प्रतिगमनविरुद्ध बृहत नागरिक खबरदारी : ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’

काठमाडौं, ११ पुस । प्रतिगमनविरुद्ध काठमाडौंमा बृहत नागरिक आन्दोलन शुरु भएको छ ।
नागरिक आन्दोलनका अगुवाहरुले आज (शनिबार) काठमाडौंको माइतीघर मण्डलामा नाटकसहित विरोध प्रदर्शन गरेका छन् ।

‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरूले शंख बजाउँदै संसद् विघटनको विरोध गरेका छन् । गत आइतबार प्रधानमन्त्री केपी ओलीले अचानक प्रतिनिधिसभा विघटन गरेपछि उनको यो कदमको चौतर्फी विरोध शुरु भएको छ ।

नेपालको संविधानमाथि प्रहार भएकाले विरोध प्रदर्शन गर्नुपरेको बृहत् नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरूले बताएका छन् । प्रदर्शनमा लेखक, पूर्व सम्पादक, साहित्यकार, रंगकर्मी, सामाजिक अभियन्तालगायत उपस्थित थिए ।

युग पाठक, मोहना अन्सारी, नारायण वाग्लेलगायतका वक्ताले संविधानमा व्यवस्था नभएको कुन अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभयो भन्ने प्रश्न गरेका छन् । सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको भन्दै सरकारको यो कदम संसद् विघटन मात्रै नभई संविधानमाथिकै आक्रमण भएको उनीहरूको भनाइ छ ।

प्रदर्शनमा सहभागी नागरिक अधिकारकर्मीहरूले संविधानभित्रैबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा ‘जो रक्षक उही भक्षक’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद् विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाईं नि ?’, ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘संविधानमाथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरूले बोकेका थिए ।

बृहत् नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । नागरिक अगुवाहरूले पुस १८ गतेसम्म एक दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको जानकारी दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार