बलात्कारपछि बालिका हत्याको आरोपमा पक्राउ परेका युवाको घरमा लगाइयो आगो

महोतरी, ९ मंसिर । महोत्तरीको बर्दिबासकी एक ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका युवकको घरमा स्थानीयले आगो लगाई दिएका छन् ।

बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव फेला परेको थियो । बालिका हत्या आरोपमा पक्राउ परेका स्थानीय २५ वर्षीय अरुणकुमार साहको घरमा मंगलबार बिहान स्थानीयले आगो लगाएका हुन् ।

बालिकाको हत्यापछि बोरामा राखेर शव फालिएको घटना सार्वजनिक भएपछि आक्रोशित स्थानीयले आगो लगाएका हुन् । उनीहरुले आरोपित युवकको घरमा ढुंगामुढा गर्नुको साथै किराना पसल भएको घरमा आगो लगाएका हुन् । अहिले पनि स्थानीयले ढुंगामुढा गर्दै बर्दिबासमा प्रदर्शन गरिरहेका छन् । स्थिति नियन्त्रमा लिन प्रहरीले दर्जनौ सेल अश्रु ग्याँस प्रहार गरेको छ ।

आइतबार साँझदेखि हराइरहेकी बालिका गुलाबलाई साहले बलात्कार पश्चात हत्या गरी बोरामा राखेर फालेको स्थानीय र प्रहरीको अनुमान छ । उनी चकलेट किन्न पसल जाँदा हराएकी थिइन् । पक्राउ परेका साहले आफूले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बालिकाको शव फेला परेपछि मंगलबार बिहानैदेखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर बर्दिबासमा स्थानीयल प्रदर्शन गरिरहेका छन् । बालिका हत्याको शोकमा बर्दिबासका केही विद्यालयले मंगलबार पठनपाठन रोकेका छन् । बालिका अध्ययन गर्ने नोबेल एकेडेमी बर्दिबास पनि आज बन्द भएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार