
काठमाडौं, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको प्रदेशस्तरीय भेला सकिएको छ ।
पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजेबाट शुरु भएको भलामा प्रचण्ड–नेपाल समूह निकट प्रदेश–१ का जिल्ला अध्यक्ष तथा सचिवहरू सहभागी थिए ।
भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र वरिष्ठ नेता नेता झलनाथ खनालले आफू निकटका कार्यकर्तालाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरेका थिए ।


यसअघि पनि प्रचण्ड र नेपाल समूहले बागमती प्रदेश र विद्यार्थीहरूको भेला गरेका थिए । साथै स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको पनि भेला हुँदै आएको छ ।
भेलामा अध्यक्ष प्रचण्डले आफूहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध नभई नियन्त्रण गरेर जान खोजेको स्पष्ट पारेका छन् ।
उनले ओली पार्टी निर्णयभन्दा बाहिर गएकाले नियन्त्रण गर्नुपर्ने अवस्था आएको बताएका छन् । उनले पार्टी निर्णयमा मान्न अध्यक्ष ओलीलाई आग्रह समेत गरे । ‘अध्यक्ष ओलीलाई निषेध होइन नियन्त्रण गर्न खोजेका हौँ, उहाँले पार्टीको निर्णय मान्नु भएन, निर्णय मानेर अगाडि बढ्नुहोस् भन्न खोजेका हौं’, प्रचण्डको भनाइ उद्धृत गर्दै भेलामा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने ।
प्रधानमन्त्री ओलीले पार्टीको सहमति विपरित हरेक काम गरेको र पटक–पटक सहमति तोड्ने गरेको निष्कर्ष बताउँदै प्रचण्डले सो अध्यादेश फिर्ता नलिए पार्टीले कडा कदम चाल्ने बताएको केन्द्रीय सदस्य जगनाथ खतिवडाले जानकारी गराएका छन् । ओलीले सहमति अनुसार संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए कडा कदम चाल्न पार्टी वाध्य हुने बताएको समेत खतिवडाले बताएका छन् ।
अध्यक्ष प्रचण्डले आफूहरुले ल्याएको प्रतिवेदनमा प्रवृत्तिगत कुरा मुख्य भएको दावी गरेका छन् । उनले पार्टीभित्र देखिएका समस्या, तिनको निराकरणका बारेमा प्रतिवेदन ल्याएको भन्दै अध्यक्ष ओलीको प्रतिवेदन भने व्यक्तिगत गालीगलौज भएको बताए ।

‘हामीले प्रतिवेदनमा प्रवृत्तिगत कुरा ल्याएका छौँ, पार्टीभित्रको अहिलेको समस्या के हो र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा प्रतिवेदन स्पष्ट छ’, भेलामा प्रचण्डले भने । ‘तर उहाँ (ओली) व्यक्तिगत कुरामा रुमलिनु भयो, गालीगलौजमा उत्रिनु भयो ।’
उनले दुवै प्रतिवेदनहरु स्थायी समिति सदस्यसम्मलाई वितरण गरिसकिएको र बाहिर पनि सार्वजनिक गरिसकिएको हुँदा त्यसबारे अध्ययन गरेर निष्कर्षमा पुग्न भेलामा सहभागीलाई आग्रह गरेका छन् । कार्यक्रममा वरष्ठि नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली गोयबल्स शैलीमा कूप्रचारमा उत्रिएको बताए । उनले सबै समस्याको जड नै प्रधानमन्त्री ओली भएको आरोप लगाए ।
कार्यक्रममा अर्का वरिष्ठ नेता झलनाथ खनालले सैद्धान्तिक विषयमा आफ्ना धारणा राखेका थिए । भेलामा प्रदेश १ का १४ जिल्लाका नेकपा इञ्चार्ज, अध्यक्ष, सचिव र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत सहभागी भएका थिए ।



