम्वाङ रहेका छन् ।
पुर्बेली न्युज बाट



