बास्तोला मृत्यु प्रकरणमा दुई प्रतिवादीको बयान सकियो, आदेश आज आउँदै

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु प्रकरणमा जोडिएका दुई प्रतिवादीको अदालतमा बयान सकिएको छ । सामाजिक सञ्जालमा भाइरल बनेपछि पछिल्लो समय यो प्रकरण निक्कै चर्चामा छ । छ जना प्रतिवादीमध्ये पक्राउ परेका दुई जनाको बयान हिजो (बुधबार) जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लाछिमानेको इजलासमा सकिएको हो । आज (बिहीबार) थुनछेक बहस भएर अदालतबाट आदेश आउने छ ।

पोस्टमार्टम र भिसेरा परीक्षण रिपोर्ट प्राप्त भएपछि पक्राउ परेका दुई प्रतिवादीसहित प्रहरीले अनुसन्धानको अन्तिम प्रतिवेदन बुझाएसँगै जिल्ला सरकारी वकिल कार्यालयले छ जनाविरुद्ध अभियोगपत्र तयार पारेर जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । चार प्रतिवादी फरार रहेका कारण खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । मुद्दामा उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दिपेश पौडेल, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीलाई प्रतिवादी बनाइएको छ ।

अदालतका स्रेस्तेदार राजकुमार दाहालले मुद्दा दर्ता भएपछि पक्राउ परेका अभियुक्तहरु मेहरमान र कुमारको बयान लिने काम बुधबार सकिएको जानकारी दिए । वादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीबीच थुनछेक बहस सकिएमा आजै मुद्दामा अदालतबाट आदेश आउने उनको भनाइ छ । दाहालका अनुसार अदालतले प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा पठाउने अर्थात धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिने छ ।

त्यसपछि फरार रहेका प्रतिवादीका सम्बन्धमा पनि अदालतले कानुनी प्रक्रिया अघि बढाउने भएको छ । यसअघि प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने निस्कर्ष निकालेर अनुसन्धानको मिसिलसहित बुझाए पनि आवश्यक प्रमाण नपुगेको भन्दै वकिल कार्यालयले माघ २ गते हाजिर जमानीमा छ जना नै प्रतिवादीलाई छाडिदिएको थियो । आफन्तको जिम्मा लगाएर छाडिएकामध्ये चार जना अहिले फरार रहेको र उनीहरुको खोजी तीव्र पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

घटनाका आरोपीविरुद्ध यसअघिदेखि नै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेर मिसिलसहित बुझाए पनि प्रमाण नपुग्ने भन्दै थप अनुसन्धानका लागि वकिल कार्यालयबाट निर्देशन भएपछि उनीहरु हाजिर जमानीमा छुटेको उनले बताए । मृतकको पोस्टमार्टम र भिसेरा परीक्षणको रिपोर्ट आइसकेपछि अहिले अनुसन्धानको अन्तिम प्रतिवेदन र प्रहरीको रायसहित वकिल कार्यालयमा बुझाइएको खड्काको भनाइ छ ।

नियम अनुसार अनुसन्धानका लागि पक्राउ गरिएको २५ दिनभन्दा बढी हिरासतमा राख्न कानुनले नमिल्ने भएकाले अभियुक्तलाई त्यतिबेला छाड्नुपर्ने अवस्था आएको जानकारी खड्काले दिए । लामो समयदेखि यो घटनामा प्रहरीले कर्तव्य ज्यान मुद्दामै अनुसन्धान गरिरहेको थियो । अहिले आएर पोस्टमार्टम र भिसेरा परीक्षण रिपोर्ट विश्लेषण गरेपछि प्रवीणको हत्या नै भएको निस्कर्षमा प्रहरी पुगेको छ ।

‘ढिलो गरेर प्राप्त रिपोर्टले ‘भ्वाइलेन्ट एपेक्सिया’ भनेको छ । रिपोर्ट अनुसार श्वास फेर्न नसकेर वा निसास्सिएर आर्थत अरु नै कारणले मृत्यु भएको भन्ने बुझिन्छ,’ उनले भने, ‘त्यही भएर हत्या भएको दाबीसहित मुद्दा अघि बढाइएको हो । गम्भीर ढंगले अनुसन्धान अघि बढाइएका कारण घटनाका सवालमा प्रहरीको कुनै कमजोरी छैन ।’

प्रवीणको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो । मिसिलमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेको भन्दै आफन्त र परिवारका सदस्यसहित स्थानीय बासिन्दा आन्दोलित बनेपछि घटना थप पेचिलो बनेर बन्न पुग्यो । प्रहरीका अनुसार आफन्तले गत आइतबारबाट आन्दोलन थालेपछि आरोपीमध्ये चार जना फरार भएका हुन् ।

प्रतिवादीमध्ये गिरीको घरमा डेरा गरेर बसेका साथीको कोठामा बस्नलाई माघ ४ गते पुगेका प्रवीणको मृत्यु भएको खवर भोलिपल्ट परिवारका सदस्यले पाएका थिए । त्यसअघि राईले चलाएको स्थानीय शौरभ होटलमा सबै मिलेर खानपिन गरेको त्यो बेला होटल मालिकसँग प्रवीणको विवाद भएको पाइएको एसपी खड्काले बताए । उनका अनुसार मध्यरातमा प्रवीणको मोबाइलबाट ब्यालेन्ससमेत ट्रान्फर भएको लगायतका केही घटना र परीक्षण रिपोर्टको विश्लेषण गर्दा उनको हत्या नै भएको निस्कर्षमा प्रहरी पुगेको हो । सुतेकै ठाउँमा बेहोस भएको भन्दै उपचारका लागि गोदावरी अस्पताल पु¥याएपछि उनको मृत्यु भएको भनिए पनि श्वासप्रश्वास अवरुद्ध भएको उनको ज्यान गएको रिपोर्ट प्राप्त भएको छ ।

‘प्रहरीले मिसिलमा फोटो परिवर्तन गरेको भनेर आफन्तले आन्दोलन गर्नु भएको छ । तर सक्कली मिसिल वकिल कार्यालयमार्फत अदालतमा पुगिसकेकाले त्यसमा मृतककै फोटो छ,’ एसपी खड्काले भने, ‘प्रहरीसँग रहेको नक्कल प्रतिमा अर्कै फोटो च्यापिएर बसेछ । समिति गठन गरेर छानबिन गर्दा पनि अनुसन्धानमा कुनै लापरबाही देखिएन ।’ उनले पीडित परिवारलाई न्याय दिने हिसाबमै प्रहरी अघि बढेको जानकारी दिए ।

मृतककी बहिनी सदीक्षाले प्रहरीमा रहेको मिसिल हेर्दा फोटो नै परिवर्तन भएको भेटेपछि आन्दोलन गर्नु परेको बताइन् । अपराधीलाई संरक्षण गरेको लगायतका आरोप लगाएर प्रहरीविरुद्ध चर्को आवाज उठाउँदै उनले सामाजिक सञ्जालमार्फत आन्दोलनको लाइभ गरेकी थिइन् । उनी लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीको भूमिकाप्रति आक्रोस पोखेको विषय भाइरल बनेको थियो । मृतकका आफन्तले दोषीलाई उन्मुक्ती दिइएको भनेर न्याय माग्दै मंगलबार विराटनगरमा प्रदर्शन पनि गरेका थिए ।

‘नियोजित तवरबाट योजनाबद्ध रुपमा सामाजिक सञ्जालमा प्रहरीविरुद्ध अनर्गल प्रचार र गालीगलौज गर्ने काम भयो । यसले सिंगो संगठनको बद्नाम मात्रै भएन, घटनाको मिहीन ढंगले अनुसन्धान गर्ने प्रहरीको मनोवल नै खस्किने अवस्था बन्यो,’ विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै एसपी खड्काले भने, ‘कसैको निहित स्वार्थका लागि जनमानसमा प्रहरीविरुद्ध भ्रम छर्ने काम भएको छ । तर कति पनि विचलित नभइकन आवश्यक प्रमाण जुटाएर घटनाको गम्भीर ढंगले अनुसन्धान गरिएको छ ।’ पत्रकार सम्मेलनमार्फत उनले गलत हल्लाका पछि नलाग्न र वास्तविकता बुझ्न तथा प्रहरीलाई विश्वास गर्न आफन्तलाई आग्रह गरेका छन् ।

(फोटो क्याप्सन ः पत्रकार सम्मेलनमार्फत प्रवीण बास्तोला मृत्यु प्रकरण अनुसन्धानमा प्रहरीले हासिल गरेको प्रगतिका बारेमा जानकारी दिँदै मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का । )

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार